सेप्टेम्बर महिनालाई पर्यटकीय सिजन सुरुवातको ढोका मानिन्छ । तर, यही समयमा पर्यटकीय मुलुकको पहिचान बनाएको नेपाल घुम्न आउने विदेशीको संख्या भने घटेको छ । अध्यागमन विभागले अद्यावधिक गरेको सेप्टेम्बर १–१८ सम्मको तथ्यांकअनुसार गत वर्षको तुलनामा नेपाल घुम्न आउने विदेशीको संख्या करिब आठ हजारले घटेको छ । अघिल्लो वर्ष उक्त अवधिमा ३५ हजार एक सय ९६ पर्यटक आएकोमा यो वर्ष २७ हजार दुई सय ८७ आएको अध्यागमन विभागको तथ्यांक छ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि सेप्टेम्बर महिनादेखि पर्यटक आगमन बढ्ने ट्रेण्ड रहे पनि यसपालि खस्किएको बताए । ‘विगतमा सेप्टेम्बरदेखि विदेशी पर्यटक आगमन बढ्ने गरेको थियो, यसटक घट्यो,’ उनले भने । २३ र २४ भदौको जेन–जी आन्दोलनलगत्तै रोकिएको आगमनमा केही सुधार भए पनि सन्तोषजनक नभएको उनले बताए । ‘अहिले पनि विदेशी पर्यटक आउने क्रम ४० प्रतिशतले घटेको छ,’ उनले भने । जेन–जी आन्दोलनका क्रममा २४ होटेल, दुई केबलकार र केही रेस्टुराँमा आक्रमण भएको प्रारम्भिक तथ्यांक छ ।
नेपाल घुम्न आउने विदेशीको संख्या घट्दा सबैभन्दा बढी असर पर्यटकीय राजधानी पोखरालाई परेको छ । विगतका वर्षमा असोज महिनामा पोखरा र आसपासका क्षेत्रमा सञ्चालनमा रहेका होटेलहरूको अकुपेन्सी ८० प्रतिशत हुन्थ्यो । तर, यसपालि जेन–जी प्रदर्शनपछि सिर्जना भएको विषम परिस्थितिका कारण २५ देखि ३० प्रतिशतको हाराहारीमा होटेल अकुपेन्सी सीमित भएको छ ।
पोखरा घुम्न आउने मुख्य सिजनमै आन्तरिक तथा बाह्य पर्यटकले यसअघि गरेको बुकिङ रद्द गरेको छन् । पर्यटकले बुकिङ रद्द गरेपछि होटेलसँगै पदयात्रा, प्याराग्लाइडिङ, रेस्टुरेन्टलगायतका पर्यटकलक्षित सेवा क्षेत्र प्रभावित बनेका छन् । होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दसैँको मुखमा होटेलको अकुपेन्सी ९५ प्रतिशतसम्म पुग्ने विगतको इतिहासमा यसपटक ब्रेक लागेको बताए । ‘हालको समय पर्यटन क्षेत्रका लागि सबैभन्दा राम्रो सिजनको समय हो । विशेष गरी अंग्रेजी महिना अक्टोबर, नोभेम्बर र डिसेम्भर तीन महिना पर्यटन क्षेत्रका लागि उपयुक्त समय मानिन्छ,’ उनले भने, ‘तर, यसपालि मुस्किलले २५ प्रतिशत मात्र होटेल अकुपेन्सी छ ।’
निर्माणाधीन पोखरा–मुग्लिन सडकखण्डको बाटो राम्रो भएकाले काठमाडौंबाट धेरै आन्तरिक पर्यटक यस वर्ष पोखरा आउने अपेक्षा व्यवसायीको थियो । तर, आन्तरिक पर्यटकसमेत नआएको सुवेदीले बताए । ‘अघिल्ला वर्ष हिलाम्य सडक हँुदासमेत काठमाडौंबाट आउने पर्यटकको संख्या धेरै थियो, अहिले बाटो राम्रो हुँदा पनि पर्यटक आएका छैनन्,’ उनले भने ।
वार्षिक २० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष २०२५ जारी छ । पर्यटक आगमनमा आएको कमीका कारण त्यसको प्रभाव भ्रमण वर्षलाई समेत परेको भ्रमण वर्ष सफल पार्न गठित कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले बताए । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले ‘पिक सिजन’मा पर्यटन क्षेत्रमा हुनुपर्ने उत्साह घटेको बताए ।
पोखरा घुम्न इच्छुक ४० प्रतिशत विदेशी पर्यटकले गरे बुकिङ रद्द
जेन–जी प्रदर्शनपछि अन्तर्राष्ट्रिय जगत्मा नकारात्मक सन्देश प्रवाह भएकाले अक्टोबर महिनाका लागि बुकिङ गरेका ४० प्रतिशतभन्दा बढी विदेशी पर्यटकले बुकिङ रद्द गरिसकेको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । ‘अहिले नयाँ बुकिङ गर्ने होइन, पहिलेको बुकिङ रद्द गर्नेको संख्या बढिरहेको छ,’ उनले भने ।
पोखरा र आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारका लागि आठ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको उनले बताए । सबैभन्दा धेरै होटेलमा ६ अर्ब र त्यसपछि टुर एन्ड ट्राभल्समा लगानी रहेको छ । पर्यटकलक्षित कम्तीमा एक हजार दुई सय होटेल पोखरा र आसपासमा खुलेका छन् । एउटा पाँचतारे र ६ वटा चारतारेसहित २५ वटा ठुला होटेल छन् । ती सबै होटेलमा एक रातमा ४० हजार पर्यटक राख्न सक्ने क्षमता छ ।
दीपकराज जोशी,सिइओ, पर्यटन बोर्ड
कोभिडयताको तथ्यांक हेर्ने हो भने बास्तवमा सेप्टेम्बर महिनादेखी पर्यटक बढ्न शुरु भएको अवस्था थियो । तर, यसपाली भने घटेको छ । जेनजी आन्दोलन पश्चात् उत्पन्न परिस्थितिका कारण बिदेशी पर्यटक आगमन शुरुवातमा ४० प्रतिशतसम्म घटेको थियो । अहिले बिस्तारै रिकभरी भई २०–२५ प्रतिशतमा आइपुगेको छ । हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउने प्रयत्न गरिरहेका छौं ।
लक्ष्मण सुवेदी अध्यक्ष होटेल संघ पोखरा
हालको समय पर्यटन क्षेत्रका लागि सबैभन्दा राम्रो सिजनको सुरुवाती समय हो । विशेष गरी अंग्रेजी महिना अक्टोबर, नोभेम्बर र डिसेम्बर तीन महिना पर्यटन क्षेत्रका लागि उपयुक्त समय मानिन्छ । अघिल्ला वर्षमा यसै समयमा आएको पर्यटकको संख्या हेर्ने हो भने ७० देखि ८० प्रतिशत होटेल अकुपेन्सी हुन्थ्यो । यसपालि मुस्किलले २५ प्रतिशत मात्र रहेको छ । निर्माणाधीन पोखरा–मुग्लिन सडकखण्डको बाटो राम्रो भएकाले काठमाडौंबाट धेरै आन्तरिक पर्यटक यस वर्ष पोखरा आउने अपेक्षा थियो ।