दसहरा अर्थात् मधेशको दसैँ

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

मधेशमा हिन्दु धर्मावलम्बीले ठुलो पर्वका रूपमा दसैँलाई पनि लिन्छन् । दसैँमा मधेशका प्रत्येकजसो घरमा नौ दिनसम्म व्रत बस्छन् । पहाडमा भन्दा मधेशमा दसैँको रौनक बेग्लै देखिन्छ । यहाँका महिला नौ दिनसम्म मन्दिरमा पुगेर पूजापाठ गर्छन् । संस्कृतिविद्का अनुसार मधेशमा दसैँ धार्मिक मात्र नभई सांस्कृतिक उत्सव पनि हो । यहाँको दसैँमा भारतीय संस्कृति, स्थानीय परम्परा र हिन्दु धर्मको मिश्रण स्पष्ट देखिन्छ । 

जबकि, पहाडी क्षेत्रमा दसैँ पारिवारिक पुनर्मिलन, टीका जमरा र दसैँ घर केन्द्रित हुन्छ । मधेशमा सार्वजनिक पाण्डाल, रामलीला र रावणदहनजस्ता सामाजिक र सांस्कृतिक गतिविधिले दसैँ भरिपूर्ण हुन्छ । दसैँलाई बडादसैँ, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले चिनिन्छ । बडादसैँ आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने गरिएको छ । 

मधेशमा दसैँको पहिलो दिनदेखि दशमीको दिनसम्म माता नवदुर्गा एवं त्रिशक्तिदेवी माता– महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिवत् पूजाआजा एवं आराधना गरिन्छ । तसर्थ यस पावन दिनको खुसियालीमा ठुलाबडाबाट सानाले नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने र आशीर्वाद लिने चलन छ । मधेशमा दसैँ मनाउने तरिका नेपालका पहाडी भूभागभन्दा केही भिन्न हुन्छ, यद्यपि मूल रूपले हिन्दू धर्मअनुसार दसैँको धार्मिक महत्व एउटै नै हुन्छ ।

मधेशमा लाल टीका मात्र अथवा राम–नाम लेखिएको पट्टी टाँस्ने चलन पनि कतिपय ठाउँमा पाइन्छ । जमरा उमार्ने चलन मधेशका सहरी क्षेत्र वा पहाडबाट प्रभावित परिवारमा मात्र देखिन्छ । ग्रामीण क्षेत्रमा यो चलन कम छ ।

मधेशका विभिन्न जातीय, सांस्कृतिक र भाषिक विविधताले गर्दा यहाँ दसैँ मनाउने तरिकामा पनि विविधता छ । पूजा कार्यक्रम गर्न स्थानीय बासिन्दाबाट आर्थिक संकलन गरिन्छ । चन्दा पनि उठाइन्छ । वडा समितिले पनि केही सहयोग गर्ने गरेका छन् । पूजा कार्यक्रमलाई अझ व्यवस्थित बनाउन स्थानीय युवा स्वयंसेवकका रूपमा खटिन्छन् । सामुदायिक प्रहरी, तथा नगर प्रहरीसँग पनि समन्वय गरिन्छ । साथै, महिला तथा बालबालिका कलशयात्रामा पनि सहभागी हुन्छन् ।

मधेशमा दसैँको समयमा परम्परागत रूपमा विभिन्न मन्दिरमा मेला लाग्ने गर्छ । यो समयमा विशेषगरी दुर्गा, काली, भैरवजस्ता देवी–देवताको पूजा–आराधना गरिन्छ । दसैँको मुख्य दिनमा विशेषगरी अष्टमी, नवमी र दशमीका दिन मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ । दसैँको अवसरमा मन्दिरहरूमा मेला लाग्छ, जहाँ धार्मिक कार्यक्रमसँगै लोकसांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल, झुला, खानापान आदि पनि हुने गर्छ । विशेषगरी महाअष्टमी र महानवमीका दिन बलि चढाउने परम्परा छ । मन्दिरमा राँगा, बोका, परेवा, हाँस आदि जनावरहरूको बलि दिइन्छ । मधेशका स्थानीय मन्दिर, जस्तै– दुर्गा मन्दिर, काली मन्दिर, भैरव मन्दिरमा बलि प्रथा अझै प्रचलनमा रहेको स्थानीय दिलिप उपाध्याय बताउँछन् ।

मेलामा गीत–संगीत, झाँकी, रात्रि जागरण आदिको आयोजना गरिन्छ । तर, पछिल्लो समय जनावरको बलिप्रति आलोचना हुन थालेपछि केही ठाउँमा प्रतीकात्मक बलि, जस्तै– कुम्हारको भाँडो, फलफूल, काँक्रो आदि दिने चलन पनि बढ्दै गएको देखिन्छ ।

मधेशमा दसैँ (विजया दशमी) लाई दशहरा भनेर चिनिन्छ । यहाँ दशमीको दिन रामले रावणमाथि विजय गरेको प्रतीकस्वरूप रावणदहन गर्ने प्रथा छ । यो परम्परा पहाडी क्षेत्रमा प्रायः देखिँदैन । दुर्गा पूजामा बंगाली परम्परा (विशेषतः मैथिल, भोजपुरिया, बंगाली समुदाय) अनुसार कलश स्थापना, दुर्गा पण्डाल, र सांस्कृतिक कार्यक्रम गरिन्छ । दसैँमा प्रयोग हुने भजन, गीत र नाच प्रायः मैथिली, भोजपुरी, अवधी भाषामा हुने गर्छन् । मधेशमा लोकगीत (जस्तै, दशहरा गीत), झुमर, सम्हरिया नाच, कजरी, भक्ति गीत आदि दसैँको अवसरमा गाइन्छ । मधेशको दसैँमा विशेषगरी माछा, मासु, चिउरा र भात खाने चलन छ । केही स्थानमा खिरपुरी, तरकारी, तरुआ पनि बनाइन्छ । मिठाईहरू, जस्तै– लड्डु, बालुसाइका परिकार पनि खाइन्छ । 

मधेशमा लाल टीका मात्र अथवा राम–नाम लेखिएको पट्टी टाँस्ने चलन पनि कतिपय ठाउँमा पाइन्छ । जमरा उमार्ने चलन मधेशका सहरी क्षेत्र वा पहाडबाट प्रभावित परिवारमा मात्र देखिन्छ । ग्रामीण क्षेत्रमा यो चलन कम छ । भारतको सीमावर्ती क्षेत्र (जस्तै– वीरगन्ज, जनकपुर, भैरहवा, विराटनगर) मा दसैँको दिन रावण, मेघनाथ, कुम्भकर्णको पुत्ला जलाउने परम्परा हुन्छ । यो रामलीला कार्यक्रमअन्तर्गत गरिन्छ । मधेशका धेरै सहरमा रामायणको नाटक (रामलीला) प्रदर्शन गरिन्छ, जुन दसैँभरि चल्ने गर्छ । यो परम्परा नेपालका अन्य भागमा खासै देखिँदैन ।

पछिल्लो समय मधेशमा प्रत्येक गाउँमा दुर्गापूजा गरेर कलश राख्ने चलन पनि बढ्दै गएको छ । मधेशमा दसैँमा हुँदै आएका पूजापाठमा जनप्रतिनिधिलाई पनि आर्थिक भार बढ्ने गरेको वीरगन्ज महानगरपालिकाका वडाध्यक्ष रामकिशोर सिंह परागले बताए । उनका अनुसार अहिले मधेशमा प्रत्येक गाउँमा मात्र नभई टोलटोलमा पनि दुर्गापूजा गरेर कलश राख्ने गरेकाले आर्थिक सहयोग माग्ने गरिन्छ । कलशयात्रामा पालिका प्रमुखदेखि वडाध्यक्षसम्म सहभागी हुने गरेका छन् । वडाध्यक्ष सिंहका अनुसार दुईवटा टोल रहेको २० नम्बर वडामा दुवै टोलमा कलश स्थापना, दुर्गा पण्डाल र सांस्कृतिक कार्यक्रम गरिन्छ । दुवै टोलमा भइरहेको पूजापाठमा आर्थिक सहयोग गर्नुपरेकाले अन्य समयमा भन्दा बढी आर्थिक भार हुने गरेको छ । 
 

सुझावित समाचार