धनकुटाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

चाडपर्वको समयमा यात्रुको सहजताका लागि धनकुटाका चार स्थानमा आज यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडबाडको समयमा यात्रुको अत्यधिक चाप हुने गरेकाले दसैँ, तिहार र छठपर्वमा यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने उद्देश्यले धनकुटाको भेडेटार, धनकुटा बसपार्क, हिलेबजार र पाख्रीबास बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको सक्रियतामा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरदकुमार थापा क्षेत्रीले बताए ।

यात्रु सहायता कक्षको एसपी थापा क्षेत्रीले उद्घाटन गरेका छन् । यात्रु सहायता कक्षको उद्घाटन गर्दै एसपी थापा क्षेत्रीले चाडबाडको समयमा यात्रुहरूको चाप बढी हुने भएकाले यात्रुहरूलाई सहज ढंगले गन्तव्य स्थलसम्म पुर्याउनका लागि यात्रु सहायता कक्षको स्थापना गरिएको बताए। 

चाडबाडको समयमा कतिपय यात्रुहरूले सवारीसाधनहरूबाट ठगिएको गुनासो पनि गर्ने गरेकाले त्यसको न्यूनीकरण गर्न पनि यात्रु सहायता कक्ष स्थापनाले सहयोग पुग्नेछ । यसका साथै चाडबाडको समयमा बढी मात्रामा मादक पदार्थको प्रयोग हुने भएकाले त्यसको नियन्त्रण गर्दै यात्रुहरूलाई सहज ढंगले गन्तव्यसम्म पुर्याउनका लागि सहजीकरण गरिने डिएसपी रायले बताए । उनले ट्राफिक नियमको सबैले पालना गर्नसमेत आग्रह गरे ।

यात्रु सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रहनेछन् । चाडपर्वको समयमा सवारी चालकहरूले यात्रुसँग बढी भाडा असुल्ने, जोखिमपूर्ण यात्रा गराउनेजस्ता समस्या हुने गरेकाले त्यसको नियन्त्रण गरी यात्रुहरूलाई सहज ढंगले गन्तव्यमा जानका लागि सहजीकरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख मनोजकुमार खड्काले बताए ।

यात्राको क्रममा कुनै पनि सवारीसाधनबाट ठगिएमा तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरूसँग उनले आग्रह पनि गरे । धनकुटा हुँदै पूर्वी पहाडी जिल्ला तेह्रथुम, भोजपुर, संखुवासभा दैनिक एक हजारभन्दा बढी ठुला–साना सवारीसाधनहरू सञ्चालन हुने गर्दछन् ।

सुझावित समाचार