पहिरोले मुक्तेनका नौ घरपरिवार जोखिममा

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

 केही दिनदेखिको लगातार वर्षाका कारण आएको पहिरोले धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ मुक्तेनका नौ घरपरिवार जोखिममा परेका छन् । भेडेटार–राजारानी–रवि–राँके सडक निर्माण गर्नेक्रममा माथिबाट निरन्तर पहिरो खसिरहने र मुक्तेनमा गएको पहिरोका कारण जमिन बगिरहँदा तत्काल नौ घरलाई अन्य सुरक्षित स्थानमा सार्नुपर्ने भएको हो । त्यसका लागि साँगुरीगढी गाउँपालिकाले उच्च जोखिममा परेका सबै घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु गरेको जनाएको छ । 

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, ६ नम्बरका वडाध्यक्ष यमप्रकाश मगर, इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको कमान्डमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा छिमेकीहरूको घरमा स्थानान्तरण सुरु गरिएको छ ।

पहिरोले साँगुरीगढी गाउँपालिका– ६ मुक्तेनका केवलप्रसाद मगरको ढुंगामाटो र टिनको छानोले बनेको दुईतले घर पूर्ण रूपमा क्षति भएको छ । हाल नजिकै अस्थायी टहरा बनाई चारजनाको परिवारलाई बसोबास गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, मोहन मगरको ढुंगामाटो र टिनको छानोले बनेको दुईतले कच्ची घर, भान्साको विभिन्न भागमा चर्किएको छ । अहिले उनीहरू त्यही घरमा बसिरहेका छन् । उनीहरूलाई अन्यन्त्र सार्ने प्रक्रिया अगाडि बढाएको छ भने विष्णुबहादुर मगरको दुईतले घरको पनि विभिन्न भागमा चर्किएर पहिरोको उच्च जोखिममा परेको छ ।

सोही स्थानका कुमारी मगरको दुईतले कच्ची घर, राजकुमार मगरको दुईतले कच्ची घर, भीमबहादुर मगरको एकतले घर, प्रेमबहादुर मगरको एकतले कच्ची घर, रणबहादुर मगरको दुईतले घर र ज्ञान रानाको घर पनि पहिरोका कारण चर्किएर बसोबास गर्न नमिल्ने अवस्थामा रहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष राईले बताए । 

See More On

सुझावित समाचार