वेस्ट इन्डिजविरुद्धको सिरिज खेल्न उत्साहित नेपाली क्रिकेटर

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले शनिबार टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२० आई युनिटी कप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को पूर्ण सदस्यविरुद्ध टी–२० आई सिरिज खेल्न लागेको हो । अझ दुईपटक टी–२० विश्वकप तथा दुईपटकको एकदिवसीय विश्वकप च्याम्पियन राष्ट्र वेस्ट इन्डिजसँग पहिलोपटक सिरिज खेल्न लागेको हो । यस अर्थमा यो सिरिज नेपालको नजरमा अहिलेसम्मकै ऐतिहासिक हो । 

यद्यपि, नेपालले विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा नगरेको होइन । तर, टेस्ट राष्ट्रविरुद्ध टी–२० सिरिज खेल्न लागेको पहिलोपटक नै हो । युएईको सारजहाँ क्रिकेट मैदानमा नेपाली क्रिकेटरले बिहीबारदेखि तयारी सुरु गरेका छन् । सारजहाँमा साँझ सबै खेलाडीले प्रशिक्षण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाली टोलीसँग मुख्य प्रशिक्षक स्टुवार्ट ल पनि जोडिएका छन् । खेलाडी युएई प्रस्थान गर्दा सहायक प्रशिक्षकको भूमिमा निर्वाह गरेका तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल मात्र थिए । 

स्टुवार्ट अस्ट्रेलियाबाट सिधै युएईमा नेपाली टोलीसँग जोडिएका हुन् । उनको आगमनसँगै खेलाडीमा एक किसिमको उत्साह थपिएको छ । नेपालले यस सिरिजलाई ओमानमा हुने आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन क्षेत्रीय छनोटको अन्तिम तयारीका रूपमा लिएको छ । सिरिजको समाप्तिसँगै नेपाली टोली ओमानमा विश्वकप छनोट खेलमा सहभागी हुनेछ । छनोट खेलअघि आफूलाई आत्मविश्वास बढाउन वेस्ट इन्डिजसँगको खेल महत्वपूर्ण हुने कप्तान रोहितकुमार पौडेल बताउँछन् । ‘हामीले ऐतिहासिक सिरिजका लागि राम्रो तयारी गरेका छौँ,’ पौडेलले बिदाइ कार्यक्रममा भनेका थिए, ‘सबै खेलाडी सिरिज खेल्न उत्साहित छौँ ।’ 

विश्वकपको तयारीमा रहेको नेपालले अस्ट्रेलियामा विभिन्न क्लबसँग खेलेको थियो । अस्ट्रेलियामा बंगलादेश तथा पाकिस्तानको ‘ए’ टोलीसँग पनि नेपालले प्रतिस्पर्धा गर्यो । दुई साताको अस्ट्रेलिया भ्रमणले पनि नेपालको विश्वकप छनोटको तयारी राम्रो भएको कप्तान पौडेलको भनाइ रह्यो । ‘तयारी एकदम राम्रो रह्यो । विश्वकप छनोटअघि अस्ट्रेलियामा पनि राम्रो खेल खेल्यौँ,’ उनले भने, ‘यसले पनि वेस्ट इन्डिजविरुद्धको खेल र विश्वकप छनोटमा राम्रो नतिजा निकाल्नेमा आशावादी छौँ ।’ 

क्यानले गत बुधबार गरेको बिदाइमा कप्तान पौडेलले वेस्ट इन्डिजसँग खेल्न सबैमा आत्मविश्वास भएको उल्लेख गरेका थिए । ‘हामी एकदम आत्मविश्वासी छौँ । विभिन्न प्रतियोगिताका अनुभवसँगै मोटिभेसन प्राप्त गरेका छौँ । यसकारण वेस्ट इन्डिजलाई निराश बनाउँछौँ,’ उनले भने । 

विश्वकप छनोटअघि अन्तिम तयारी
लगातार दोस्रो र समग्रमा तेस्रोपटक टी–२० विश्वकप खेल्ने योजना बनाएको नेपालले यो सिरिजलाई अन्तिम तयारीका रूपमा लिएको छ । नेपालले सन् २०१४ मा पारस खड्काको कप्तानीमा पहिलोपटक बंगलादेशमा टी–२० विश्वकप खेलेको थियो ।

डेब्यु विश्वकपमै नेपालले सनसनी नतिजा निकाली बलिया राष्ट्र हङकङ र अफगानिस्तानमाथि जित निकालेको थियो । गत वर्ष नेपालले अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध सनसनी प्रदर्शन गरेको थियो । दक्षिण अफ्रिकासँग नेपाल १ रनले चुकेको थियो । ‘वेस्ट इन्डिजसँग राम्रो खेल्ने योजना छ । खेलाडीले पनि सिरिजमा आफ्नो लय कायम राख्ने विश्वास छ,’ पौडेलले भने, ‘हामी विश्वकपमा छनोट हुन्छौँ ।’ 

यसअघि नेपालले गत अप्रिलमा हङकङमा भएको चारदेशीय टी–२० सिरिज खेलेको थियो । त्यसपछि नेपालले स्कटल्यान्डमा नेदरल्यान्ड्स सम्मलित टी–२० आई खेलेको थियो । गत भदौमा नेपालले अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज खेल्यो । ‘नेपालले यसपटक विश्वकपको तयारी राम्रो गरेको छ । युरोपदेखि अस्ट्रेलियाली पिचमा खेल्यौँ र अभ्यास गर्यौँ,’ पौडेलले भने । 

तीन खेलाडी परिवर्तन 
क्यानले वेस्ट इन्डिजसँगको सिरिजका लागि तीन खेलाडी परिवर्तन गरेको छ । सन्दीप जोरा, ललितनारायण राजवंशी र मोहमद आदिल अन्सारीले स्थान बनाएका छन् । यसअघि अस्ट्रेलिया भ्रमणमा स्थान बनाएका भीम सार्की, रिजन ढकाल र रूपेश सिंहले टोलीमा स्थान रक्षा गर्न सकेनन् । यसपटक टोली सन्तुलित बनाउन ब्याट्सम्यान, बलर र अलराउन्डर समावेश भएका छन् । 

राम्रो तयारी गरेका छौँ 
 रोहितकुमार पौडेल, कप्तान, नेपाल

ऐतिहासिक सिरिजका लागि राम्रो तयारी गरेका छौँ । सबै खेलाडी सिरिज खेल्न उत्साहित छौँ । वेस्ट इन्डिजलाई हराउने लक्ष्य पनि छ । खेलाडीहरूमा पनि सिरिजमा आफ्नो लय कायम राख्ने विश्वास छ । नेपालले यसपटक विश्वकपको तयारी राम्रो गरेको छ । युरोपदेखि अस्ट्रेलियाली पिचमा खेल्यौँ र अभ्यास गर्यौँ । 

ऐतिहासिक अवसर हो
 ज्ञानेन्द्र मल्ल, सहायक प्रशिक्षक, नेपाल 

हामी ऐतिहासिक सिरिज खेल्दै छौँ । हाम्रा लागि राम्रो अवसर पनि छ । विश्वकप छनोटअगाडि अर्को तयारीको मौका जुरेको छ । एउटा टेस्ट राष्ट्रलाई हराउने मौका पनि छ । युएईमा राम्रो तयारी गरे विश्वकपमा पनि छनोट हुन सक्छौँ भन्ने विश्वास छ । खेलाडीहरू लामो समयदेखि प्रशिक्षणमा छन् । उनीहरूले लगातार अन्तर्राष्ट्रिय एक्स्पोजर पाइरहेका छन् ।

सुझावित समाचार