फ्लडलाइट बालेर पन्छाइयो पहिरो

तीन दिनपछि खुल्यो मुग्लिन–नारायणगढ सडक

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

पहिरोका कारण तीन दिनदेखि अवरुद्ध ३६ किलोमिटर दूरीको मुग्लिन–नारायणगढ सडक बिहीबार मध्यरातिबाट सञ्चालनमा आएको छ । यो सडकले पृथ्वी राजमार्गलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्छ । 

चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित तुइनखोला पुलछेउमा खसेको पहिरो पन्छाएपछि राति १०ः३५ बजे दुईतर्फी रूपमा यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालय भरतपुरका साइट इन्जिनियर अर्जुन घिमिरेले बताए । ‘पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालन भएको छ । तर, पानी परेमा फेरि पहिरो खस्ने जोखिम छ, यो ठाउँ (तुइनखोला) छेउछाउ सवारी नरोक्न अनुरोध छ । बाटोको अवस्था हेरेर मात्र यात्रा गर्नुहोला,’ उनले भने । बुधबार र बिहीबार दिनभर पहिरो पन्छाउँदा पनि नसकिएपछि बिहीबार साँझ ७ बजेदेखि फ्लडलाइट बालेर काम गरिएको थियो ।

गत मंगलबार साँझ पहिरो खस्दा सडकको १६० मिटर (कम्तीमा १५ हजार घनमिटर) ढाकेको थियो, जुन पहिरो पन्छाएर त्रिशूली नदीमा फ्याँकिएको छ । पहिरो पन्छाउन एक्स्काभेटर, लोडर, ब्याक हु लोडर प्रयोग गरिएको थियो । सडक नियमित भएसँगै यो सडकखण्डमा तीन दिनदेखि अड्किएका (विशेषगरी मालवाहक सवारीसाधन) गन्तव्यतिर लागेका छन्।

यसबाहेक बिहीबार रातिबाट सडक नियमित हुने खबरपछि चितवन र काठमाडौंबाट पनि यातायातका साधन छुटेका थिए ।
चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले लेन अनुशासनका लागि सडकमा प्रहरी परिचालन गरिएको बताए । ‘लेन मिचे कारबाही हुन्छ, हामीले ठाउँठाउँमा प्रहरी पनि खटाएका छौँ,’ उनले भने ।

यसअघि ३ असोजको पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक आइतबार एकतर्फी र सोमबार साँझ दुईतर्फी सञ्चालन भएको थियो । तर, मंगलबार साँझ फेरि पहिरो खसेपछि अवरुद्ध बनेको थियो ।

बुधबार राति मात्र मुग्लिन–नारायणगढ सडकको नाम्सी पुलमा पनि पहिरो खसेको थियो । तर, यो पहिरो बिहीबार दिउँसो नै पन्छाइसकिएको छ । उक्त पहिरो पन्छाउने क्रममा ढुंगा खस्दा सिनियर अपरेटर राजु मगर घाइते भएका थिए । यस सडकखण्डको कालीखोला, टोपेखोला, नाम्सीखोला, चिसेन्जीखोला, सिमलताल क्षेत्रमा पनि पहिरोको उच्च जोखिम रहेकाले ती स्थान र कुनै पनि पुलमाथि सवारीसाधन पार्किङ नगरिदिन सडक कार्यालयले अनुरोध गरेको छ ।

सुझावित समाचार