१० लाखमुनिका योजना कटौती गर्ने मुख्यमन्त्रीको प्रस्तावमा एमालेको असहमति

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा खर्च कटौतीका लागि १० लाखभन्दा कम लागतका योजनाहरू बजेटबाट कटौती गर्ने प्रस्ताव गरेका छन्। मुख्यमन्त्री शाहले बिहीबार धनगढीमा सर्वदलीय बैठक आह्वान गरेर योजना कटौतीको प्रस्ताव गरेका हुन्। तर, सत्तासाझेदार नेकपा एमालेले यसमा असहमति जनाएपछि निर्णय हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए।

जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा सकारात्मक सन्देश दिनुपर्ने भन्दै शाहले योजना कटौतीको प्रस्ताव गरेका थिए। स्रोतका अनुसार योजना कटौतीको प्रस्तावमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले असहमति जनाएका थिए। एमालेबाट मन्त्री बनेका पालले योजनाहरू कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको दाबी गर्दै कटौती गर्न नहुने धारणा राखेका थिए।

नेता रावल पनि योजना कटौतीको विपक्षमा उभिएका छन्। उनले खर्च कटौती गरेर सकारात्मक सन्देश दिनुपर्ने, तर योजना कटौती गर्न नहुने धारणा राखेका थिए।

बैठकमा सहभागी एक सांसदका अनुसार भौतिकमन्त्री पालले पाँच लाखभन्दा कमका योजना कटौती गर्न सकिने बताएका थिए। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका उपनेता अक्कलबहादुर रावलले भने उक्त प्रस्तावमा समर्थन जनाएका थिए।

‘२५ लाखभन्दा कमका योजना बजेटमा नराख्ने भनेर सरकार आफैँले घोषणा गरेको थियो, तर योजनाहरू राखिए। हामीले त्यस्ता योजना कटौती गर्नुपर्छ भनेर सहमति जनायौँ,’ रावलले भने, ‘तर, केही साथीहरूमा आफ्ना योजना जोगाउने चिन्ता देखियो।’ उनका अनुसार एमाले दलका नेता रावल र मन्त्री पालले असहमति जनाएका हुन्।

जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका संरचना र सामानको मर्मत तथा पुनर्निर्माणका लागि स्रोत जुटाउन र सकारात्मक सन्देश दिन मुख्यमन्त्रीले योजना कटौतीको प्रस्ताव गरेको उपनेता रावलले बताए। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले योजनाहरू कार्यान्वयनमा गइरहेको अवस्थामा कटौती गर्दा नकारात्मक सन्देश जान सक्छ भन्ने कुरा आएपछि निर्णय नभएको बताए। बैठकमा सभामुख भीमबहादुर भण्डारीसहित प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतकलगायतको सहभागिता थियो।

सुझावित समाचार