बागमतीमा पौने तीन अर्ब राजस्व संकलन, खर्च सवा अर्ब

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको दुई–तीन महिनामा दुई अर्ब ७६ करोड  राजस्व संकलन गरेको छ । प्रदेश सरकारले चालू आवमा ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार आम्दानीको लक्ष्य राखेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालू आवको राजस्व संकलन गत आवको पहिलो दुई महिनाको तुलनामा १० करोड ६९ लाख रुपैयाँले बढी हो । चालू आवमा बागमतीले बाँडफाँडअन्तर्गत दुई अर्ब आठ करोड ३१ लाख १४ हजार ५७० रुपैयाँ, प्रदेश सरकारको आफ्नै स्रोतअन्तर्गत ६४ करोड ९० लाख राजस्व संकलन गरेको छ ।

यस्तै, प्रदेश सरकारले बेरुजु फस्र्योट र अनुदान फिर्ताबापत दुई करोड ९१ लाख आम्दानी गरेको छ । मन्त्रालयका अनुसार सवारीकरबाट एक अर्ब २० करोड ९२ लाख संकलन गरेको छ । यता प्रदेश सरकारले संघीय सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत प्राप्त गर्ने कुनै पनि शीर्षकको रकम अहिलेसम्म प्राप्त गर्न सकेको छैन । प्रदेश सरकारले चालू आवमा चालू र पुँजीगततर्फको समानीकरण, ससर्त, विशेष र समपूरक कुनै पनि शीर्षकमा रकम प्राप्त गरेको छैन ।

एक अर्ब २२ करोड खर्च
बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा एक अर्ब २२ करोड २९ लाख रुपैयाँ बढी खर्च गरेको छ । मन्त्रालयका अनुसार चालू आवमा ६७ अर्ब ४७ करोड ७३ लाख खर्चका लागि छुट्याइएको छ । त्यसमध्ये पहिलो दुई महिनामा एक अर्ब २२ करोड २९ लाख २८ हजार रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजन भएको बजेटको १.८१ 
प्रतिशत मात्रै हो ।

मन्त्रालयका अनुसार चालूतर्फ एक अर्ब सात करोड ६६ लाख र १४ करोड ६२ लाख  पुँजीगततर्फ खर्च गरिएको छ । सो अवधिमा प्रदेश सभाले एक करोड ६५ लाख रुपैयाँ, प्रदेश लोकसेवा आयोगले एक करोड ४८ लाख रुपैयाँ, प्रमुख न्यायाधिवक्ताको कार्यालयले एक करोड ६६ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक करोड ५२ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयले एक करोड १३ लाख, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले दुई करोड ७३ लाख र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सात करोड ५७ लाख खर्च गरेको छ । 

मन्त्रालयका प्रवक्ता श्रीकृष्ण आचार्यका अनुसार आर्थिक वर्षको सुरुको दुई महिनामा खर्चको अवस्था विगतका वर्षहरूको जस्तै रहेको छ । उनले अब दुई महिनाबाट चालूसँगै पुँजीगत खर्चमा पनि वृद्धि हुने दाबी गरे ।

सुझावित समाचार