मंगलबारदेखि ठप्प मुग्लिन–नारायणगढ सडकको पहिरो शुक्रबारसम्म पन्छाइसक्ने लक्ष्य सडक डिभिजन कार्यालय भरतपुरले राखेको छ । चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित तुइनखोला पुलछेउमा मंगलबार साँझ पहाडै बगेर सडक ढाकेपछि आवागमन ठप्प छ ।
एक्स्काभेटर, लोडर, ब्याक हु लोडर प्रयोग गरेर बुधबार दिनभर पहिरो पन्छाइए पनि १६० मिटरमध्ये ७० मिटर मात्र पन्छाउन सकिएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए । ‘पहाड नै बगेर आएको छ, १६० मिटर लम्बाइ, १६ देखि २० मिटर उचाइ रहेको पहिरोमा कम्तीमा १५ हजार घनमिटर माटो, गेग्रान, ढुंगा रहेको अनुमान छ,’ आचार्यले भने, ‘पानीले समस्या गरेन र थप पहिरो खसेन भने शुक्रबारसम्म सडक सञ्चालन गराउन सकिन्छ कि भन्ने आशा छ ।’
बुधबार दिउँसोको वर्षाले पहिरो पन्छाउन केही समय रोकिएको थियो । तर, ठुलो पानी परेमा थप पहिरो बगेर सडकमा थपिने जोखिम छ । पछिल्लोपटक तीन दिन अवरुद्ध र त्यसपछि एक दिन एकतर्फी बनेको सडक पहिरो पन्छाएर दुईतर्फी सञ्चालन गरेको भोलिपल्टै मंगलबार दुईपटक भीषण पहिरो खसेपछि यो सडक अवरुद्ध छ । मंगलबार दिउँसो १ बजे पहिरो खस्दा सडक अवरुद्ध बनेकामा साँझ ४ः५५ मा फेरि भीषण पहिरो खसेको थियो ।
यसपटक भने पहाड नै खसेकाले भिरबाट थप पहिरो खस्ने सम्भावना कम रहेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले बताए । तर, साना तथा मझौला स्तरका ढुंगा झरिरहेका छन् । सानो पहिरो खसेपछि भित्र रहेको खुकुलो माटो, गेग्रान हरेक दिन खसेको उनको भनाइ छ । ‘पहिरो खसेको ठाउँमा पानीको मूल पनि फुटेको छ, छुट्टिएर बसेको गेग्रान, गिटीमा माथिबाट पनि वर्षाको पानी पसेपछि पहाडै बगेको छ,’ उनले भने, ‘अहिले बाटो खोल्ने ध्येय छ । पछि अध्ययन गरेर रोकथामका उपाय अपनाउनुपर्ने देखिन्छ ।’ पहिरो पन्छाएर त्रिशूलीमा हालिँदै छ ।
यसअघि सडक डिभिजनले मुग्लिन–नारायणगढ सडकखण्डमा २५ ठाउँ पहिरोको जोखिममा रहेको औँल्याएर रोकथामका उपाय थालेको थियो । तर, फेरि नयाँ–नयाँ ठाउँमा पहिरो खस्न थालेको लामिछानेको भनाइ छ । यात्रुवाहक र मालवाहक गरेर दैनिक ११ हजार सवारीसाधन गुड्ने ३६ किलोमिटर नारायणगढ–मुग्लिन सडकखण्डको २४ किलोमिटर क्षेत्रमा पहिरोले सधैँ सास्ती हुन्छ । ०७२ को भूकम्पको प्रभाव र खोलाले माटोलाई कमजोर बनाउँदै जाँदा अत्यधिक चापका कारण सडक दबेर पहिरो जाने गरेको आकलन गरिन्छ । नारायणगढ–मुग्लिन सडकखण्डमध्ये ३४ किलोमिटर सात वर्षअघि मात्र तीन अर्ब ४० करोड खर्च गरेर दुई लेनमा स्तरोन्नति गरिएको हो ।
मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं जोड्ने सडकमा सवारीको चाप
पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौं जोड्ने मकवानपुरका वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेको छ । त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–कुलेखानी–फाखेल सडक र सिस्नेरी सडकमा सवारीको चाप अत्यधिक बढेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार यी मार्गमा नियमित सञ्चालन हुनेभन्दा दोब्बर–तेब्बर संख्याले सवारीसाधनको चाप बढेको छ । उनले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा तराईका जिल्लासहित पूर्व र पश्चिमबाट काठमाडौं ओहोरदोहोर गर्ने सार्वजनिक तथा मालवाहक सवारीसाधन अहिले मकवानपुर हुँदै काठमाडौं जोड्ने मार्गमा चल्न थालेको बताए ।
कान्ति लोकपथमा सवारी आवागमनका लागि दुईवटा प्रस्थान विन्दु, समयावधि पनि लम्ब्याइयो
कान्ति लोकपथ हुँदै चल्ने सवारीसाधनका लागि दुईवटा प्रस्थान विन्दु तोकिएको छ । यस्तै, यस मार्ग भएर चल्ने सवारीसाधनका लागि प्रवेश समयावधि पनि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार सूचना जारी गर्दै ७ असोजदेखि २१ असोज मंगलबारसम्म सवारी आवागमनमा नयाँ व्यवस्था लागू गरेको छ । निर्धारित मापदण्डअनुसार अधिकतम ३० टन भारवहन क्षमता र १० चक्कासम्मका सवारीसाधनले मात्रै कान्ति लोकपथ प्रयोग गर्न पाउने भएका छन् । यी सवारीसाधनले तोकिएको प्रवेश वा प्रस्थान विन्दु बेलुका ९ बजेसम्म अनिवार्य पुगिसक्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ ।
मामाघर जाँदै गरेका दिदीबहिनी सिन्धुपाल्चोकको पहिरोमा पुरिएर बेपत्ता
वर्षासँगै खसेको पहिरोले पुरिएर सिन्धुपाल्चोकमा दुई बालिका दिदीबहिनी बेपत्ता भएका छन् । जुगल गाउँपालिका– २, गोल्चेमा रहेको मामाघर हिँडेर जाने क्रममा पहिरोमा परी चौतारा साँगाचोकगढी नगरपालिका– २, भोटेफुल्पिङका १७ वर्षीया फूलमाया लामा र उनकी बहिनी पाँच वर्षीया मनमाया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनीहरू बलेफी गाउँपालिका– १, जलबिरेस्थित बलेफी ढाडे भित्री सडकखण्डमा गएको पहिरोमा बुधबार साँझ पाँच बजे परेका हुन् ।
पहिरोले मुग्लिन–काठमाडौं सडकखण्ड पनि अवरुद्ध
पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं सडकखण्ड पनि बुधबार साँझबाट पूर्ण रूपले अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका– १०, बाँदरमोड (जवाङखोला)मा बुधबार साँझ पहिरो खसेको हो । ‘चितवनको इच्छाकामना गाउँपालिका– ४, घोप्टेभिरमा पहिरो खसेपछि काठमाडौंबाट छुटेका गाडी रोकिदिन भनेर खबर आएको थियो, लगत्तै जवाङखोलामा पनि पहिरो गयो,’ जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले बताए । यद्यपि, घोप्टेभिरको पहिरो बुधबार राति पन्छाइएको छ ।
जवाङखोलामा यसअघि गत सोमबार पनि सुक्खा पहिरो खसेको थियो । एसपी रिजालले पानी परेपछि सुक्खा पहिरो खसेकै ठाउँमा पहिरो खसेको बताए । ‘कमजोर भूबनोट रहेछ, अघिल्लोपटक पहिरो खसिसकेको थियो, पानी परेपछि थप ढिस्को खसेर सडक अवरुद्ध बनेको छ,’ उनले भने, ‘बिहीबार बिहान मात्र पहिरो पन्छाउने काम हुन्छ ।’ पहिरो खसेपछि पोखराबाट काठमाडौंका लागि छुटेका र काठमाडौं उपत्यकाबाट बाहिरका लागि छुटेका सवारीसाधन अलपत्र परेका छन् । बुधबार नै धार्के–सीतापाइला सडकखण्डमा पनि ढुंगा खसेर सडक अवरुद्ध बनेको छ ।