पोखरामा प्रहरीको पेट्रोल पम्प सञ्चालनमा

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीले पोखरामा आफ्नो पेट्रोल पम्प संचालनमा ल्याएको छ। नेपाल प्रहरीको प्रहरी कल्याण कोषको लगानीमा पेट्रोल पम्प निर्माण भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

प्रदेश प्रहरी कार्यालयको हाताभित्र निर्माण गरिएको पम्मबाट डिजेल र पेट्रोलको बिक्रि वितरण शुरु भएको सापकोटाले बताए। भ्याटसहित नौ करोड ९६ लाख ६५ हजार ७२९ रुपैयाँमा पम्प निर्माण सम्पन्न भएको हो। साविकको गण्डकी अञ्चल प्रहरी कार्यालयको भवन भत्काएर पम्प निर्माण गरिएको हो।

घना  बस्तीसँगै विभिन्न सरकारी कार्यालयको बिचमा पम्प निर्माण गर्न लागेको भनी निर्माण सुरु गर्दा देखि नै निर्माणको विषयलाई लिएर विवाद भएको थियो। निर्माणको विवाद अदालतसम्म पुगेको थियो। तर, उच्च अदालत पोखराको फैसलासँगै पेट्रोल पम्प निर्माण भएको हो।

जिल्ला प्रशासन कार्यालय कास्की र कारागारसँग जोडिएको, पम्पदेखि ५० मिटरको दुरीमा नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश कार्यालय, दुई सय मिटरको दुरीमा गण्डकी प्रदेश सरकारका विभिन्न मन्त्रालयहरु र अन्य धेरै कार्यालयहरु सँगै हातहतियार रहने प्रहरी कार्यालयहरु रहेकाले संवेदनशील क्षेत्रमा पम्प निर्माण गर्दा भविष्यमा दुर्घटना भए ठूलो क्षति जोखिम रहेको भन्दै नागरिक अगुवा रामबहादुर पौडेललगायतले रिट दायर गरेका थिए।

सुझावित समाचार