भैरहवामा ‘दसैँ सस्तो बजार’ सुरु, चिनी प्रतिकिलो ८५ रुपैयाँमै

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा बुधबारदेखि भैरहवामा ‘दसैँ सस्तो बजार’ सुरू भएको छ। उपभोक्तामाझ स्वदेशमा उत्पादित वस्तुको पहिचान र प्रवद्र्धन गर्नका लागि ‘दसैँ सस्तो बजार’ सञ्चालन गरिएको संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए।

आम उपभोक्तालाई एकैथलोबाट स्वदेशी उत्पादनहरु सुपथ मूल्यमा उपलब्ध गराउनु यो बजारको मुख्य उद्देश्य रहेको आचार्यले बताए। मुलुकको प्रतिकुल अवस्थामा पनि उपभोक्तालाई सस्तो, शुलभ र गुणस्तरीय वस्तु एकै स्थानबाट उपलब्ध गराउनु संघको दायित्व रहेको उनको भनाइ छ।

मुस्ताङको स्याउ, आलुलगायतका कृषिजन्य सामाग्रीदेखि खानेतेल, चिनी, भाँडावर्तन, आटा, मैदा, चाउचाउ, आलुचिप्स, चिउरा, मरमसला, पेय पदार्थ, घिउ, महलगायतका अर्गानिक वस्तुहरु बजारमा उपलब्ध छन्।

असोज १२ गतेसम्म सञ्चालन हुने सस्तो बजारमा विभिन्न दैनिक उपभोग्य समानका १९ वटा स्टल छ। सस्तो बजारमा उपभोक्तालाई मध्यनजर गर्दै चिनी प्रतिकिलो ८५ रुपैयाँमै बिक्री भइरहेको छ।

दसैँ सस्तो बजारको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरेका हुन्। सो अवसरमा शर्माले स्वदेशमा उत्पादित वस्तुहरु सुपथ र गुणस्तरीय छन् भनेर आम उपभोक्तासमक्ष जानकारी गराउन बजारले महत्वपूर्ण भूमिका खेल्ने बताए।

बजारबाट ५० देखि ६० लाख रुपैयाँको कारोबार हुने संघले अपेक्षा गरेको छ। बजार प्रत्येक दिन बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ।

सुझावित समाचार