महोत्तरी गाउँपालिकाले वन हर्ट वर्ल्डवाइड नामक संस्थाको आर्थिक सहयोग र रतौली युवा क्लबको प्राविधिक सहयोगमा हाते ग्रामीण अल्ट्रासाउन्ड मेसिन (आरओयुएसजी) सहयोग पाएको छ।
मंगलबार गाउँपालिकामा एक कार्यक्रमबिच रतौली युवा क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले गाउँपालिका प्रमुख दिलीप पाण्डेयलाई सो उपकरण हस्तान्तरण गरेका हुन्।
महोत्तरी गाउँपालिकामा ठुला र सुविधासम्पन्न अस्पताल नभएको अवस्थामा यो सानो मेसिनले ग्रामीण भेगका गर्भवती महिलाहरूको गर्भ जाँच गर्न सुविधा हुने अपेक्षा गरिएको छ। यसलाई सहजै एक ठाउँबाट अर्को ठाउँमा लग्न सकिने भएकाले यो अति नै उपयोगी हुने अपेक्षासहित गाउँपालिकालाई हस्तान्तरण गरिएको रतौली युवा क्लबका कार्यकारी निर्देशक चौधरीले बताए।
उक्त मेसिन हाल महोत्तरी गाउँपालिकाकै मडई स्वास्थ्य चौकीमा राखिने र हरेक महिना पालिकाअन्तर्गतको सबै स्वास्थ्य चौकीमा लगेर गर्भवती महिलाको स्वास्थ्य जाँच गरिने पालिका अध्यक्ष पाण्डेयले बताए। उनले निःशुल्क रूपमा गरिने अल्ट्रासाउन्ड मेसिनले यस भेगमा उच्चतम सेवा दिने बताए।