दब्ल्याङको पहिरोमा सडक खुल्यो

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

गत असारदेखि नै बन्द रहेको बागलुङ–कुश्मिसेरा (एडिबी) सडकअन्तर्गतको दब्ल्याङको पहिरोले अवरुद्ध सडक बुधबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ।  बागलुङ नगरपालिका– १०, भकुन्डेमा पर्ने उक्त पहिरो मंगलबारदेखि हटाउन सुरु गरिएपछि बुधबार दिउँसो मात्र सञ्चालनमा आएको हो। 

तीन महिनादेखि अवरुद्ध सडक दसैँ नजिकिएसँगै पहिरो हटाएर सडक निर्माणको काम थालनी गरिएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा विशेष गरी बागलुङ नगरपालिका– १०, गलुवा क्षेत्र, वडा नं. १३ पैयुँपाटाको माथिल्लो भेग र वडा नं. १२ अमलाचौरका जनताले सास्ती खेप्नुपरेको थियो। २० मिनेटमा पुगिने सदरमुकाम पहिरोकै कारण एक घण्टाको बाटो भएर आउनुपर्ने बाध्यता थियो। सडक सञ्चालन भएसँगै त्यो बाध्यता हटेको छ।

पूर्वाधार विकास कार्यालय बागलुङले अघिल्लो साता नै पहिरोको अवस्था बुझेर यसलाई तत्काल सञ्चालन गर्न गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत इस्टिमेटसहित स्वीकृतिका लागि पठाएको थियो। मन्त्रालयबाट स्वीकृत हुन बाँकी भए तापनि दसैँ नजिकिँदै गएको र वर्तमान आवश्यकतालाई मध्यनजर गरी सडक सञ्चालनको काम अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर अनिल बर्देवाले जानकारी दिए।

‘पहिरोमा पुनः नयाँ ट्रयाक नै खोल्नुपर्ने हुन्छ। कार्यालयमा पहिरो क्षेत्रका लागि नै भनेर कुनै रकम आएको छैन, आएको मर्मतको रकमले पनि पुग्दैन,’ इन्जिनियर बर्देवाले भने, ‘थप रकमका लागि मन्त्रालयबाट नै स्वीकृत गरेर काम अगाडि बढाउन खोजिएको हो। चाडपर्व नजिकिँदै गएको हुँदा तत्कालको आवश्यकतालाई हेरेर सडक सञ्चालनका लागि  पहिरो क्षेत्रमा काम भइरहेको छ। पहिले सडक बनाऔँ प्रदेशबाट स्वीकृति पनि आउला, अनि भुक्तानीको काम गर्ने योजना बनाएका छौँ।’ उनले पहिरो हटाउनका निम्ति बागलुङ नगरपालिकाको पनि प्राविधिक सहयोग भएको बताए।

पहिरो मर्मतका लागि आवश्यक पर्ने रकम भौतिक पूर्वाधार मन्त्रालयबाट स्वीकृतिको प्रक्रियामा रहेको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताए। सुवेदीका अनुसार पहिरोको अवस्थाबारे मन्त्री र सचिवसँग कुराकानी भएको र दसैँ–तिहार नजिकिएका कारण तत्काल यस क्षेत्रमा काम गरेपछि भुक्तानीको प्रक्रिया अगाडि बढाउने छलफल भएको हो। 

सडक सञ्चालनका लागि बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्कासहितको प्राविधिकको टोली पहिरो गएको स्थानमा निरन्तर खटेकाे छ। ‘हामी नियमित फिल्डमा नै छौँ, हाम्रो निरन्तर सहयोग छ,’ उपप्रमुख खड्काले भने, ‘पहिरोभन्दा अगाडिका क्षेत्रमा पनि जहाँ सडक अवरुद्ध भएको छ त्यहाँ पहिरो हटाएर खाल्टाखुल्टी पुर्ने काम भएको छ।’ उनले पहिरो क्षेत्रको पानीलाई व्यवस्थापनका निम्ति नगरपालिकाले ह्युमपाइपको व्यवस्थापन गरेको बताए। 

दब्ल्याङ पहिरोमा हरेक वर्ष लाखौँ रकम खर्च हुँदै आएको छ। यहाँ माथिबाट निरन्तर बग्ने पानीका कारण प्रत्येक वर्ष पहिरो बग्ने गरेको छ। पहिरोका कारण एडिबी सडक मात्र होइन, कालीगण्डकी करिडोर पनि बारम्बार अवरुद्ध हुँदै आएको छ।

विगत दुई–तीन वर्षदेखि यो पहिरोमा एक करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको उपप्रमुख खड्काले बताए। अघिल्लो साल मात्र पूर्वाधार विकास कार्यालय र नगरपालिकाले झन्डै ५० लाख रुपैयाँ खर्च गरेर पहिरोमाथिको पानीलाई नजिकैको न्वारे खोलामा फाल्ने व्यवस्था र सडकको माथिल्लो भागमा जाली लगाउने काम गरेको थियो। तर, सोही वर्ष नै सबै बगाएको छ। 

पहिरो व्यवस्थापनका निम्ति भूगर्वविद्ले अध्ययन गरेर प्रतिवेदनसमेत आएको थियो। प्रतिवेदनअनुसारको रकम नहुँदा यसको नियन्त्रण र सडकको दीर्घकालीन व्यवस्थापनका निम्ति कठिनाइ भएको छ। चालू आर्थिक वर्षमा पहिरो व्यवस्थापनकै लागि संघीय सरकारबाट तीन करोड रुपैयाँ विनियोजन भएको छ। त्यो रकमले के गर्ने भन्ने अझै कुनै निर्णय भएको छैन। पहिरोका कारण सडक अवरुद्ध हुँदा यहाँबाट पैदल यात्रा ओहोर–दोहोर गर्नसमेत कठिनाइ भएको थियो।

सुझावित समाचार