दशैं र तिहारको बीचको समय अर्थात् असोज–कात्तिक महिनालाई धेरैले घुमघामको उपयुक्त समय मान्छन् । यो समय मौसम सफा, प्रकृति हराभरा र पर्वको फुर्सद भएकाले घुम्न चाहनेहरूका लागि उत्तम मानिन्छ । यसै अवसरमा धेरै पर्यटकको रोजाइमा पर्न थालेको गन्तव्य हो, पूर्वको सुन्दर जिल्ला ताप्लेजुङ । यहाँको प्राकृतिक सौन्दर्य, हिमाल, झरना, पोखरी, पदयात्रा मार्ग र धार्मिक स्थलहरूले यो क्षेत्रलाई विशेष बनाएका छन् ।
ताप्लेजुङको प्रमुख आकर्षणका रुपमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८५८६ मिटर), जुन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त गन्तव्य हो । चैत, वैशाख, जेठ, असोज, कात्तिक र मंसिर महिनामा यहाँ स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहने गर्छ । कञ्चनजङ्घा पुग्न फुङ्लिङबाट विभिन्न पदमार्ग प्रयोग गर्न सकिन्छ, जसमा तापेथोक, याम्फुदिन, खेवाङ, हप्पुखोला हुदै जान सकिन्छ ।
कञ्चनजङ्घा क्षेत्रको यात्रा गर्दै जाँदा यात्रुहरूले हरियाली वन, झरना, हिमाली जीवजन्तु, फूलफूल, स्थानीय संस्कृति, जातीय पहिचान र बासस्थानको अनौठो अनुभव लिन सक्छन् । पदमार्गमा होमस्टे र होटलहरू पनि सञ्चालनमा छन्, जसले यात्रालाई सहज बनाएको छ ।
धार्मिक दृष्टिकोणले पनि ताप्लेजुङ उत्तिकै महत्वपूर्ण छ । यहाँको पाथीभरा मन्दिरलाई नेपालकै एक प्रमुख शक्तिपीठ मानिन्छ । समुद्री सतहदेखि ३७९४ मिटर उचाइमा अवस्थित यो मन्दिरमा बडादशकैंको बेला, फागुन, चैत र वैशाख महिनामा तीर्थयात्रीहरूको उल्लेख्य भीड लाग्ने गर्छ । पाथीभरा पुग्न फुङ्लिङबाट सुकेटार, काफ्लेपाटी हुँदै पैदल यात्रा गर्नुपर्छ । माथिल्लो फेदीमाबासबस्नको लागि होटेल र पसलहरू सञ्चालनमा छन् ।
झरनाको सौन्दर्य हेर्न चाहनेका लागि फुङ्फुङे झरना अर्को आकर्षण हो । मिक्वाखोला गाउँपालिकामा पर्ने यो झरना ३८० मिटर अग्लो छ र वर्षातको समयमा विशेष गरी आकर्षक देखिन्छ । झरनासम्म सवारी पुग्ने सुविधा छ र अवलोकनका लागि विशेष संरचनाहरू पनि निर्माण गरिएका छन् ।
जिल्लाको अर्को पर्यटकीय स्थल तिम्बुङ पोखरी अर्को प्रसिद्ध गन्तव्य हो । ४३८० मिटर उचाइमा रहेको यो पोखरी कालिखोला (हाल सिदिङ्वा) गाउँपालिकामा पर्छ । नागपञ्चमी, जनैपूर्णिमा जस्ता पर्वमा यहाँ दर्शनार्थीहरू पुग्ने गर्छन् । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जिलिङसम्म देख्न सकिन्छ । यो क्षेत्रमा हिमाली फूलहरू, रेडपाण्डा, बहुमूल्य जडीबुटी लगायतका सम्पदाहरू पाइन्छन् । पोखरीसम्म पुग्न दुई दिनको यात्रा गर्नुपर्छ, ताप्लेजुङ वा पाँचथर दुवै क्षेत्रबाट पुग्न सकिन्छ ।
ताप्लेजुङको ऐतिहासिक पक्ष उजागर गर्ने अर्को स्थल हो, ओलाङ्चुङगोलामा रहेको दिकीछ्योलिङ गुम्बा झण्डै ४ सय वर्ष पुरानो यो बौद्ध गुम्बा तिब्बतको सिमानामा पर्छ । यहाँ पुराना मूर्तिहरू, धार्मिक ग्रन्थ र अखण्ड दीप रहेका छन् । ३२०० मिटर उचाइमा रहेको यो गाउँमा भोटे समुदायको बसोबास छ, जहाँ उनीहरूको भाषा, संस्कृति र जीवनशैलीको अनुभव लिन सकिन्छ।
यस्तै पापुङको तोक्पेगोलास्थित सोदु पोखरी, भूत पोखरी, सिद्धी डाँडा, हाँडी पोखरी, दूध पोखरी, लक्ष्मी पोखरी जस्ता दर्जनौं पोखरीहरू पनि पर्यटक आकर्षणका केन्द्र बन्दै गएका छन् । सिद्धी डाँडामा शिवालय मन्दिर र पोखरी रहेको छ, जहाँ अहिले संरचना निर्माण भएसँगै पर्यटकको संख्यामा वृद्धि भएको छ ।
यसरी ताप्लेजुङले प्रकृति, संस्कृति, साहसिक यात्रा र धार्मिक आस्थालाई एउटै ठाउँमा समेटेको छ । सहज सडक पहुँच, पदमार्गमा बढ्दो पूर्वाधार र स्थानीय आतिथ्यले गर्दा यो जिल्ला पर्यटकको आकर्षण बन्दै गएको छ । चाडपर्वको फुर्सदिलो समयलाई सदुपयोग गर्दै ताप्लेजुङको प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेका लागि यो उपयुक्त गन्तव्य बनेको छ ।