अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र र चीनका राजदूत छङ सोङसँग मंगलबार छुट्टा–छुट्टै शिष्टाचार भेट गरेका छन् ।
अर्थमन्त्री खनालले भारतीय राजदूतसँगको भेटमा देशको पछिल्लो विषम अवस्थामा छिमेकी मुलुकलगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औँल्याए । भटेमा राजदूत श्रीवास्तवले भारत नेपालको सबभन्दा नजिकको छिमेकी भएका नाताले पनि यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको उल्लेख गरे ।
त्यसैगरी, चीनका राजदूत सङसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र चीन बैंकिङ क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्नसमेत चिनियाँ राजदूतलाई अनुरोध गरे । राजदूत सङले चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताए । उनले चीनको सहयोगमा निर्माणाधीन परियोजना सन्तोषजनक रहेकोमा खुसी व्यक्त गरे ।