बालेनलक्षित ओलीको टिप्पणी - जसले पहिले सिंहदरबार जलाउँछु भन्थ्यो उसकै योजनामा जलाइयो

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

अरूले उचालेको भरमा गएर कसले जलायो थाहा छैन । सिंहदरबार जलाइयो । कसले जलायो ? देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन । अरू नै कुनै घुसपैठिया तत्वले गरे, जो पहिलेदेखि नै भन्दै थिए त सिंहदरबार जलाउँछु भनेर । यो एउटा योजनाबद्ध काम हो ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले योजनाबद्ध रूपमा सिंहदरबार जलाइएको टिप्पणी गरेका छन् । सेनाको सुरक्षा घेराबाट फर्केर भक्तपुरको गुन्डुमा बस्दै आएका ओलीले पहिलोपल्ट मंगलबार सार्वजनिक रूपमा टिप्पणी गर्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनको योजनामा सिंहदरबार जलाइएको आरोप लगाए । 

बालेनले १८ भदौ ०८० मा फोहोर व्यवस्थापनको विषयमा संघीय सरकारको सहयोग नपाउँदा सिंहदरबार जलाइदिने धम्की दिँदै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । त्यसैलाई आधार मान्दै ओलीले मंगलबार भक्तपुरको गुन्डुस्थित निवासमा आयोजित युवा–विद्यार्थी भेटघाटका क्रममा बालेनलक्षित टिप्पणी गरेका हुन् । ‘आजको लागि केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ बालेनले त्यतिवेला सामाजिक सञ्जालमा भनेका थिए । 

‘अरूले उचालेको भरमा गएर कसले जलायो थाहा छैन । सिंहदरबार जलाइयो । कसले जलायो ? देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन,’ ओलीले भने, ‘अरू नै कुनै घुसपैठिया तŒवले गरे, जो पहिलेदेखि नै भन्दै थिए त सिंहदरबार जलाउँछु भनेर । यो एउटा योजनाबद्ध काम हो ।’

ओलीले नयाँ पुस्ता देश र समाजप्रति जिम्मेवार हुनुपर्ने भए पनि सामाजिक सञ्जालको प्रभावमा हल्का–फुल्का ढंगले चल्ने प्रवृत्ति बढेको पनि दाबी गरे । ‘सामाजिक सञ्जालको प्रभावमा पर्ने, डिजिटल प्लाटफर्म मा सहभागी हुने र त्यसको सदुपयोग गरिरहेको छु कि छैन भनेर राम्ररी विचार नगरी हल्काफुल्का ढंगले चल्ने प्रवृत्ति बढेका छन्,’ उनले भने, ‘यस प्रवृत्तिलाई हामीले अन्त्य गर्नुपर्छ ।’

उनले अहिले संकटको स्थिति आए पनि यस्ता अप्ठ्यारा दिन धेरै नटिक्ने र कर्मठ बनेर गन्तव्यमा अगाडि बढ्न युवा–विद्यार्थीहरूलाई आग्रह गरे । ‘बादल लाग्यो भन्दैमा हट्दैन भन्ने छैन । साँझ प¥यो भन्दैमा भोलि बिहान उज्यालो हुन्छ भन्ने विश्वास गर्नुपर्छ । उज्यालो हुँदैन भन्ने हुँदैन, उज्यालो हुन्छ,’ ओलीले भने । 

उनले देश र जनतालाई माया गर्ने इमानदार र कर्तव्यनिष्ठ युवापंक्ति तयार गर्नुपर्नेमा पनि जोड दिए । ‘युवाहरूलाई देशभक्त युवा बनाउनुपर्छ । देश, जनतालाई माया गर्ने युवापंक्ति तयार गर्नुपर्छ । नयाँ जेनेरेसन देशप्रति अत्यन्त जिम्मेवार, समाजप्रति जिम्मेवार जेनेरेसन हुनुपर्छ । हामी आफू अत्यन्त जिम्मेवार कर्मठ नागरिकका रूपमा अघि बढ्नुपर्छ । हाम्रा बानी, व्यबहार अत्यन्त मिठो, समाज उपयोगी हुनुपर्छ । हामी सभ्य सुसंस्कृत हुनुपर्छ । देशका कर्णधार युवा, देश बनाउने कर्मठ युवा । हावामा कुद्ने होइन, आफ्नो देश, समाज, परिवारप्रतिको कर्तव्य, आफन्त, साथीभाइप्रतिको कर्तव्य, विद्यार्थीले आफ्नो पढाइमा कति ध्यान दिनुपर्छ । जहाँ पनि हामीले क्लिन, इमानदार हुन, छलकपट होइन, पारदर्शी हुन सिक्नुपर्छ,’ ओलीले भने । 

नेपाल अहिले विश्वमै बदनाम भएको भन्दै ओलीले फेरि देशलाई पहिलेकै अबस्थामा फर्काउन लाग्नुपर्नेमा जोड दिए । ‘अहिले नेपाली युवाहरूलाई भिसा नदिने, काम नदिने अवस्था भइसक्यो, नेपाल एउटा बदनाम अवस्थामा पुगिसक्यो, त्यसबाट हामीले जगाउनुपर्छ । नेपाल इमानदार र कर्मठ मानिसहरूको देश हो । एउटा सभ्याताको इतिहास भएको देश हो हामी अघि बढ्नुपर्छ,’ ओलीले भने । 

सुझावित समाचार