चाडबाडकेन्द्रित उपभोग बढ्दा आयातमा वृद्धि

आयातलाई बढ्दो रेमिट्यान्सले भरथेग गर्दै आइरहेको छ, तर श्रम गन्तव्य मुलुकहरूले नेपाली कामदारलाई भिसामा अवरोध गर्दा रेमिट्यान्स गुम्ने चिन्ता

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

आसन्न चाडबाड दसैँ–तिहार र छठलाई केन्द्रित गरेर बजारमा वस्तुको माग बढ्न थालेको छ । नेपाली बजारमा दसैँ–तिहार र छठमा बढी वस्तु उपभोग हुने भएकाले साउन र भदौमा व्यवसायीहरूले बढी आयात पनि बढाएका छन् । भन्सार विभागका अनुसार आर्थिक वर्ष ०८२/८३ को पहिलो दुई महिनामा (साउनदेखि भदौसम्म) तीन खर्ब पाँच अर्ब १५ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्ष ०८१/८२ को पहिलो दुई महिनामा दुई खर्ब ६२ अर्ब ५४ करोडको आयात भएको थियो । यो अघिल्लो वर्षभन्दा १६.२३ प्रतिशतले आयात बढेको हो । 

भदौमा मात्रै एक खर्ब ६२ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ । गत वर्ष भदौमा एक खर्ब ३४ अर्बको मात्रै सामान भित्रिएको थियो । भदौ महिनाकै आयातमै वृद्धि हुनुले चाडबाडकेन्द्रित व्यापारमा वृद्धि भएको स्पष्ट हुन्छ । तर, आयात–निर्यातको असन्तुलनले गर्दा व्यापारघाटा भने बढ्न थालेको छ । गत आवको दुई महिनामा दुई खर्ब ३७ अर्ब व्यापारघाटा भएकोमा चालू आवको सोही अवधिमा ८.५९ प्रतिशतले बढेर व्यापार घाटा दुई खर्ब ५७ अर्ब कायम भएको छ । 

रेमिट्यान्सको स्रोत गुम्ने चिन्ता
अहिलेको आयातमा भएको वृद्धिले आर्थिक गतिविधि चलायमान हुन थालेको संकेत गरेको छ । यद्यपि, व्यापार घाटा बढ्दै गएमा दीर्घकालीन रूपमा परनिर्भरता कायम हुन नदिन चनाखो भने हुनुपर्ने अर्थशास्त्री प्राडा पुष्कर बज्राचार्यको विश्लेषण छ ।

नेपालमा आयातलाई भरथेग गर्ने विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो । प्रमुख श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई)बाट नेपाली कामदारलाई दिने भिसामा अवरोध भएपछि रेमिट्यान्सको स्रोत गुम्दै जाने चिन्ता बढाएको छ । बज्राचार्यले भने, ‘पछिल्लो समय नेपाली कामदारलाई श्रम गन्तव्य मुलुकहरू जस्तै, युएईले भिसा नदिएको विषय आइरहेको छ । अहिलेको विदेशी मुद्रा सञ्चितिको प्रमुख स्रोत भनेको रेमिट्यान्स नै हो ।

भविष्यमा अरू देशले पनि भिसा नदिने अवस्था आयो भने रेमिट्यान्सको स्रोत नै बन्द हुन्छ । त्यसैले आयात बढेर खुसी भइहाल्नुभन्दा रेमिट्यान्सको स्रोतलाई गुम्न नदिनेतर्फ पहल गर्नुपर्ने हुन्छ ।’ अहिले पर्याप्त विदेशी मुद्रा सञ्चिति कायम रहेको अवस्थामा नेपालले पुँजी निर्माण हुने, कच्चा पदार्थ आयातमा बढी केन्द्रित हुने र भविष्यमा परनिर्भरता घटाउँदै लैजानेमा ध्यान दिनुपर्ने उनको तर्क छ । 

कच्चा खानेतेलबाहेककोआयातमा ९.८८ प्रतिशतको वृद्धि
समग्र आयातमा भइरहेको वृद्धिमा कच्चा खानेतेलले मद्दत पुगेको देखिन्छ । तर, कच्चा खानेतेलबाहेकको आँकडा हेर्ने हो भने आयातमा ९.८८ प्रतिशतको वृद्धि भएको छ । कच्चा खानेतेलबाहेक चालू आर्थिक वर्षको भदौसम्ममा दुई खर्ब ७९ अर्ब २६ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा दुई खर्ब ५४ अर्ब १४ करोडको आयात भएको थियो । अर्थात्, यो दुई महिनामा खानेतेलबाहेककै २५ अर्ब १२ करोडभन्दा बढीको वस्तु आयात भएको छ । यद्यपि, कुल आयातमा कच्चा खानेतेलको हिस्सा भन्ने बढ्दो देखिन्छ । गत आवको पहिलो दुई महिनाको कुल आयातमा कच्चा खानेतेलको हिस्सा ३.१९ प्रतिशत मात्रै थियो । तर, चालू आवको सोही अवधिमा यो हिस्सा बढेर ८.४८ प्रतिशत कायम भएको छ । नेपालमा व्यावसायिक खेती नहुने भए पनि नेपाली उद्योगीले अर्जेन्टिना, इन्डोनेसिया, युक्रेन, रसियाजस्ता तेस्रो मुलुकबाट कच्चा तेल आयात गरेर प्रशोधन गर्दै भारततर्फ निर्यात गरिरहेका छन् । 

कुल आयातको ४७.८५ प्रतिशत वीरगन्ज नाकाबाट
दुई महिनाको कुल आयातमा वीरगन्ज नाकाबाट भएको आयातले ४७.८५ प्रतिशत हिस्सा ओगटेको छ । वीरगन्जबाट एक खर्ब ४६ अर्बको वस्तु आयात भएको छ । दोस्रो ठुलो आयात भैरहवाबाट ४८ अर्ब २२ करोडको छ । विराटनगरबाट ४१ अर्ब ४९ करोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ अर्ब ६३ करोडको वस्तु जाँचपास भएर आयात भएको छ ।

नेपालगन्जबाट ११ अर्ब २१ करोडको वस्तु आयात भएको छ । निर्यात हुनेमा पनि वीरगन्ज नाका नै अगाडि छ । यो नाकाबाट १६ अर्ब ७८ करोडको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको ३५.४७ प्रतिशत हो । विराटनगरबाट १४ अर्ब २४ करोडको वस्तु निर्यात भएको छ । त्रिभुवन विमानस्थलबाट ६२ करोड २२ लाख र भैरहवाबाट ४७ करोड ९० लाखको निर्यात भएको छ ।

 आयात–निर्यातमै भटमासको तेल अग्रस्थानमा
२१ अर्ब ६४ करोडको आयात हुँदा २० अर्ब ४१ करोडको प्रशोधित भटमासको तेल निर्यात

नेपालमै व्यावसायिक खेती हुने कृषिजन्य उद्योग र स्वदेशी कच्चा पदार्थमा आधारित ठुला उद्योग पर्याप्त नभएकाले आयात–निर्यातमा खाने तेलकै वर्चस्व देखिन्छ । यो दुई महिनामा २१ अर्ब ६४ करोड रुपैयाँको कच्चा भटमासको तेल आयात हुँदा २० अर्ब ४१ करोडको प्रशोधित भटमासको तेल निर्यात भएको छ । यो अवधिमा ३७ अर्ब ७९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

जसमा १४ अर्ब ९१ करोडको डिजेल, १० अर्ब ५८ करोडको पेट्रोल, नौ अर्ब ४३ करोडको खाना पकाउने एलपी ग्यास र दुई अर्ब ८५ करोडको हवाई इन्धन आयात भएको छ । आठ अर्ब ८७ करोडको स्मार्ट फोन आयात भएको छ । सात अर्ब ७५ करोडको फलामजन्य वस्तु, ६ अर्ब ८५ करोडको ६ सय एमएमसम्मको हट रोल्ड आइरन, चार अर्ब ३९ करोडको औषधिजन्य वस्तु, तीन अर्ब ७० करोडको एक सय ५० सिसीसम्मका एसेम्बल नगरिएका मोटरसाइकल र तीन अर्ब १२ करोडको सुन आयात भएको छ । 

सर्वाधिक निर्यात हुनेमा भटमासको तेलपछि गलैँचा छ । एक अर्ब ५८ करोडको गलैँचा निर्यात भएको छ । नेपाली गलैँचाको अमेरिका, जर्मनी, बेलायत, इटालीजस्ता देशहरूमा उच्च माग छ । एक अर्ब ३८ करोडको सूर्यमुखी तेल निर्यात भएको छ । एक अर्ब ३१ करोडको पाम तेल निर्यात भएको छ । एक अर्ब १९ करोडको फेल्ट, एक अर्ब दुई करोडको जुटको फेब्रिक र ८८ करोड ७४ लाखको धागो (८५ प्रतिशतसम्म पोलिस्टर भएको) निर्यात भएको छ ।

आयात बढेर खुसी भइहाल्नुपर्ने अवस्था छैन
प्राडा पुष्कर बज्राचार्य, अर्थशास्त्री

पछिल्लो समय नेपाली कामदारलाई श्रम गन्तव्य मुलुकहरू जस्तै, युएईले भिसा नदिएको विषय आइरहेको छ । अहिलेको विदेशी मुद्रा सञ्चितिको प्रमुख स्रोत भनेको रेमिट्यान्स नै हो । भविष्यमा अरू देशले पनि भिसा नदिने अवस्था आयो भने रेमिट्यान्सको स्रोत नै बन्द हुन्छ । त्यसैले आयात बढेर खुसी भइहाल्नुभन्दा रेमिट्यान्सको स्रोतलाई गुम्न नदिनेतर्फ पहल गर्नुपर्ने हुन्छ । 
 

सुझावित समाचार