एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख दामोदर अर्याललाई ३ प्रश्न

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनपछि अब एकीकृत समाजवादी कसरी अघि बढ्छ ?
जेन–जीले भ्रष्टाचारको मुद्दालाई प्रमुख एजेन्डा बनाएर ठुलो आन्दोलन गरे । नेपालको इतिहासमा यो एउटा अत्यन्त सफल आन्दोलन हो । तर, यसको समापन त्यति राम्रो हुन नसके पनि तिनले उठाएका मुद्दाको सम्बोधन जरुरी छ । यसको सम्बोधन गर्ने जिम्मा फेरि पनि राजनीतिक दलकै हो । यस्तो काम कुनै स्वतन्त्र, गैरराजनीतिक व्यक्ति वा तिलस्मी मान्छेबाट हुन सक्दैन ।

आज नेपालमा क्रियाशील राजनीतिक दल सत्तालिप्सामा यति धेरै भ्रष्ट भइसके कि तिनले यही परिस्थितिमा जेन–जीका माग सम्बोधन गर्ने ल्याकत राख्दैनन् । त्यसकारण दलले आफ्नो नीति, संगठन र नेतृत्वमा व्यापक पुनर्गठन गर्न जरुरी छ । हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित अघि बढिसकेको छ । यो नीतिमा देशलाई हिँडाउन सकियो भने धेरैजसो समस्या स्वतः समाप्त हुन्छन् । जेन–जीका माग पूरा गर्न र सोहीअनुकूल नेतृत्व स्थापित गर्न हामी पहिलो पुस्ताका आदरणीय नेतालाई स्वेच्छिक राजनीतिक अवकाशमा जान आग्रह गर्छौँ । 

शीर्ष नेताले यति सजिलै छाड्लान् त ? 
हामी अब नेतृत्वमा पुनर्गठन गर्छौं । अन्य राजनीतिक दल पनि यही बाटामा नहिँडी सुख छैन । अन्यथा, ती समाप्त भएर जान्छन् । वाम पार्टीले ढिलो नगरी नीतिमा समीक्षा गर्नुपर्छ । भ्रष्टाचारबाट मक्किएका नेतालाई बिदा गर्नुपर्छ । अन्यथा, इतिहासले कसैलाई क्षमा दिनेछैन । दलभित्रका इमानदार नेता–कार्यकर्ताले यो यथार्थ बुझी दासताबाट माथि उठेर नीति र नेतृत्व फेर्ने हिम्मत गर्नुपर्छ । जेन–जी आन्दोलनले सबक मात्र होइन, दलहरूलाई सच्चिने अवसर पनि दिएको छ । यो अवसर गुमाउनुहुँदैन ।

दलहरूले जेन–जी आन्दोलनको भावनालाई आत्मसात् गर्न के गर्नुपर्छ ?
जेन–जी आन्दोलनको भावना अस्वीकार गरेर अब दलहरू नेपाली राजनीतिमा बाँच्दैनन् । प्रमुख दलका प्रमुख नेताप्रति जेन–जीले सडकमै आएर घृणा व्यक्त गरे । जेन–जीलाई पुनः शान्त बनाउन, लोकतन्त्रप्रति आश्वस्त पार्न र राज्यव्यवस्थाप्रति पुनः विश्वस्त बनाउन दलहरूमा ठुलो परिवर्तन आवश्यक छ । प्रवृत्तिमा मात्र होइन, सुशासन, नीति, संगठन र नेतृत्वमा आमूल परिवर्तन गर्नुपर्छ ।

सुझावित समाचार