जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचना पुनर्निर्माण गर्ने सरकारी पहलमा विकास साझेदारहरूले सघाउने प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंक र नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिले सोमबार दिउँसो अर्थमन्त्री रामेश्वर खनालसँग छुट्टा–छुट्टै भेट गरी सरकारले ल्याउने आर्थिक सुधारका कार्यक्रममा सहकार्य गर्न चाहेको सन्देश दिएका हुन् ।
सोमबार दिउँसो अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)का नेपाल मिसन प्रमुख जहान सर्वतसँग हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र आर्थिक सुधारका कार्यक्रमको निरन्तरताका विषयमा मन्त्री खनालको भर्चुअल बैठक भएको थियो । उनले सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने मागलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको जानकारीसमेत गराएका थिए । मन्त्री खनालले भुर्चअल बैठकमा अन्तर्राष्ट्रिय मुद्राकोषको सुझाव लिएर कार्यान्वयन भइरहेको आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने पनि बताए । अन्तर्राष्ट्रिय मुद्राकोषको सहयोगमा कार्यान्वयन भइरहेको विस्तारित कर्जा सुविधाको कार्यान्वयनको अवस्था समीक्षा गरी यसको छैटौँ समीक्षा प्रतिवेदन छिट्टै अन्तर्राष्ट्रिय मुद्राकोषको बोर्ड बैठकमा पेस गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषका मिसन प्रमुख जहानले नेपालमा आर्थिक सुधारका कार्यक्रममा नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराएका थिए । उक्त बैठकमा कोषका नेपालस्थित आवासीय प्रतिनिधि प्रणव गुप्ताको समेत उपस्थिति थियो ।मन्त्री खनालले सोमबार दिउँसो नै एसियाली विकास बैंक (एडिबी)का कन्ट्री डाइरेक्टर आर्नो कोस्वासँग छलफल गरेका थिए ।
उनले पनि नेपालको परिवर्तित सन्दर्भमा लागू हुने गरी आर्थिक विकासका क्षेत्रमा सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराए । उक्त बैठकमा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कार्यक्रमको निरन्तरताका विषयमा अर्थमन्त्री खनालको राय पनि लिएका थिए । त्यसपछि मन्त्री खनालले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी तथा विभिन्न विकास आयोजनालगायतका क्षेत्रमा एडिबीले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । उनले एडिबीको ऋण, अनुदान वा प्राविधिक सहायतामा सञ्चालित चालू आयोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
एमसिसी समयमै सक्न अमेरिकाले खोज्यो प्रतिबद्धता
अर्थमन्त्री रामेश्वर खनालसँग सोमबार दिउँसो भेट गरेका नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसनले एमसिसीको सहयोगमा सञ्चालित परियोजनाहरू समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । अर्थमन्त्री खनालले पनि उक्त परियोजनाहरूको सफल कार्यान्वयनका लागि सरकारको तर्फवाट गर्नुपर्ने कार्यमा ढिलाई नहुने विश्वास दिलाए । अर्थमन्त्री खनालले नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले गर्दै आएको निरन्तर सहयोगको उच्च प्रशंसा गरेका थिए । राजदूत थप्सनले पनि हालको परिवर्तित अवस्थामा अमेरिका नेपालको साथमै रहेको र थप सहयोग गर्नेबारे छलफल गरेका थिए ।मन्त्री खनालले राजदूत थम्पसनलाई निर्वाचनसँगै पुनर्निर्माण योजना र सहुलियत प्याकेजका माध्यमबाट निजी क्षेत्रको मनोबल माथि उठाउने कार्यमा खटिएको जानकारी गराएका थिए ।
निजी क्षेत्रलाई सम्बोधन गरेर अर्थतन्त्र चलायमान बनाउने प्रयास
जेन–जी आन्दोलनले निजी क्षेत्रमा ८० अर्बको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । ठुलो क्षति व्यहोरेको निजी क्षेत्रको मनोबल उकासेर अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री रामेश्वर खनाल र गभर्नर डा. विश्वनाथ पौडेल सक्रिय भएका छन् । अर्थमन्त्री खनालले ३१ भदौमा उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ, अटोमोबाइल व्यवसायी, चौधरी तथा भाटभटेनी समूहका प्रतिनिधिलगायतसँग छलफल गरी सुझाव संकलन गरेका थिए । त्यस क्रममा निजी क्षेत्रले कर सहुलियत, सहुलियतपूर्ण कर्जा र बिमा दाबी यथाशीघ्र भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
लगत्तै अर्थ मन्त्रालयले आर्थिक ऐनअनुसार भ्याट, अन्तःशुल्क, अग्रिम कर कट्टी, शिक्षा सेवा शुल्क तथा विलासिता शुल्कको विवरण र कर रकम तिर्नुपर्ने म्याद २५ भदौसम्म रहेकोमा एक महिना बढाएर २५ असोजसम्म कायम गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न पाउने व्यवस्था लागू गरिएको छ ।
अर्थमन्त्री खनालले पुँजी बजारको समस्या समाधान गर्न गत शुक्रबार तीन सदस्यीय कार्यदलसमेत गठन गरेका छन् । राष्ट्र बैंकसँगको छलफलमा सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापतको रकम निकासा हुनुपर्ने विषय उठेपछि अर्थले गत शनिबार नौ अर्ब ८० करोड रुपैयाँ निकासा गरिसकेको छ । सामाजिक सुरक्षा कोषले साउनको कोषमा दाखिला गर्नुपर्ने रकमको ५ असोजसम्म पुर्याइएको थियो ।