जेन–जी आन्दोलनमा भएको क्षति : सवा २२ अर्बका २५ सयवटा बिमा दाबी

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका कारण आउने बिमा दाबीमा सबैभन्दा धेरै रकमको दाबी सम्पत्ति बिमातर्फ देखिएको छ । आन्दोलनका कारण भएको क्षतिबाट आइतबारसम्म १४ ठुला र चार लघु निर्जीवन बिमा कम्पनीमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँबराबरका दुई हजार चार सय ७८ वटा दाबी परिसकेका छन् । यद्यपि, करिब ३५ अर्ब रुपैयाँ हाराहारीमा दाबी पर्ने अनुमान गरिएको छ । 

नेपाल बिमा प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार सम्पत्ति बिमातर्फ १८ अर्ब ६१ करोड आठ लाख रुपैयाँबराबरका पाँच सय ३८ वटा दाबी परेका छन् । रकमका आधारमा यो सबैभन्दा धेरै हो । सम्पत्ति बिमामा घर, होटेल, व्यवसायलगायतको जोखिम रक्षावरण हुन्छ । आन्दोलनका क्रममा काठमाडौंको नक्सालस्थित हिल्टन होटेल क्षतिग्रस्त भएको छ । उक्त कम्पनीले बिमा गरेको कम्पनी दी ओरिएन्टलमा झन्डै पाँच अर्ब हाराहारीमा दाबी पेस गरेको छ ।

यस्तै, भाटभाटेनी सुपरमार्केटको विभिन्न आउटलेटलाई पनि तोडफोड तथा आगजनी गरिएको थियो । भाटभाटेनीले आउटलेटअनुसार फरक–फरक कम्पनीमा बिमा गरेको थियो । भाटभाटेनीबाट पनि अर्बाैँमा दाबी परेको कम्पनीहरू बताउँछन् । विभिन्न निजी घर तथा व्यवसायमा समेत तोडफोड तथा आगजनी भएका छन्, त्यसमा बिमा गरेकाहरूले सम्बन्धित कम्पनीमा दाबी पेस गरेका छन् । 

संख्याका आधारमा मोटरमा धेरै दाबी 
संख्याका आधारमा मोटर बिमातर्फ धेरै दाबी परेको छ । मोटर बिमातर्फ १७ सय ७८ वटा दाबी परेका छन् । रकमका आधारमा भने त्यो दुई अर्ब ९५ करोड २६ लाख रुपैयाँबराबरको दाबी परेको छ । आन्दोलनका क्रममा सिंहदरबारसहित विभिन्न कम्पनी तथा सडकमा राखिएका गाडी तथा बाइकहरू जलाइएको थियो । त्यसले गर्दा यस क्षेत्रबाट पनि धेरै संख्यामा दाबी आएको छ । 

यस्तै, इन्जिनियरिङ तथा ठेकदार जोखिम बिमाअन्तर्गत ३३ करोड ३६ लाख रुपैयाँबराबरका एक सय ३२ वटा दाबी परेका छन् । यस्तै, पारवहन (ढुवानी) बिमाअन्तर्गत एक करोड ५५ लाख रुपैयाँबराबरका ११ र अन्य बिमाअन्तर्गत ३४ करोड ३८ लाख रुपैयाँबराबरका १९ वटा दाबी परेको तथ्यांकमा उल्लेख छ । 

प्रदेशका आधारमा बागमतीबाट धेरै 
तथ्यांकअनुसार बागमती प्रदेशबाट सबैभन्दा धेरै दाबी परेको छ । आन्दोलनको इपिसेन्टर नै काठमाडौंमा थियो । काठमाडौंमा धेरै मात्रामा भौतिक क्षति भएको छ । त्यसले गर्दा यही क्षेत्रबाट धेरै दाबी आएको कम्पनीहरू बताउँछन् । तथ्यांकअनुसार बागमती प्रदेशबाट १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँबराबरका एक हजार तीन सय ४३ वटा दाबी परेका छन् । 

यस्तै, कोशी प्रदेशबाट एक अर्ब ६५ करोड तीन लाख रुपैयाँबराबरका तीन सय २२, मधेश प्रदेशबाट ५५ करोड २८ लाख रुपैयाँबराबरका दुई सय ४६, गण्डकी प्रदेशबाट एक अर्ब २९ करोड एक लाखबराबरका एक सय ८४, लुम्बिनी प्रदेशबाट ४५ करोड ६९ लाख रुपैयाँबराबरका दुई सय दुई, कर्णाली प्रदेशबाट आठ करोड ९३ लाख रुपैयाँबराबरका २२ र सुदूरपश्चिम प्रदेशबाट २३ करोड ९३ लाख रुपैयाबराबरका एक सय ५९ वटा बिमा दाबी परेका छन् । 

यो हकवालाले गरेको दाबी मात्रै हो । अब सर्भेयरले बिमा दाबीयोग्य क्षतिको मूल्यांकन गर्नेछन् । त्यसका आधारमा अन्तिम दाबी रकम निक्र्योल गरिनेछ । त्यस्तो गर्दा प्रक्रिया केही लामो हुन सक्नेछ । यद्यपि, तत्काल केही रकम अग्रिम दाबी भुक्तानी दिने तयारीमा बिमा कम्पनीहरूमा छन् । नियामक निकाय नेपाल बिमा प्राधिकरणले पनि यसअघि नै यसअन्तर्गतको दाबी प्रक्रिया छिटो–छरितो र सहज बनाउन निर्देशन दिनेछ । 

नेपाल बिमक संघका निवर्तमानअध्यक्ष चंकी क्षेत्री भन्छन्– यो विषम परिस्थितिलाई लक्षित गर्दै केही रकम अग्रिम दाबी भुक्तानीमा दिनेछौँ । अन्तिम दाबी प्रक्रिया भने आवश्यक प्रक्रिया पूरा गरेर दिनेछौँ । दाबी भुक्तानी प्रक्रिया द्रुत गतिमा अघि बढ्नेछ ।

सुझावित समाचार