चार अर्बमा बन्यो शिक्षण अस्पताल

तीन सय शय्याको अस्पतालले असोज अन्तिमदेखि सेवा दिने

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

दाङको घोराही उपमहानगरपालिका– ३ भानपुरमा करिब चार अर्ब लागतमा सञ्जीवनी शिक्षण अस्पताल निर्माण भएको छ । तीन सय बेडको अस्पतालको सोमबार उद्घाटन गरिएको छ । तर, असोज अन्तिम सातादेखि उपचार सेवा सुरु हुने भएको छ । करिब पाँच बिघा जग्गामा ०७८ देखि अस्पालका संरचनाको काम सुरु गरिएको थियो । 

अस्पतालसँगै शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने योजनाअनुरूप अस्पताल निर्माण गरिएको सिइओ दीपक रोकाले बताए । ‘हामीले हाल तीन सय बेडको अस्पताल सञ्चालन गरेर सेवा दिनेछौँ’, उनले भने, ‘अस्पताल सञ्चालन गरेको तीन वर्षपछि मात्रै शैक्षिक कार्यक्रम सञ्चालन गर्न मिल्छ, त्यसपछि कार्यक्रम सुरु गर्छौँ ।’ अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयबाट आशयपत्र (एलओआई)  ल्याएको तथा उपकरण खरिदका लागि पनि अनुमतिपत्र पनि लिइसकेको उनले बताए । 

अस्पताल सञ्चालनका लागि वातावरणीय तथा सामाजिक स्वीकृति, स्वास्थ्य सेवा विभागबाट  प्रारम्भिक स्वीकृतिपत्र र सबै कागजात पूरा भएपछि अन्तिम स्वीकृति गरेर अस्पताल सञ्चालन अनुमति दिन्छ । दाङमा पहिलोपटक निजीस्तरबाट तीन सय बेडको अस्पताल सञ्चालन हुन लागेको हो । 

अनुमति पाँच सय बेडको भए पनि हाल तीन सय बेड सञ्चालन गरिने रोकाले बताए । अस्पतालले विशेषज्ञ सेवासहित मुटुरोग, मस्तिष्क, छाती, मिर्गौला, पाचन प्रणालीलगायतका सेवा दिइने उनको भनाइ छ । अहिले दाङबाट बिरामी बाहिर रेफर हुने अवस्था रहेको भन्दै उनले आफूहरूले सेवा सुरु गरेपछि यो रेफर गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । अस्पतालका अध्यक्ष खुमप्रसाद अर्याल हुन् । उनी नेपालगन्ज मेडिकल कलेज कोहलपुर, गण्डकी मेडिकल कलेज पोखरा र युनिभर्सल मेडिकल कलेज भैरहवाका सञ्चालक पनि हुन् ।

अस्पताल उद्घाटनसँगै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, मानसिक रोग, स्त्री तथा प्रसूति, बालरोग तथा शिशु, छाला तथा यौन रोग, फार्मेसी, जनरल सर्जरी, अल्ट्रासाउन्ड, प्रयोगशाला सेवालगायत विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरूले नौ सय ५७ जना बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । 

सुझावित समाचार