नारायणगढ-मुस्लिन सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ। तुइनखोला पुलनजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो ।
आज दिउँसो १एक बजेदेखि तीन बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जनाएको छ ।
शुक्रबारदेखि पहिरोका कारण करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए ।
आइतबार अपराह्न करिब साढे चार बजेतिर सडक एकतर्फी खुलाइएको थियो । राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति नाै बजेदेखि सोमबार बिहान पाँच बजेसम्म पुनः सडक बन्द गरिएको थियो ।
दसैँ मनाउन घर फर्किने क्रम अब बढ्ने भएकाले बाँकी पहिरो पनि हटाएर दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी गरिएको हो ।
ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालय भरतपुरले लेन अनुशासनमा रहेर सवारी चलाउनु सबैलाई अनुरोध गरेको छ ।