रुपन्देही व्यापार संघले २३–२४ भदौमा जेन–जी आन्दोलनका क्रममा आगजनी भएका दुई सरकारी कार्यालयलाई दैनिक काम सञ्चालनका लागि आवश्यक विद्युतीय सामान सहयोग गरेको छ । संघको कार्यालयमा आइतबार आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा इलाका प्रशासन कार्यालय, बुटवल र सरकारी वकिलको कार्यालय, बुटवललाई करिब दुई लाख मूल्यबराबरका दुई थान कम्प्युटर, प्रिन्टर तथा स्क्यानरहरू प्रदान गरिएको कार्यालय प्रमुख सरोज पोखरेलले बताए ।
कार्यक्रममा संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले इलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्याल र सरकारी वकिल कार्यालय, बुटवलका कम्प्युटर अपरेटर बुद्धि पराजुलीलाई ती सामग्री हस्तान्तरण गरे । सो अवसरमा बोल्दै इलाका प्रशासन कार्यालय, बुटवलका प्रमुख रामचन्द्र अर्यालले आगजनीबाट ध्वस्त कार्यालयबाट सेवा प्रदान गर्न गरिएको सहयोगप्रति आभार प्रकट गर्दै जनतालाई दिने सेवा जति सक्दो चाँडो प्रदान गर्न आफूहरू लागिपरेको बताए ।
रुपन्देही व्यापार संघका पूर्वअध्यक्ष श्रीकृष्ण पोखरेलले मुलुकले अकल्पनीय क्षति व्यहोरेको वर्तमान अवस्थामा सबैले सहयोगीको भावना राखेर काम गर्नुपर्ने बताए । जेन–जीका नाममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको परिपूर्ति हुन धेरै समय लाग्ने धारणा उनले राखे ।सरकारी वकिल कार्यालय, बुटवलका कम्प्युटर अपरेटर बुद्धि पराजुलीले कार्यालय सञ्चालनका लागि संघले गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए । कार्यक्रम संघका अध्यक्ष दीपकप्रसाद अधिकारीको अध्यक्षता तथा महासचिव फर्सुराम पन्थको सञ्चालनमा भएको थियो । जेन–जीको आन्दोलनका क्रममा रुपन्देहीमा विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी भएको थियो ।