जेन–जी आन्दोलनका क्रममा सरकारी कार्यालय, जनप्रतिनिधिको घरसँगै प्रहरी चौकीहरूमा आगजनी र तोडफोड गर्दा मधेश प्रदेशमा करोडौँ मूल्यबराबरको क्षति भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आठवटै जिल्लामा रहेका भौतिक पूर्वाधार तथा सवारीसाधनमा आगजनी र तोडफोड हुँदा ११ करोडबराबरको क्षति भएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । मधेश प्रदेश प्रहरीले उपलब्ध गराएको रिपोर्टमा भौतिक पूर्वाधारतर्फ आठ करोड र सवारीमा आगजनी तथा तोडफोड हुँदा तीन करोड गरी ११ करोडबराबरको क्षति भएको छ ।
२४ भदौमा प्रदेशका १०९ प्रहरी युनिट क्षतिग्रस्त भए । तीमध्ये १३ युनिट पूर्ण रूपमा आगजनीले ध्वस्त भए । १३ वटा स्थायी, ९९ वटा अस्थायी प्रहरी चौकी र बाँकी जिल्ला ट्राफिक प्रहरीका कार्यालयहरूमा क्षति भएको मधेश प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी क्षति ट्राफिक प्रहरीका अस्थायी युनिटहरूमा भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले प्रदेशभरिका प्रहरी युनिटहरूमा भएको क्षति यकिन गर्न प्रहरी उपरीक्षक ईश्वर थापाको नेतृत्वमा क्षति यकिन समिति बनाएको छ । समितिले दिएको प्रतिवेदनमा ६ वटा प्रहरी गाडी पूर्ण रूपमा जलेर खरानी भएका छन् भने १० वटामा तोडफोड गरिएको छ । २५ वटा मोटरसाइकल जलेको छ । मधेश प्रदेशमा ५३५ वटा प्रहरी युनिटमध्ये ३९९ मात्रै आफ्नो जग्गामा छन्, बाँकी भाडा घरमा छन् ।
आन्दोलनकै क्रममा ८४ प्रहरी घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनका क्रममा तीनवटा एसएलआर हतियार लुटिएको थियो । लुटिएको हतियार बरामद भए पनि त्यसमा प्रयोग हुने ४५ राउन्ड गोली अझै हराइरहेको मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले बताए । ‘यो आन्दोलनले प्रहरी मात्र होइन, सुरक्षाको आधारलाई नै ध्वस्त पार्यो । धेरै क्षति भएको छ । अहिले प्रारम्भिक क्षति विवरण मात्रै संकलन भएको छ । विस्तृत आउन बाँकी नै छ,’ उनले भने ।
मधेश प्रदेशमा पहिलादेखि नै प्रहरी चौकीहरूको भौतिक पूर्वाधार कमजोर छ । त्यसमा जेन–जीको नाममा भएको आन्दोलनको आगोले यी अस्थायी संरचनालाई झनै कमजोर बनाएको उनले बताए । ‘प्रहरी जनताकै सुरक्षाका लागि हुन्छ,’ डिआइजी चतुर्वेदीले भने, ‘तर, आन्दोलनकै नाममा प्रहरी चौकी जलाइयो, प्रहरीमाथि आक्रमण गरियो, कतिपय ठाउँमा ज्यानै लिइयो । यस्तो घटनाले प्रहरीलाई कमजोर मात्र बनाउँदैन, जनताकै सुरक्षामा संकट ल्याउँछ ।’ आन्दोलनका क्रममा विस्थापित भएको १०९ प्रहरी चौकीमध्ये १०५ सयवटा पुनस्र्थापित भइसकेको र चारवटा अझै बाँकी छ । अहिले विभिन्न ठाउँमा प्रहरी चौकीहरू स्थानीयको सहयोगमा पुनस्र्थापित भइरहेको छ ।