नवरात्रको पूर्वसन्ध्यामा शंकराचार्य मठ पशुपतिमा दुर्गा सप्तशती (चण्डी) ग्रन्थको लोकार्पण भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जनकराज भट्टद्वारा सम्पादित तथा नेपाली भाषामा अनूदित उक्त चण्डी ग्रन्थको वैदिक फाउन्डेसनका अध्यक्ष डा. केशवानन्द स्वामीले आइतबार लोकार्पण गरेका हुन्।
उनले पुस्तकका सम्पादकलाई बधाई ज्ञापन गर्दै सरल पूजाविधिसहितको चण्डी ग्रन्थबाट देवीको उपासनामा सहज हुने विश्वास व्यक्त गरे । लोकार्पण समारोहमा वेदान्त दर्शनका प्राध्यापक भवानीप्रसाद खतिवडा, प्राडा लालमणि पाण्डेय, प्राडा भेषराज अर्याल, शिक्षाविद् रामप्रसाद भण्डारी, डा. बैकुण्ठप्रसाद उपाध्यायलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन डा. उमेशप्रसाद घिमिरेले गरेका थिए। पुस्तकको समीक्षा प्राडा ध्रुवप्रसाद भट्टराईले गरेका थिए । उनले पुस्तकको आधिकारिकता, प्रामाणिकता एवं महत्वबारे चर्चा गरेका थिए । यस ग्रन्थका माध्यमले अध्ययन अनुसन्धानमा समर्पित नेपाली विद्वत् परम्परामा आमूल्य योगदान पुर्याउन सफल भएकाकोमा सम्पादकलाई बधाई दिए । डा. जनकराज भट्टले गत वर्ष नेपाली समाजमा अत्यन्त प्रसिद्ध रहेको स्वस्थानी व्रतकथा पुस्तकसमेत सम्पादन गरेका थिए।