खेलाडीलाई चलायमान बनाउन सुप प्रदेशस्तरीय खुला कराँते प्रतियोगिता हुँदै

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण
खेलाडीलाई चलायमान बनाउन सुप प्रदेशस्तरीय खुला कराँते प्रतियोगिता हुँदै

प्रतियोगितामा प्रतिस्पर्धा गर्न अभ्यास गर्दै कञ्चनपुरका सितोरियो संघका खेलाडीहरू ।

तीन वर्षदेखि लगातार राष्ट्रिय खेलकुद प्रतियोगिता नभएपछि सुदूरपश्चिमका खेलाडी चलायमान गराउनका लागि प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता सञ्चालन गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघले खेलाडी चलायमान गराउन प्रदेशस्तरीय खुला कराँते प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । 

२८ असोजदेखि ३ कात्तिकसम्म ०७९ गण्डकी प्रदेशको पोखरामा भएको ९औँ राष्ट्रिय प्रतियोगिता भएको थियो । त्यसपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा गर्ने भनिए पनि दुईपटक स्थगित भएपछि खेलाडी निरास भएका वेला नेपाल सितोरियो कराते संघ सुप प्रदेश सितोरियो कराते संघले खुला कराँते प्रतियोगिता आयोजना  गर्न लागेको हो। 

सुप प्रदेश सितोरियो कराँते संघका संयोजक ओमकार गिरीले प्रदेशका खेलाडी चलायमान गराउन प्रतियोगिता आयोजना गरेको बताए । संयोजक गिरीले ७ असोजदेखि महेन्द्रनगर कर्बड हलमा प्रतियोगिता सञ्चालन हुने बताए । उनका अनुसार उमेर र तौल समूहबिच प्रतिस्पर्धा गराइनेछ । तौलतर्फ २५ र ८५ किलोमाथि र उमेरतर्फ १०, १३, १६, १९ वर्षमुनि र १९ वर्षमाथि उमेर समूहबिच प्रतिस्पर्धा गराइनेछ । 

‘हामीले यो खुला प्रतियोगिता सितोरियो संघबाट पहिलोपटक गर्न लागेका छौँ,’ उनले भने, ‘सुप प्रदेश कञ्चनपुर, कैलालीसहित पहाडी जिल्लाबाट सहभागिता हुनेछ । प्रतियोगितामा झन्डै ६–७ सय खेलाडीबिच प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिता संयोजक कर्मबहादुर सिंहले तयारी तिव्र रुपमा अघि बढाएको बताए । सहभागी खेलाडीहरूलाई बसोबासदेखिका आवश्यक प्रबन्धका लागि महेन्द्रनगरका होटल सञ्चालकहरूसँग समन्वय भइरहेको बताए । ‘सयौँ खेलाडी एकैपटक महेन्द्रनगर ग्यादरिङ हुनेछन्,’ उनले भने, ‘यसले बजार समेत चलायमान गराउनेछ ।’

उद्घाटनका दिन प्रभातफेरीसहितका कार्यक्रम हुनेछन् । विजेता खेलाडीलाई प्रमाणपत्र, मेडलसहितका पुरस्कार प्रदान गरिनेछ । ‘यो प्रतियोगिताले कम्तिमा पनि खेलाडीको स्तरवृद्धि विकासमा भूमिका खेल्नेछ,’ उनले भने, ‘राष्ट्रिय प्रतियोगितालाई समेत झल्को दिने, सबै उमेर, तौल समूहका खेलाडीबिच सामुहिकता, प्रतिस्पर्धा हुनेछ ।’

सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघका अध्यक्ष यज्ञराज बैजले खेल र खेलाडीको विकास र स्तरवृद्धिका लागि खुला प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘यो प्रतियोगिता संघकै आयोजनामा हो, कुनै सरकारी निकायबाट सहयोग छैन, सिथिल बन्दै गएको खेलकुद क्षेत्र चलायमान गराउने उदेश्य पनि हो, खेलकुदले समग्र बजार क्षेत्र पनि चहलपहल ल्याउँछ ।’

सुप प्रदेश सितोरियो कराते संघ कञ्चनपुरका अध्यक्ष सरोज बैद्यले प्रदेशस्तररीय प्रतियोगितामा जिल्लाभरीबाट खेलाडी सहभागिता गराउने प्रतिबद्धता जाहेर गरेका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताले सुदूरको सितोरियो कराँते खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । 

सुझावित समाचार