मुद्दतीमा ब्याजदर कम भए पनि निक्षेपकर्ताले लगानीका अन्य क्षेत्र सुरक्षित नदेखेपछि बैंक तथा वित्तीय संस्थामा थुप्रियो पैसा
मुद्दती र बचतमा ब्याजदर ज्यादै न्यून दरमा पाइने भए पनि बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिने क्रम रोकिएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ३० भदौसम्म ७३ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन कायम भएको छ ।
खासगरी रेमिट्यान्स आप्रवाह बढ्दै गइरहेकाले पनि निक्षेप संकलनमा वृद्धि भइरहेको छ । साउन मसान्तसम्म ७२ खर्ब ४१ अर्ब कायम रहेको निक्षेप संकलन एक महिनामा ६५ अर्ब रुपैयाँले बढेको हो । वाणिज्य बैंकको निक्षेप संकलन ६५ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । असोजमा २० वटा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ब्याजदर ५.४६ प्रतिशत निर्धारण गरेका छन् ।
निक्षेपको ब्याजदर न्यूनतम विन्दुमा आइपुग्दासम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने क्रम रोकिएको छैन । ब्याजदर घटेपछि सामान्यतया तरल सम्पत्तिका रूपमा लिइने सेयर बजारमा आकर्षण बढ्ने गरेको छ । तर, पछिल्लो समयको राजनीतिक अस्थिरता र लगानीयोग्य वातावरणको अभावका कारण सेयर बजारमा समेत आकर्षण बढ्न सकेको छैन । घरजग्गा कारोबारमा पनि सुधार आउन नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थामा थोरै ब्याजदरमा भए पनि निक्षेप राख्ने प्रवृत्ति बढेको छ ।
कर्जा प्रवाह सवा ५६ खर्ब
बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सवा ५६ खर्ब पुगेको छ । राष्ट्र बैंकका अनुसार ३० भदौसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५६ खर्ब २५ अर्ब पुगेको हो । यसमध्ये वाणिज्य बैंकहरूको कर्जा प्रबाह ५० खर्ब दुई अर्ब पुगेको छ । कर्जा निक्षेप अनुपात ७६.०४ प्रतिशत कायम भएको छ । अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलतासमेत बढ्दै गएको छ ।