इतिहासमा २४ भदौ : अनि जलाउन थाले सरकारी भवन

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

२३ भदौको जेन–जी आन्दोलनमा केपी ओली नेतृत्वको सरकारको बर्बर दमनमा १९ निहत्था युवा मारिएपछि आक्रोशित प्रदर्शनकारीले २४ भदौमा सार्वजनिक सम्पत्ति मात्रै होइन, नेताका घर नै ध्वस्त बनाएपछि उनीहरूको सुरक्षामै चुनौती निम्तियो । त्यस दिन प्रमुख प्रशासनिक क्षेत्रका भौतिक संरचना कसरी ध्वस्त भए ? नयाँ पत्रिकाले तयार गरेको रिपोर्ट :

पहिलो प्रहार तीनकुने प्रहरी वृत्त (बिहान ११ बजे) 
सरकारले २३ भदौमा बानेश्वरमा १९ युवाको नरसंहार गरेपछि जेन–जी प्रदर्शनकारीको निसानामा थियो संसद् भवन । २४ भदौको बिहानैदेखि उनीहरू बानेश्वरतर्फ अगाडि बढ्दै थिए । तीनकुने सडकमा जम्मा हुन थाले । १० बजेसम्म सडक उनीहरूको कब्जामा आइसकेको थियो । बानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरी पुलमा रोक्ने प्रयासमा थियो । उत्तेजित भिड तीनकुनेस्थित प्रहरी वृत्ततर्फ अघि बढ्यो । वृत्तलाई घेरा हाल्यो । कार्यालयको गेट तोड्यो, कोही काँडेतार पन्छाएर पर्खाल नाघेरै कार्यालयमा छिरे । टेबुल, कुर्सी र कागजात बाहिर निकालेर आगो लगाए । पार्किङ गरिएका गाडी र मोटरसाइकलमा पनि आगो झोसे । प्रदर्शनकारीलाई संसद् भवनतर्फ जान नदिन तैनाथ प्रहरी आफ्नै कार्यालय जोगाउन असमर्थ बन्यो । 

कार्यालय ध्वस्त पारेपछि प्रदर्शनकारीले प्रहरीको बर्दी उतारेर अर्धनग्न अवस्थामा सडकमा मार्च गर्न लगाए । ज्यान जोगाउन केही सुरक्षाकर्मी बागमती नदीमा हामफाले । अझै पनि ढुंगा हान्दै खोलैखोला लगार्न छाडेनन् । विजयीभावमा उनीहरू फेरि बानेश्वर सडकमा उत्रिए, त्यतिवेलासम्म सडक पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा थियो । 

दन्किन थाल्यो संसद् भवन (१:३० बजे) 
तीनकुनेबाट बानेश्वरतिर अगाडि बढेको भिड विनाकुनै अवरोध संसद् भवनको दक्षिण गेटमा गएर रोकियो । गेट बन्द थियो । सडकमा नभए पनि संसद् भवन सुरक्षाका लागि भित्र सुरक्षाकर्मी थिए । सुरक्षाकर्मीले भिड रोक्न तागत लगाए । केहीबेर घम्साघम्सी चल्यो, तर भिडसामु सुरक्षाकर्मीको जोड चलेन । गेट ढलाएर प्रदर्शनकारी संसद् भवनपरिसरमा प्रवेश गरे । प्रदर्शनकारीले भवनभित्र छिरेर टेबुल, कुर्सी, कागजातलगायत जम्मा गरे । बोतलमा बोकेको पेट्रोल छर्किएर आगो लगाए । दिउँसो १:३० बजेदेखि आगो दन्किन थाल्यो । २:०० बज्दासम्म धुवाँको मुस्लोले संसद् भवनको आकाश भरिसकेको थियो । 

सिंहदरबार पनि जोगिएन (अपराह्न २:३० बजे)
संसद् भवन जलाएपछि प्रदर्शनकारी थप उग्र बने । अब सिंहदरबार पनि जलाउने भन्दै अगाडि बढ्यो । २:०० बजेसम्म चारैतिरबाट सिंहदरबार घेरिसकेका थिए । तर, भित्र छिर्न सुरक्षाकर्मीको अवरोध थियो । हातमा पेट्रोलका बोतल बोकेका प्रदर्शनकारीले आगो सल्काउँदै सुरक्षाकर्मीतिर फाल्न थाले, जवाफमा अश्रुग्यास पाए । त्यतिवेलासम्म सिंहदरबार पश्चिम गेटसामुन्ने रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय आगजनीपछि ध्वस्त भइसकेको थियो । 

त्यही समूह पश्चिम गेटमा जम्मा भयो । सँगै ल्याइएको टायर गेटमै राखेर पेट्रोल छर्किएर आगो लगायो । धुवाँको मुस्लोले आकाश ढाक्यो । त्यही वेला अर्को समूह गेट नाघेर भित्र छिर्‍यो । गेटमा दन्किएको आगो लगेर कोठा–कोठामा झोस्न थाल्यो । हेर्दाहेर्दै गेट पनि तोडे । सबै भिड सिंहदरबार छिरेपछि सुरक्षाकर्मीले रोक्न सकेन । पूर्वी, दक्षिण र पश्चिम गेटबाट ओइरिएका प्रदर्शनकारीले सिंहदरबारलाई पूर्ण रूपमा नियन्त्रणमा लियो । 

उनीहरू गृह मन्त्रालय पनि प्रवेश गरे । सोफा, टेबुल, कुर्सी र कागजातमा आगो लगाए । पश्चिमतर्फबाट छिरेका प्रदर्शनकारी भने प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरे । कोठाकोठाका फर्निचरमा आगो झोस्दै अघि बढे । उनीहरूको आक्रोश सिंहदरबारभित्र पार्किङ गरिएका गाडी र मोटरसाइकलमाथि पनि पोखियो । ४:०० बजेसम्म प्रधानमन्त्री कार्यालय, संसद् सचिवालय, गृह, शिक्षा, कानुन, भूमि, भौतिकलगायत मन्त्रालय खरानी भइसकेका थिए । 

सिंहदरबारबाट निस्किएर सर्वोच्च अदालतमा प्रहार (४:३०)
सिंहदरबारबाट निस्किएका युवाले सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालय पनि छाडेनन् । यतिवेलासम्म त रोक्ने सुरक्षाकर्मी पनि थिएनन् । बन्द गेट तोडेर सजिलै सर्वोच्च परिसरमा छिरे । पार्किङमा रहेका गाडी र मोटरसाइकलमा आगो लगाए । उही शैलीमा कोठाकोठा छिर्दै सबैतिर पेट्रोल छर्किँदै आगो लगाए । महान्यायाधिवक्ताको कार्यालयमा पनि त्यसै गरे । यही भिडले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत र सडक विभागमा पनि आगो लगायो । सबै खरानीमा परिणत भयो । 

शीतलनिवास जलिरह्यो, सेना हेरिरह्यो (३:३० बजे)
महाराजगन्जस्थित प्रहरी वृत्त खरानी बनाएका आक्रोशित युवा शीतलनिवासस्थित राष्ट्रपतिनिवास आक्रमणमा होमिए । सेनाको परमाधिपतिसमेत रहेका राष्ट्रपतिको कार्यालयसमा हतियारसहितका सैनिक नै तैनाथ थिए । तर, उनीहरूलाई गोली चलाउने आदेश थिएन । प्रदर्शनकारीको ठुलो भिड उनीहरूले रोक्न सकेनन् । प्रदर्शनकारीले भित्रै छिरेर आगो लगाए । २५ भदौको बिहानसम्म पनि आगो दन्किरहेको थियो । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा पनि जलाए एउटा भवन (१:३० बजे)
अघिल्लो दिन १९ युवा मारिएपछि प्रदर्शनकारी प्रधानमन्त्री केपी ओलीसँग बढी आक्रोशित थियो । अझ उनले राजीनामा दिन आनाकानी गरेपछि युवा थप उत्तेजित थिए । बिहान ११:०० बजेबाट उनीहरू बालुवाटारस्थित ३ नम्बर गेटमा जम्मा हुन थालिसकेका थिए । उनीहरूलाई रोक्न सुरक्षाकर्मी तैनाथ थिए । तर, १:३० तिर भिड गेट तोडेर अगाडि बढ्यो । ३ नम्बर गेटसँगै रहेको भवनमा आगो लगायो । प्रदर्शनकारी प्रधानमन्त्रीको निवासतर्फ अघि बढ्न बल गर्दैै थिए । त्यही वेला २:०० बजे ओलीले राजीनामा दिए । सेनाले हेलिकोप्टरमा राखेर बालुवाटारबाट शिवपुरीतिर लगेपछि युवाको आक्रोश मत्थर भयो । प्रधानमन्त्रीनिवास जल्नबाट बच्यो ।

See More On

सुझावित समाचार