महाधिवेशनको विकल्प छैन, नेतृत्वले मार्गप्रशस्त गरोस् : थापा

पार्टीको पुनर्गठन र रूपान्तरणका लागि आफू साधारण सदस्य मात्रै रहन पनि तयार रहेको सन्देश

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण
  • विशेष महाधिवेशन नयाँ कुरा होइन । ०१२ मा सभापति सुवर्णशमशेर आफैँले राजीनामा दिएर ०१४ मा कांग्रेसको विशेष महाधिवेशन भयो, जसबाट बिपी कोइराला पार्टी सभापति बन्नुभयो ।

कांग्रेस महामन्त्री गगन थापाले तत्कालै कांग्रेसको नयाँ महाधिवेशन वा विशेष महाधिवेशनमा जानुपर्नेबाहेक अरू बाटो नभएको बताएका छन् । शनिबार जारी भिडियो सन्देशमा थापाले पार्टीको पुनर्गठन र रूपान्तरणका लागि आफू साधारण सदस्य मात्रै रहन पनि तयार रहेको उल्लेख गरेका छन् । पार्टी नेतृत्वले महाधिवेशनका लागि मार्गप्रशस्त गर्नुपर्ने पनि थापाले माग गरेका छन् । 

‘अब तत्कालै नियमित १५औँ महाधिवेशन वा विशेष महाधिवेशन गर्नेबाहेक हामीसँग अरू बाटो छैन,’ थापाले भनेका छन्, ‘महाधिवेशनको दुईवटा बाटा छन् । पहिलो, नियमित १५औँ अधिवेशन । विषम परिस्थितिमा पुरानो क्रियाशील सदस्यता कायम राखेर दुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलिदिने । पार्टीको सदस्य बन्न चाहने सबैलाई स्वीकार गर्ने । विधानका सबै धारा निलम्बन गर्ने र पार्टीका सदस्यहरूबाट सीधा चुनाव लडेर पार्टीको नेतृत्व वा सभापति छान्ने । यो सबैका लागि सम्मानजनक बाटो हुन सक्छ ।’ 

यसरी महाधिवेशन नगर्ने अवस्थामा विशेष महाधिवेशनमा जानुपर्ने थापाको भनाइ छ । ‘पुरानै महाधिवेशन प्रतिनिधिहरूबाट विशेष महाधिवेशन गर्ने, त्यसले नेतृत्व मात्र होइन, पार्टीको नीति, नियम, पार्टीसँग जोडिएका प्रश्नहरूको उत्तर दिने, हाम्रा गल्ती छाड्ने, नयाँ संकल्प गर्ने मौका हुन्छ । यसका लागि पार्टी सभापति र हामी केन्द्रीय समितिले छोडिदिने । विशेष महाधिवेशन गर्ने, नयाँ नेतृत्व आउने बाटो खोलिदिने । योभन्दा अरू कुनै बाटो छैन ।’ 

थापाले सभापति शेरबहादुर देउवा उपचाररत रहेको अवस्थामा नेतृत्वको विषय उठाएकोमा भएको आलोचनाको पनि जवाफ दिएका छन् । ‘हामी कोही पनि संवेदनाहीन छैनौँ । सभापतिको स्वास्थ्यबारे निरन्तर जानकारी लिइरहेका छौँ । अस्पतालमा भइरहेका वेला यो गरौँ भनेको होइन । सभापतिलाई सोधेर उहाँसँग सल्लाह गरेर गरौँ भनेको हो । अझ सभापतिलाई नै तपाईंले यो कदम चाल्नुहोस् भनेको हो,’ थापाले भने ।

सभापति देउवाले नमाने पनि पछि नहट्ने थापाले बताएका छन् । ‘मनाउने हो फकाउने हो, तर मान्नुभएन कोही फकिनुभएन भनेदेखि हात उठाउने होइन अगाडि बढ्ने हो । त्योबाहेक हामीसँग कुनै बाटो छैन,’ उनले भने, ‘कतिपय साथीहरूले आफ्नाबारेमा सोचेर यो भनिरहेको छ भन्नुभएको छ, यो होइन । पार्टी पुनर्गठन र रूपान्तरणको अभियानमा लाग्दै गर्दा जस्तोसुकै मूल्य चुकाउन म तयार छु । पार्टीको साधारण सदस्य मात्रै रहेर बस्न तयार छु, भुइँमा बस्न तयार छु ।’ 

थापाले यो आफ्नो वा पार्टीको मात्रै विषय नभएको बताएका छन् । ‘किनकि यो मेरो विषय होइन । मभन्दा पार्टी छ, तर पार्टीभन्दा माथि देश छ । आज देश दनदनी जलिरहेका वेला यसलाई निभाउन सक्ने तागत हामीले राख्नुपर्छ । यो पनि बिर्सनु हुँदैन नौजवानले आगो ओकलेका छन्, यसको मर्म हामीले बुझ्नुपर्छ,’ उनले भनेका छन्, ‘उनीहरूले परिवर्तन खोजेका छन् । परिवर्तनको माग सम्बोधन गर्न सक्ने पार्टी भयौँ भने मात्रै हामी सान्दर्भिक हुन्छौँ । त्यो वेला मात्रै हाम्रो अर्थ छ, नभए हुँदैन । उनीहरूले सोचेजस्तो देश बनाउने कुरामा हामीले योगदान गर्नुपर्छ ।’ 

थापाले पार्टीलाई यो वेला जस्ताको तस्तै राखेर टिकाउन नसकिने पनि उल्लेख गरेका छन् । महामन्त्री थापाले तत्कालै २३ भदौको दमन र २४ को घुसपैठको छानबिन गर्न माग गरेका छन् । ‘०४६ पछि मजस्तो राजनीतिक दलमा आबद्ध, अड्डा अदालतमा बसेका, सेना, कर्मचारी सबैको कानुनसम्मत छानबिन हुनुपर्छ । दोषीले सजाय पाउनुपर्छ,’ थापाले भने ।

सुझावित समाचार