- इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित भन्छन्–सार्वजनिक भएको तस्बिरबारे आधिकारिक जानकारी छैन
इजरायलले गाजामा सैन्य कारबाही बढाएपछि हमासको सशस्त्र शाखाले शनिबार गाजामा रहेका ४८ जना बन्दीको ‘बिदाइ तस्बिर’ भन्दै सामूहिक फोटो सार्वजनिक गरेको छ । अलजजिरा र इजरायलका सञ्चारमाध्यमले प्रकाशन गरेको सामूहिक तस्बिरमा २३ असोज ०८० देखि हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी पनि छन् ।
अनलाइनमार्फत सार्वजनिक तस्बिरमा जीवित र मृतक बन्दीहरूको अनुहार देखाइएको छ र सबैको नाममा ‘रोन अराड’ लेखिएको छ । यो नाम १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेना क्याप्टेनसँग सम्बन्धित छ । उनलाई हमासले नियन्त्रणमा लिएर मारेको मान्ने गरिन्छ ।
हमासले बिहीबार नै इजरायली आक्रमण बढ्दै गए बन्दीको जीवन संकटमा पर्न सक्ने चेतावनी दिएको थियो । हमासको अल–कस्साम ब्रिगेडको वक्तव्यमा थियो, ‘तिमीहरूका बन्दीहरू गाजासिटीका बस्तीहरूमा फैलिएका छन्, । अपरेसन विस्तारको अर्थ हो कि तिमीहरूले कुनै पनि बन्दी प्राप्त गर्नेछैनौँ–न त जीवित, न त मृत । गाजा तिम्रा सैनिकहरूको चिहान हुनेछ ।’
यसैको श्रृंखलामा हमासले शनिबार बिदाइ तस्बिर भनेर सार्वजनिक गरेको हो । ‘हमास समूहको कास्साम ब्रिगेडले गाजामा रहेका ४८ जना बन्दीको एउटा तस्बिर सार्वजनिक गरेको छ, जसलाई उसले बिदाइ तस्बिर भनेर उल्लेख गरेको छ,’ अलजजिरामा माजियार मोतामेदीले समाचार लेखेका छन् ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले यसबारे कुनै जानकारी नभएको बताए । ‘आधिकारिक रूपमा यस सम्बन्धमा हामीलाई जानकारी आएको छैन,’ राजदूत पण्डितले टेलिफोनमा नयाँ पत्रिकासँग भने । राजदूत पण्डितलाई विपिनका परिवारले पनि सोधखोज गरेका थिए । उनले परिवारलाई पनि आफूलाई जानकारी नभएको र इजरायली अधिकारीसँग सम्पर्क गरेर जवाफ दिने बताएका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग कुनै पनि सहमति गर्न अस्वीकार गरेको र इजरायली सेना प्रमुख एयाल जामिरले आक्रमण जारी राखेकै वेला हमासको चेतावनी आएको अलजजिराले जनाएको छ । बिदाइ तस्बिर सार्वजनिक हुनुलाई इजरायली अधिकारीले भने परिवारजनमार्फत हमास समूहले सैन्य अपरेसन रोक्न दिएको दबाबका रूपमा लिएका छन् ।
हमासको कब्जामा रहेका ५० मध्ये २० जना जीवित रहेको इजरायली अधिकारीहरूको विश्वास छ । इजरायलको सुरक्षा फौजले परिवारजनलाई बन्दीहरूको अवस्थाबारे यकिन सूचना नभएको जानकारी दिएका छन् । टाइम्स अफ इजरायलले शनिबार प्रकाशित गरेको समाचारअनुसार हमासको कब्जामा रहेकामध्ये कम्तीमा २६ जनाको मृत्यु पुष्टि भइसकेको छ र उनीहरूको शव हमासको नियन्त्रणमा छ । ‘२० जना अझै जीवित रहेको विश्वास गरिन्छ भने दुईजनाको अवस्था गम्भीर भएको आशंका छ,’ जेरुसेलम पोस्टले लेखेको छ ।
०८० असोज २३ मा निर ओज र किबुज आलुमिमबाट हमास समूहले गरेको हमलापछि उसले २५१ जनालाई अपहरण गरेको थियो । गत वर्ष जनवरीदेखि मार्च २०२४ सम्म भएको युद्धविरामको अवधिमा हमासले ३० जना बन्धक (२० जना इजरायली नागरिक, पाँचजना सैनिक र पाँचजना थाई नागरिक)लाई मुक्त गरेको थियो भने आठजना मृत इजरायली बन्धकको शव पनि फर्काइएको थियो । मे २०२४ मा हमासले एकजना अमेरिकी–इजरायलीलाई पनि रिहा गरेको थियो ।
त्यसअघि, नोभेम्बर २०२३ को अन्त्यमा भएको सातदिने युद्धविरामका क्रममा हमासले १०५ जना नागरिकलाई रिहा गरेको थियो । त्यहीबिचमा थप चारजना बन्धक मुक्त भएका थिए । तर, नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात छ ।