दसैँको मुखमा दाउन्ने सडकको दुर्दशा : पहिरोले तीन दिनमा २६ घण्टा अवरुद्ध, १४ किलोमिटर पार गर्न लाग्छ १६ घण्टासम्म

दसैँअगाडि दाउन्नेको सडक पिच वा ढलान गर्न ठेकेदार कम्पनी र सडक आयोजनालाई दिइएको थियो निर्देशन

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण

पश्चिम नेपालको लाइफलाइन पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको दाउन्नेमा पहिरो खस्दा तीन दिनमा २६ घण्टा सडक अवरुद्ध भएको छ । हरेक दिन वर्षा भइरहेकाले पहिरोले सडक अवरुद्ध हुनुका साथै खुलेका वेला पनि चिप्लो र हिलाम्य हुँदा १४ किलोमिटर सडक पार गर्न नै १६ घण्टासम्म लाग्ने गरेको छ । दसैँको मुखमा गाउँघर लागेका यात्रु घण्टौँ जाममा पर्ने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक जनक बन्जाराका अनुसार पछिल्लोपटक बुधबार दिउँसो १२:४० मा दाउन्नेको विश्वकर्मा बाबा मन्दिरनजिकै पहिरो खस्दा सडक अवरुद्ध भयो । पहिरो पन्छाएर चार घण्टामा खुल्यो । तर, फेरि बिहीबार साँझ ६ बजे दाउन्नेको खुर्सानी खोलामा पहिरो खस्दा शुक्रबार दिउँसो १ बजेसम्म अवरुद्ध रह्यो । खुर्सानी खोलामा पहिरो पन्छाउन नपाउँदै शुक्रबार दिउँसो साढे १२ बजे ६५ मोडनजिकै पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बन्यो । मध्याह्न १:५५ मा सडक एकतर्फी खुलेकामा दिउँसो ४ बजे पहिरो पन्छाएर पूर्ण रूपमा खुलाइएको छ । शुक्रबार सडक अवरुद्ध हुँदा दाउन्ने सडकखण्डको बर्दघाटदेखि दुम्कीबाससम्म १४ किलोमिटर दूरीमा सवारीसाधनको जाम लागेको थियो । साना तथा ठुला सवारीसाधन, लरी, ट्रक, यात्रुवाहक बस, शववाहनदेखि एम्बुलेन्ससम्म जाममा परिरहेका छन् । यो सडकमा सामान्य अवस्थामा दैनिक पाँच हजार गाडी गुड्ने भए पनि दसैँ नजिकिँदै जाँदा चाप बढेको छ । ‘पानी परिरहेको छ, बाटो चिप्लो छ, दसैँ भएकाले पनि गाडीको चाप धेरै छ, त्यसैमा पहिरो खस्दा सडक अवरुद्ध भइरहेको छ,’ उनले भने । 

नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेले सडक विस्तारका लागि गत जेठमा काटेको भित्ता अहिले पानी पर्दा पहिरोका रूपमा खसिरहेको बताए । ‘पहाड (भित्ता) काटेको ठाउँमा पर्खाल लगाउने काम भएको छैन । त्यहीँबाट पहिरो खसिरहेको छ,’ उनले भने, ‘दाउन्नेको १४ किलोमिटरमध्ये ६ किलोमिटर सडक मात्र ढलान र पिच छ, ८ किलोमिटर कच्ची हुँदा चिप्लो र हिलाम्य हुने गरेको छ, जसकारण सामान्य पानी पर्दा र पहिरो नखसेका वेला पनि सडकमा जाम लाग्ने गरेको छ ।’

बुटवल–नारायणगढ सडक विस्तारको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कम्पनी र सडक आयोजनाका कर्मचारीलाई दसैँअगाडि दाउन्नेको सडक पिच वा ढलान गर्न निर्देशन दिइए पनि कुनै काम नभएको उनले बताए । ‘काम गरेको देखिँदैन । दाउन्नेमा अहिलेदेखि नै सास्ती हुन थाल्यो । दसैँमा यात्रु तथा सवारीसाधनको चाप झन् बढ्छ । शनिबार बैठक बसेर यस विषयमा थप छलफल गर्छाैँ,’ उनले भने ।

सडक आयोजनाका प्रमुख इन्जिनियर चुडाबहादुर ढकालले दसैँअगाडि दाउन्ने सडकखण्डमा अन्य भौतिक संरचना निर्माण हुने सम्भावना नरहेको बताए । ‘यस्तै पानी परे कसरी यात्रा सहज गराउने र पानी रोकिए दसैँमा यात्रुलाई यात्रा सहज गराउन कसरी सकिन्छ भन्नेबाहेक अरू विकल्प छैन,’ उनले भने ।

सात वर्षअघि विस्तार थालिएको नारायणगढ–बुटवल सडकखण्डको म्याद गत साउनमा चौथोपटक एक वर्षका लागि थप भएको थियो । सडक स्तरोन्नति गर्न सडक विभाग र चाइना स्टेट इन्जिनियरिङबिच ४ पुस ०७५ मा ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौताअनुसार कम्पनीले ०७९ असारसम्म काम सक्नुपर्ने थियो । तर, त्यस अवधिमा कम्पनीले काम सम्पन्न गर्न सकेन । त्यसपछि तीनपटकसम्म एक–एक वर्ष गर्दै साउन ०८०, साउन ०८१ र साउन ०८२ सम्म काम सक्नुपर्ने गरी म्याद थप गरिएको थियो । पछिल्लोपटक दिइएको म्याद ८ साउनमा सकिएको थियो । त्यो म्यादमा परियोजना निर्माणको काम नसकिएपछि ७ साउन ०८३ सम्मका लागि म्याद थप गरेको हो । हालसम्म परियोजनाको प्रगति ७२ प्रतिशत मात्र छ । स्तरोन्नतिको मुख्य कामअन्तर्गत ११३ किलोमिटर सडकमा ६४ वटा पुल, ४७४ वटा कल्भर्ट, १०६.१७ किलोमिटर नाली छ । त्यस्तै, ७० किलोमिटर चार लेन, २९ किलोमिटर चार लेनसहित दायाँ–बायाँ ६–६ मिटरको सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन स्तरोन्नति हुनुपर्नेछ । अहिले यात्रुले सास्ती भोगिरहेको दाउन्नेको १४ किलोमिटर क्षेत्रमा हो ।

जाममा परेका यात्रुदेखि सवारीचालकका अनुभव
बुटवलका सुशील पाण्डे काठमाडौंमा कलेज बिदा भएपछि शुक्रबार घर फर्किए । बुटवल घर भएका उनी शुक्रबार २ बजे दुम्कीबास आइपुगे पनि पहिरोका कारण साँझ ६ बजेसम्म जाममा परे । साँझ ६ बजेसम्म दुम्कीबासमै जाममा रहेका उनले भने, ‘दाउन्नेको १४ किलोमिटर सडक पार गर्न कति घण्टा लाग्ने हो कुनै ठेगान छैन, शनिबार बुटवल पुगिएला नि ।’ 

भैरहवाबाट भरतपुर बिरामी लिएर हिँडेका ग.२च ३३८ नम्बरका एम्बुलेन्सचालक कृष्णप्रसाद तिवारी बिहान ८ बजे बर्दघाटको उकालो उक्लेका थिए । उनी दाउन्नेको जाम छिचोल्दै दुम्कीबास आइपुग्दा झन्डै साँझको ५ बजिसकेको थियो । उनका अनुसार एम्बुलेन्सलाई पनि दाउन्नेको बाटो पार गर्न नौ घण्टा लागेको थियो । एम्बुलेन्सको पछि–पछि एउटा शववाहन पनि थियो । शववाहनलाई पनि दाउन्ने छिचोल्न आठ घण्टा लागेको थियो । 

भारतको हैदराबादबाट काठमाडौं समान छाड्न आएका लरीचालक सन्तोष यादव बिहीबार साँझ ८ बजेदेखि दाउन्नेको जाममा फसेका थिए । उनी शुक्रबार साँझ ४ बजे मात्र दुम्कीबास आइपुगेका थिए । उनका अनुसार दाउन्नेको उकालो कटाउन लरीलाई करिब १६ घण्टा लागेको थियो । 
 

See More On

सुझावित समाचार