जेन-जीको आन्दोलनमा ६१० प्रहरी घाइते, ६९ जना अझै अस्पतालमा

मंगलबार, ३१ भदौ, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौमा जेन-जी पुस्ताले गरेको आन्दोलनमा ६ सय १० जना प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ तीन सय ८४ तथा सशस्त्र प्रहरी बलतर्फ दुई सय २६ जना घाइते भएका हुन् । 

नेपाल प्रहरीका घाइतेमध्ये ६४ जना अझै अस्पतालमा उपचाररत छन् । त्यस्तै, सशस्त्र प्रहरीका दुई सय २६ घाइतेमध्ये पाँच जना अस्पतालमा रहेको गृह मन्त्रालय स्रोत बताउँछ । 
२३ गतेको आन्दोलनमा बानेश्वरमा आन्दोलनकारीको ढुंगा लागेर केही प्रहरी घाइते भएका थिए  

२४ भदौमा त सिंगो प्रहरी कार्यालयलाई नै आन्दोलनकारीले नियन्त्रणमा लिएर कतिपयलाई कुटपिट गरेका थिए । प्रहरी वृत्त बानेश्वरका प्रहरीलाई त बागमती नदीमा हुलेर कतिपयले ढुंगासमेत हानेका थिए । 

भ्रष्टाचारको विरोधमा भएको सो आन्दोलनमा प्रहरी निसाना बनेको थियो । सो आन्दोलनमा तीन प्रहरीले ज्यान गुमाएका थिए । 

आन्दोलनकारीले काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालय जलाएका छन् । सो घटनापछि प्रहरी अझै पूर्ण रूपमा डिउटीमा खटिन सकेको छैन । प्रहरीका पोसाक र हतियारसमेत लुटिएको थियो । 

सुझावित समाचार