इन्जुरी समयमा सलाहले जिताए लिभरपुललाई

सोमबार, ३० भदौ, २०८२
डिजिटल संस्करण

मोहमद सलाहले अन्तिम इन्जुरी समयको पाँचौँ मिनेटमा गरेको पेनाल्टी गोलको सहयोगमा इंग्लिस प्रिमियर लिगको साबिक विजेता लिभरपुलले आइतबार बर्नलीमाथि १–० को जित निकालेको छ । लिभरपुलविरुद्ध अंक खोस्न लगभग निश्चित देखिएको बर्नलीले इन्जुरी समयमा सामान्य गल्ती गर्दा अंक गुमायो । जरेमिनले डिबक्सभित्र ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको हो । सलाहले कुनै गल्ती नगरी गोल गरे । लिगमा चार खेल समाप्त हुँदा लिभरपुलले शतप्रतिशत नतिजा निकालेको छ । 

१२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको आर्सनलले चार खेलबाट ९ अंक जोडेको छ । आर्सनलले एक खेल गुमाएको छ । यसैगरी टोटनह्यामले चार खेलमा ९ अंक जोडेको छ । गोलअन्तरमा टोटनह्याम तेस्रो स्थानमा छ । ९ अंक बटुलेको बर्नमाउथ चौथो स्थानमा छ । यस सिजन १२५ मिलियन पाउन्डमा लिभरपुलमा अनुबन्ध भएका एलेसान्डर इसाकले बर्नलीविरुद्ध प्रतिस्पर्धा गर्न पाएनन् । बर्नलीले लिभरपुलविरुद्ध बलियो डिफेन्स रणनीति बनाएको थियो । जसकारण लिभरपुलले खेलको अन्तिम समयमा प्राप्त एक मात्र पेनाल्टीमा गोल गरेको हो । घरेलु टोली बर्नलीका गोलरक्षक मार्टिनले केही उत्कृष्ट बचाउ गर्दा लिभरपुल निराश बनेको थियो । गोलरक्षक मार्टिनले डोमिनिक स्जोबोसा तथा फेडेरिकोका राम्रा गोल प्रयासलाई विफल पारेका थिए । 

१० खेलाडीमा सीमित बर्नली
लिभरपुललाई कडा टक्कर दिएको बर्नली खेलको अन्तिम ६ मिनेट दश खेलाडीमा सीमित भएको थियो । खेलको ८४औँ मिनेटमा लेसेल गोचुकाउ दोस्रो पहेँलो कार्ड व्यहोर्दै बाहिरिएका थिए । उनले फलारिन विट्जलाई फल गरेपछि रेफ्री माइकल ओलिभरले रातो कार्ड देखाए । यसअघि लेसेसले एलेक्सिस अलिस्टरमाथि फल गर्दा चेतावनीस्वरूप पहेँलो कार्ड पाएका थिए । त्यसपछि बर्नलीले १० खेलाडीमा प्रतिस्पर्धा गर्यो । यद्यपि, साबिक विजेता टोलीले त्यसको फाइदा लिन सकेन । लिभरपुलले अघिल्लो तीन खेलमा ८०–९० मिनेटभित्र गोल गरेको थियो । यसपटक बर्नलीविरुद्ध पनि यस्तै प्रदर्शन गर्ने अपेक्षा थियो । 

अन्तिम समयमा भाग्यमानी लिभरपुल
यस सिजनमा शतप्रतिशत नतिजा निकालेको लिभरपुलले अन्तिम समयमैतिर गोल गरेको देखिन्छ । घरबाहिर दोस्रोपटक जित निकाल्ने क्रममा इन्जुरी समयमै विजयी गोल गरेको छ । यसअघि न्युकासलविरुद्ध जित निकाल्दा खेलकै इन्जुरी समयमै गोल गरेको थियो । नयाँ सिजनमा खर्चिलो क्लब बनेको लिभरपुलको खेल रणनीतिमा अझै कमजोरी भएको प्रशिक्षक अर्नेले बताए । ‘लगातार चार खेलमा जित निकाले पनि हाम्रो रणनीति अझै मिलेको छैन,’ उनले भने, ‘फिनिसिङ लाइनअप बलियो भए पनि सहज गोल निस्किरहेको छैन ।’ 

सुझावित समाचार