सहिद परिवार प्रधानमन्त्री भेट्न दिनभर बालुवाटारमा, भेट नै नदिई निकालिएपछि मध्यराति धर्नामा

सोमबार, २९ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका सहिद परिवारले आइतबार बेलुका प्रधानमन्त्रीनिवास बालुवाटारअगाडि धर्ना दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिबद्धताबमोजिम आफूहरूको माग पूरा नगरेको र दिनभर कुराएर भेटसमेत नदिई बालुवाटारबाट निकालेको भन्दै उनीहरू आक्रोशित भई प्रधानमन्त्रीनिवासको गेटमा राति धर्ना दिएका हुन् । आफूहरूलाई बेवास्ता गरी प्रधानमन्त्री कार्की सत्ताको खेलमा लागेको गुनासो उनीहरूको छ । धर्नामा जेन–जी समूहको नेतृत्व गरिरहेका सुदन गुरुङ आफ्नो टिमसहित पुगेका थिए । उनले सहिद परिवारको कुरा बालुवाटारभित्र पुर्‍याउने प्रयास गरे पनि सम्भव भएन । 

सहिद परिवारका सदस्यले पाँचवटा माग अघि सारेका छन् । मृतकलाई राष्ट्रिय सहिद घोषणा गर्ने,  उनीहरूको राजकीय अन्त्येष्टि र शवयात्रा गरिदिने पहिलो माग छ । दोस्रोमा परिवारलाई उचित क्षतिपूर्तिका साथै रोजगार, बिमा, शिक्षाको प्रबन्ध गर्नुपर्ने दोस्रो माग छ । तेस्रोमा अब बन्ने विभिन्न समितिहरूमा सहिद परिवारको प्रतिनिधित्व हुनुपर्ने माग अघि सारेका छन् । चौथोमा विमानस्थलमा फोटोहरू राखेर सहिदप्रति सम्मान दिनुपर्ने र पाँचौँ माग सालिकसहित एउटा सहिद पार्क बनाइदिनुपर्ने रहेको छ । प्रधानमन्त्री कार्कीले शनिबार सहिद परिवारसँगको भेटमा मागहरू सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाएकी थिइन् । आइतबार बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्रीको आमन्त्रणअनुसार आठ बजे नै बालुवाटार पुगेका सहिद परिवारले रातिसम्म पनि प्रधानमन्त्री भेट्न पाएनन् । राति १० बजेपछि सेनाले उनीहरूलाई बाहिर निकालेपछि आक्रोशित  बनेका उनीहरूले गेटमा धर्ना दिएका हुन् ।

‘हिजो हामीलाई तपाईंहरूका सम्पूर्ण माग पूरा हुन्छन्, बिहान नाै बजे आउनु भन्नुभएको थियो,’ धर्नामा बसेका सहिद परिवारका सदस्य कमल सुवेदीले भने, ‘दिनभरि झुलाइदिए । हुन्छ–हुन्छ भनेर बालुवाटारमा कुराएर राखे । १० बजे राति निस्केर जाऊ भने ।’

आन्दोलनमा भान्जा रोशन न्यौपाने गुमाएका सुवेदी प्रधानमन्त्रीले सहिद परिवारको भावनासँग खेलबाड गरेको गुनासो गर्छन् । ‘बिहान आठ बजे नै आयौँ । कुरायो–कुरायो । शपथग्रहण छ भनेर कुरायो । दिउँसो मागहरू सिंहदरबारमा दर्ता गराएर आउनु भन्यो । हामी दर्ता गराएर आयौँ । गर्दा–गर्दा रात पर्‍याे । आठ बज्यो । आजै निर्णय हुन्छ । प्रधानमन्त्रीनिवासको कार्यकक्षबाहिर कुरेको कुरेकै भयौँ । मन्त्री बनाए कि के गरे अर्को गेटमा निस्किए । उताबाट गए । १० बजिसकेपछि आर्मीले यहाँ बस्न मिल्दैन भन्यो । हाम्रो माग पनि सम्बोधन भएन, त्यसरी बाहिर निकालियो,’ उनले भने, ‘हाम्रो मागहरू हिजै मौखिक सहमति भई गर्दिन्छु भन्नुभएको थियो । आज बिहान नाै बजे गर्ने भन्ने भएको थियो । अन्तिममा राति १० बजेसम्म कुराएर हामीलाई निकालियो ।’

आफूहरूले जायज माग नै राखेको उनको भनाइ छ । ‘यति मागलाई खासै ठुलो कुरा थिएन । तर, गर्ने भन्दाभन्दै हाम्रै भावनासँग खेलियो । हाम्रै बलिदानबाट बनेको सरकारले हामीमाथि खेलबाड गरिदिँदा दुःख लागेको छ । बलिदानीबाट बनेको प्रधानमन्त्रीसँग आस थियो । केही पनि गर्दिनुभएन,’ सुवेदीले भने ।

सोमबार बिहानै आउने गरी उनीहरू मध्यराति घर गएका छन्। 

सुझावित समाचार