जेन–जी आन्दोलनपछि प्रमुख दलहरूमा बढ्दै पुस्तान्तरण बहस

कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष नेपालको अवकाशको माग

आइतबार, २९ भदौ, २०८२
डिजिटल संस्करण

सत्ता ढाल्ने गरी भएको जेन–जी आन्दोलनपछि प्रमुख दलहरूमा पुस्तान्तरणको बहस अघि बढेको छ । कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीका दोस्रो र तेस्रो तहका नेताहरूले नेतृत्व हस्तान्तरणको माग गर्न थालेका छन् । तर, शीर्ष नेताहरू भने अझै मौन छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा अस्पतालमा उपचाररत छन् । एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अझै सेनाको सुरक्षामा छन् । ठूला दलका शीर्ष नेतृत्वप्रति जेन–जी पुस्ताले आक्रोश पोखे पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणबारे मौन रहेपछि दोस्रो र तेस्रो तहका नेताहरू खुलेर बोल्न थालेका हुन् ।

जेन–जी पुस्ताको माग सम्बोधनको सट्टा नृशंस दमनको बाटो अख्तियार गरेको र देश चलाउन सत्तापक्ष कांग्रेस–एमाले शीर्ष नेतृत्व असफल भएको भन्दै ती पार्टीहरूमा पुनर्गठनको आवाज मुखरित बन्न थालेको हो । संसद् विघटनप्रति असहमति जनाउँदै प्रमुख पार्टीभित्र दोस्रो तह र तलतलका नेता–कार्यकर्ताले पुनर्गठनको मुद्दालाई मुखर बनाउँदै गएका छन् । दोस्रो तहका नेताहरूले मिलेर वक्तव्य जारी गर्दै असफल पूर्वप्रधानमन्त्रीहरू सबैले नेतृत्व हस्तान्तरण गरेर राजनीतिबाट अवकाश लिन माग गरेका थिए । कांग्रेस र एमालेले पछिल्लो घटनाक्रमको गम्भीर समीक्षा गरेर अगाडि बढ्ने बताएर पुनर्गठनमार्फत अगाडि बढ्ने संकेत गरेका छन् । 

कांग्रेस नेता शेखर कोइरालाले देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको भन्दै कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । त्यस्तै, माग महामन्त्री गगन थापाले बिहीबारै सार्वजनिक गरेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि शनिबार भिडियो वक्तव्यमार्फत नेतृत्व फेर्नुपर्ने सन्देश सम्प्रेषण गरेका छन् ।

‘जसरी देशमा नयाँ सम्भावना प्रकट भइरहेका छन् । नयाँ घटना अगाडि आएका छन् । यी सबैको संवाहक भएर नेपाली कांग्रेस अगाडि आउनुपरेको छ । कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाईं–हामी सबैको हो । यसका लागि देशव्यापी बहस, छलफल र विवेकपूर्ण कदम कसरी अगाडि बढाउने भनी म तपाईंहरूबिच दसैँलगत्तै देशव्यापी रूपमा आउनेछु,’ कोइरालाले भनेका छन् । 

जेन–जी आन्दोलनले पार्टी सत्ताबाट बाहिरिनुपरेको घटनाको समीक्षामा उनले जोड दिएका छन् । ‘समयको पदचापअनुरूप हामी हिँड्न नजान्दा जेन–जीको आन्दोलनले दुई ठुला राष्ट्रिय दललाई सत्ताबाट बाहिरिन बाध्य पार्‍यो । नेपाली समाज र यहाँका ऊर्जावान् युवाहरू एकातिर छन्, कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भुल भए, हामी चुक्यौँ,’ कोइरालाले भनेका छन्, ‘समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्रनिर्माणमा हामी समर्पित हुनेछौँ भन्ने प्रण गर्छौँ ।’

महामन्त्री शर्माले सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । ‘मैले पार्टीमा पनि कुरा राखेको हुँ, तर निर्णय गराउन सकिनँ, चुनाव हुन्छ । नयाँ सरकार बन्छ प्रधानमन्त्री उनीहरू नै । उहाँले अहिले छोड्नुहुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने, त्यसैले अब यसलाई सिस्टममा ल्याऔँ । विधिमा ल्याऔँ । ताकि भोलि गगन–विश्वको पुस्ताले नेतृत्व गर्दैगर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस्,’ शर्माले भिडियो सन्देशमा भनेका छन् ।

एमालेमा बढ्दै छ ओलीले नेतृत्व छोड्नुपर्ने मत 
जेन–जी आन्दोलनले सरकार र पार्टी दुवैतिर प्रधानमन्त्री केपी ओलीको नेतृत्वमाथि प्रश्न उठाएपछि एमालेभित्र उनले असफलताप्रति आत्मालोचित हुँदै जिम्मेवारी छाड्नुपर्ने मत मुखर बन्दै गएको छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, कर्ण थापा, गोकुल बाँस्कोटा, उषाकिरण तिम्सेना हुँदै थुप्रै केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहका नेताहरूले मात्र होइन, जनवर्गीय संगठनहरूले पनि पार्टी पुनर्गठनका लागि ओली नेतृत्वबाट बाहिरिनुपर्ने मत उठाउन थालेका छन् । कतिपय ओलीका अलावा महासचिव शंकर पोखरेल र सल्लाहकारको समेत भूमिकामा रहेका उपमहासचिव विष्णु रिमालले पनि जिम्मेवारी छाडेर पार्टीलाई जेन–जीको भावनाअनुरूप देशव्यापी रूपमा पुनर्गठित गर्नुपर्ने माग गरिरहेका छन् । नेतृ तिम्सेनाले सबैभन्दा पहिले अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने आवाज उठाएकी हुन् ।

२६ भदौमा केन्द्रीय सचिवालयको निर्णय सार्वजनिक गर्दै महासचिव पोखरेलले परिस्थिति सामान्य हुनेबित्तिकै आत्मसमीक्षा हुने भन्दै पुनर्गठनतर्फ अघि बढ्न सकिने संकेतसम्म गरेका छन् । तर, अध्यक्ष ओलीनिकट नेताहरू कसैले पनि उनको विकल्प खोजेर अघि बढ्नुपर्ने मत राखेका छैनन् । ‘स्थिति सामान्य हुनासाथ पार्टीको बैठक बसेर समग्र स्थितिको समीक्षा गरिनेछ । हाम्रो भूमिकाको पनि आवश्यक आत्मसमीक्षा हुनेछ र आगामी कामबारे औपचारिक निर्णय गरिने नै छ,’ पोखरेलको पछिल्लो वक्तव्यमा भनिएको छ । 

एमाले सचिव भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने भन्दै शनिबार भिडियो सन्देशमार्फत पार्टीको नेतृत्व पुनर्गठन हुने बताएका छन् । ‘पार्टीलाई गतिशील बनाउन युवाहरूको आवश्यकता छ । एमाले युवाहरूले बनाएको पार्टी हो र विगतमा युवाहरूले नै नेतृत्व गर्दै आएको पार्टी हो । अहिले पार्टीभित्र पुरानो पुस्ता छ, बिचको पुस्ता छ, नयाँ पुस्ता छ । तर, नयाँ पुस्ता अलि कम छ । जेन–जी पुस्ता किन आइरहेको छैन । कडी किन टुटिरहेको छ ? यसको हामीले गम्भीर समीक्षा गर्नेछौँ,’ भट्टराईले भने, ‘यतिवेला पार्टी पुनर्गठन हाम्रो महŒवपूर्ण मुद्दा हो । नेतृत्व कार्यशैली थुप्रै कुरामा पुनर्गठन गर्नुपर्छ । त्यो पुनर्गठन हामी गर्छाैँ । यो युवामुखी, जनमुखी देशभक्त, प्रगतिशील हुन्छ । हामी पार्टीमा संरचनागत सुधार गर्छौँ, तपाईंहरूले एमालेप्रति भरोसा गर्नुस् । एमाले अन्यथा जाँदैन ।’

अहिलेको संविधान खारेज गर्न नदिइने उनको भनाइ छ । ‘यो संविधान खारेज भयो भने अर्को संविधान बनाउन सजिलो छैन । संविधानलाई लिकमा फर्काउन, लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन,’ भट्टराईले भने, ‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूर्वक अघि बढ्नुको विकल्प छैन । प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौँ तपाईंहरूका हरेक कदम संवैधानिक होऊन् । हामी समर्थन गर्छौँ ।’

स्थायी समिति सदस्य बिन्दा पाण्डेले पनि पार्टी नेतृत्व र कार्यशैलीमा पुनर्गठन गरिनुपर्ने धारणा सार्वजनिक गरेकी छिन् । ‘नागरिक बलियो भएमा लोकतन्त्र सुदृढ हुन्छ र सदस्यको सक्रिय सहभागिताले दलहरू बलियो बनाउँछ भन्ने मान्यताका आधारमा पार्टी नेतृत्व पुनर्गठन र कार्यशैली परिवर्तन गरी अगाडि बढ्नु अबको आवश्यकता हो,’ उनले भनिन्, ‘विगतको समीक्षा गरौँ । विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार गरी सिंगो पार्टीपंक्ति र आमनागरिकसमक्ष आत्मालोचना गर्दै कमजोरीलाई सच्याएर अगाडि बढ्नुको विकल्प छैन ।’ पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नीति र विधिको रक्षा भएपछि स्वत: नेतृत्वको रक्षा हुने भन्दै पार्टीलाई त्यसरी पुनर्गठनमा लैजानुपर्ने धारणा राखेका छन् ।  

माओवादीमा शर्मा र एकीकृत समाजवादीमा भुसालले दबाब बढाउँदै
माओवादीमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व पुस्तान्तरणको विषय अघि सार्दै आएका छन् । जेन–जी आन्दोलपछि अन्य नेताहरू पनि पुस्तान्तरणको बहसमा उत्रिएका छन् । ‘संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन् । अब आन्दोलनको म्यान्डेट र जनअपेक्षाअनुसार गम्भीर आत्मसमीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गरौँ,’ शर्माले भनेका छन् । संसद् विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार रहेको शर्माको दाबी छ । ‘पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूका लागि यो ठुलो विषय नहुन सक्छ । तर, इतिहासले यसको मूल्यांकन गर्नेछ,’ उनले भनेका छन् । उनले पछिल्लो समय पार्टी पुनर्गठनको माग गर्दै आएका थिए ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले १०औँ महाधिवेशनमा नेतृत्व पुस्तान्तरणको विषय अघि सारेका थिए । अध्यक्षमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिस्पर्धाको तयारी गरे पनि अन्तिममा ब्याक भएका थिए । जेन–जीको आन्दोलनपछि भुसालले नेतृत्व पुस्तान्तरण र समग्र वाम एकतामा जोड दिएका छन् । ‘यो त गणतन्त्रलाई बिर्ता ठान्ने केवल केही नेताहरूको असफलता हो, ती नेताका स्वार्थको लक्ष्मणरेखा नाघेर अगाडि बढ्न नसक्ने हाम्रो नादानीको असफलता हो । यस वास्तविकतालाई आत्मसात् गर्न सक्यौँ भने हामीले हतास, पलायन र आत्मसमर्पणलाई सजिलै जित्न सक्छौँ । अझ बढी धैर्यता, दूरदृष्टि र हिम्मतका साथ परिस्थितिको मूल्यांकन गर्दै हाम्रा अभिभारा निर्धारण गरौँ । अब हामीलाई बाटो देखाउन कुनै महापुरुष बाँकी छैन । परिस्थिति नयाँ छ, त्यसैले नयाँ परिस्थितिको विचार, राजनीति र संगठनका साथै नयाँ नेतृत्व निर्माण गर्दै अघि बढौँ,’ उनले भनेका छन् । 

सुझावित समाचार