गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री कार्यालय अस्थायी रूपमा सुरु

शनिबार, २८ भदौ, २०८२
डिजिटल संस्करण
गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री कार्यालय अस्थायी रूपमा सुरु

सिंहदरबारको पूर्वी गेटबाट उत्तरखण्डमा गृह मन्त्रालयको नवनिर्मित भवनमा प्रधानमन्त्री कार्यालय अस्थायी रूपमा सञ्चालन हुनेछ । नजिकैको प्रधानमन्त्री कार्यालयमा गत मंगलबार आगजनी भएको थियो । हाल गृह मन्त्रालय रहेको भवन पनि आगजनी भएको थियो । तस्बिर : अमुल थापा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अस्थायी रूपमा गृह मन्त्रालयका लागि निर्माण गरिएको सिंहदरबारकै नयाँ भवनबाट कार्य सञ्चालन गर्ने निर्णय गरेको छ । जेन–जी पुस्ताले नेतृत्व गरेको आन्दोलनमा सिंहदरबारभित्रै भएको व्यापक तोडफोड र आगजनीले कार्यालयबाट काम गर्न नसक्ने अवस्था देखिएपछि विकल्प खोजिएको हो ।

तोडफोड र आगजनीले प्रधानमन्त्री कार्यालय बस्नै नमिल्ने अवस्थामा पुगेपछि कार्यालयले यसको अस्थायी व्यवस्थापनका लागि गृह मन्त्रालयले आफ्ना लागि बनाएको सिंहदरबारकै नयाँ भवनमा सार्ने निर्णय लिएको हो । अघिल्लो दिन नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री बनाउने विषयमा राजनीतिक सहमति बनिसकेको थियो । यस्तो वेला नयाँ प्रधानमन्त्रीलाई काम गर्ने ठाउँको व्यवस्थापनको चटारो कार्यालयलाई आयो । 

शुक्रबार बिहानैदेखि प्रधानमन्त्री कार्यालयका कर्मचारी प्रधानमन्त्रीका लागि अफिसको सेटअपमा जुटेका थिए । क्षतिग्रस्त कार्यालयमा बचेखुचेका र प्रयोग गर्न मिल्ने सामान नयाँ भवनमा सार्न थाले । शुक्रबार दिउँसो नयाँ पत्रिका टिम गृह मन्त्रालयको नयाँ भवनमा पुग्दा कार्यालयका सहसचिवदेखि अरू कर्मचारी पनि प्रधानमन्त्रीको कार्यकक्ष बनाउन जुटिरहेका थिए ।

भवनको पहिलो तलामा कर्मचारी प्रधानमन्त्रीका लागि कार्यकक्ष, बैठक हल र मन्त्रिपरिषद् बैठक बसाल्ने कोठाको व्यवस्थापन र सजावटमा व्यस्त थिए । आफ्नो भवन, संरचना र उपयोगी वस्तु खरानी नै भएपछि तत्कालै नयाँ व्यवस्थापनले कार्यालयका कर्मचारीलाई चटारो बढाएको थियो ।

तोडफोड र आगजनीको ताजा अवस्थामै अरू मन्त्रालयमा कर्मचारी आउन थालेकै छैनन् । तर, कार्यालयका कर्मचारी भने हतारहतार कार्यालय व्यवस्थापनका लागि काममा जुटिरहेका थिए । सचिवदेखि तल्ला तहका कर्मचारी नै प्रधानमन्त्री कार्यालयको ‘सेटअप’मा काम गरिरहेका थिए ।

आगलागी भएको आफ्नो भवनमा क्षति हुनबाट जोगिएका र प्रयोग गर्न मिल्ने फर्निचर, कार्पेट, सोफालगायत वस्तुहरू पुछपाछ गरेर कर्मचारीले नयाँ कार्यालयमा मिलाइरहेका थिए । प्रधानमन्त्री बस्नका लागि कुर्सी–टेबुल, एउटा बैठक कोठा र मन्त्रिपरिषद् बैठक बस्ने गरी अर्को नयाँ हल मिलाउन कर्मचारीले काम गरिरहेका थिए । शुक्रबार ३ बजे कार्यालय समय सकिने भए पनि साढे ४ बजेसम्म पनि कर्मचारीहरू काम गरिरहेका थिए ।

मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्यालयको भवनमा क्षति पुगेकाले मर्मतसम्भार भएर सञ्चालनमा आउने अवस्था नहुन्जेल गृहको नयाँ भवनबाट कार्यारम्भ गर्न लागिएको बताए ।

गृह मन्त्रालय बस्ने गरी केही समयअघि मात्र यो भवनको निर्माण सम्पन्न भएको थियो । ५६ करोड ४३ लाख ६३ हजार रुपैयाँ लागतमा बनेको यो भवन सिंहदरबारमा बनेकामध्येकै अत्याधुनिक छ । कार्यालयका प्रवक्ता शर्माले कार्यालय भवनमा क्षति हुनबाट जोगिएका फर्निचरलगायत सामान नयाँ भवनमा सारिएको छ । ‘कार्यालयमा भएका र क्षति हुनबाट जोगिएका फर्निचरलगायत सामान ल्याएर यहाँ व्यवस्थापन गरिरहेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

कार्यालयले अहिले हतारमा प्रधानमन्त्री र मुख्यसचिवको कार्यकक्ष मात्र तयार गर्न भ्याएको छ । आगामी सातादेखि कार्यालय कार्यसञ्चालन गर्न सक्ने गरी व्यवस्थापन गरिने प्रवक्ता शर्माले बताए ।

भूकम्पले भत्किएर पुनर्निर्माण गरिएको दुई वर्षमै फेरि अर्को क्षति व्यहोर्यो प्रधानमन्त्री कार्यालयले 
जेन–जी आन्दोलनपछिको परिस्थिति तोडफोड र आगजनीतर्फ गयो । यसबाट सिंहदरबारका अधिकांश मन्त्रालय र कार्यालयमा क्षति पुगेको छ । आन्दोलनकारीले मन्त्रालय र कार्यालयमा छिरेर आगजनी र तोडफोड गरेका छन् ।

सिंहदरबारभित्र आन्दोलनकारीले मुख्य ‘टार्गेट’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गरेको देखिएको छ । उनीहरूले कार्यालयमा आगजनी र व्यापक तोडफोड गरेका छन् । त्यसबाट कार्यालय पूर्णजसो क्षति भएको छ । 

०७२ को भूकम्पले क्षति पुगेको यो पुरातात्विक भवन प्रबलीकरण गरेर साबिककै शैलीमा पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माण गरेर ०८० मंसिरदेखि प्रयोगमा ल्याइएको भवन दुई वर्षमै आगजनीले पुन: क्षतिग्रस्त हुन पुगेको छ ।

कार्यालयका प्रवक्ता रविलाल शर्माका अनुसार आगजनी र तोडफोडबाट प्रधानमन्त्री कार्यालयको मूलगेटदेखि नै क्षति भएको छ । ‘आगजनीबाट प्रधानमन्त्रीको कार्यकक्ष, प्रशासन महाशाखा खरानी नै भएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अन्य महाशाखा र शाखा कुनै पनि सद्दे अवस्थामा छैनन् ।’ 

भवनका टेबुल, सिसा, झ्यालढोका र सवारीसाधनमा पनि ठुलो क्षति पुगेको छ । दुई दिनअघि लागेको भवनको आगो शुक्रबार दिउँसोसम्म निभेको थिएन । शुक्रबार सेनाको दमकलले आगो निभाएको थियो । 

गृह र शिक्षा मन्त्रालयमा पनि अधिक क्षति, अन्तै सारिने 
आगजनी र तोडफोडले गृह मन्त्रालयमा पनि अत्यधिक क्षति भएको छ । मन्त्रालयपरिसरमा दर्जनभन्दा बढी सवारीसाधनमा आगजनी गरिएको छ । मन्त्रालयभित्र पनि केही शाखाबाहेक सबैमा आगजनी र तोडफोड गरिएका छन् । मन्त्री र सचिवको कार्यकक्ष पूरै जलाइएका छन् । ठुलो क्षतिका कारण बस्न र काम गर्न नमिल्ने भएपछि मन्त्रालयलाई सिंहदरबारकै अर्को भवनमा सार्न लागिएको छ । पुरानो सामान्य प्रशासन मन्त्रालय रहेको हाल उद्योग मन्त्रालयपछाडिको भवनमा गृह मन्त्रालय स्थानान्तरण गर्न लागिएको छ । त्यस भवनमा परराष्ट्र मन्त्रालय सार्ने तयारी भइरहेका वेला आकस्मिक निम्तिएको संकटले गृहलाई त्यहाँ स्थानान्तरण गर्न लागिएको हो । उक्त भवनमा पनि सामान्य क्षति छ । तर, बस्न मिल्ने अवस्था रहेकाले गृह मन्त्रालय स्थानान्तरण गर्न खोजिएको हो ।

यसैगरी शिक्षा मन्त्रालयमा आगजनी र तोडफोडको क्षति छ । शिक्षा मन्त्रालयभित्र आगो लगाइएको छ भने तोडफोडसमेत गरेर क्षति निम्त्याइएको छ । भवनमा क्षति भएर कार्यसञ्चालन गर्ने अवस्था नभएपछि मन्त्रालयलाई पनि स्थानान्तरण गर्न लागिएको छ । शिक्षा मन्त्रालयलाई लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनमा सार्न लागिएको छ ।

अरू मन्त्रालयमा पनि क्षति, केही जोगिए 
आगजनी र तोडफोडबाट सिंहदरबारका अन्य मन्त्रालयमा पनि क्षति पुगेका छन् । ऊर्जा मन्त्रालयको भवन र परिसरमा रहेका ठुलो संख्याका सवारीमा तोडफोड र आगजनी गरिएको छ । त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि आन्दोलनकारीले निसाना बनाएका छन् । मन्त्रालयका केही महाशाखा र सवारीमा क्षति पुगेको छ । मन्त्रालयपरिसर र आसपास रहेका ठुलो संख्याका सवारीसाधन जलेर खरानी भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालय रहेको भवन र मन्त्रालयका शाखा–महाशाखामा क्षति पुगेका छन् । मन्त्रालयपरिसरमा रहेका दर्जनौँ सवारीसाधन पनि जलेर नष्ट भएका छन् । कृषि मन्त्रालयमा पनि आन्दोलनकारीले ठुलो क्षति पुर्याएका छन् । राष्ट्रिय सतर्कता केन्द्रमा आन्दोलनकारी प्रवेश गरेर आगजनी र तोडफोड गरेका छन् । राष्ट्रिय अनुसन्धान विभागको अगाडिको भागमा पनि आन्दोलनकारीले केही क्षति पुर्याएका छन् । नेपाल टेलिभिजनमा आगजनी र तोडफोड भएको छ ।

अर्थ मन्त्रालयमा पनि केही आगजनी गरिएको छ भने परिसरमा रहेका गाडी जलाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, सहरी विकास मन्त्रालय र महिला, बालबालिका मन्त्रालयमा केही सवारी तोडफोड गरिएका छन् । भूमि व्यवस्था, वन, कानुन, सहरी विकास मन्त्रालयमा खासै क्षति छैन । श्रम, रक्षा, पर्यटन र उद्योग मन्त्रालय क्षतिरहित देखिएका छन् । संघीय संसद् सचिवालय, योजना आयोग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई आन्दोलनकारीले छोएका छैनन् ।

कार्यसञ्चालनको अन्योल 
आगजनी र तोडफोडले मन्त्रालय तथा कार्यालयमा क्षति पुगेपछि कार्यसञ्चालनमा अन्योल भएको छ । अन्योल चिर्ने र नियमित कार्यसञ्चालनबारे अहिले मुख्यसचिव र सचिवहरूबिच छलफल जारी छ । शुक्रबार मुख्यसचिव अर्यालले सिंहदरबारभित्र तोडफोड र आगजनीबाट भएको क्षतिको अवलोकनसमेत गरेका छन् । 

‘क्षतिको अवस्था हेरेर कार्यसञ्चालन गर्नेबारे मुख्यसचिव र सचिवज्यूहरूबिच छलफल भइरहेको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता शर्माले भने, ‘क्षति नभएका वा कम भएकामा कार्यसञ्चालन गर्न खासै अवरोध छैन । अरूको हकमा पनि बिस्तारै काम अघि बढ्छ ।’ सिंहदरबारभित्र आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण संकलनको कामसमेत अघि बढाउन लागिएको छ ।
 

सुझावित समाचार