जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, १२ शव आफन्तले बुझे

शनिबार, २८ भदौ, २०८२
डिजिटल संस्करण
जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, १२ शव आफन्तले बुझे

मृतकहरूको पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदै । तस्बिर : सतिश पोखरेल

सत्ता उलेटफेर गर्ने गरी दुई दिन चलेको जेन–जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २१ जना जेन–जी उमेर समूह, नौजना कैदीबन्दी, १८ जना जेन–जीबाहेकका प्रदर्शनकारी, तीनजना प्रहरी गरी ५१ जनाको मृत्यु भएको हो ।

प्रदर्शनका क्रममा गोली लागेर, जलेर, कुटपिटलगायत कारणले ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीका विनोद घिमिरेले बताए । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराका अनुसार १३ जनाको पोस्टमार्टम भएकामा १२ जनाको शव आफन्तले बुझेका छन्् । शुक्रबार शव बुझेकामध्ये धेरैजसोले पशुपति आर्यघाटमा दाहसंस्कार गरेका छन् । ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन युवाहरूको समूह शुक्रबार पशुपति आर्यघाटमा पुगेको थियो । 

ज्यान गुमाउनेमध्ये कैयौँको नाम र ठेगाना यकिन हुन नसकेकाले शव अस्पतालमा रहेको उनले बताए । ‘अझै केहीको शव पोस्टमार्टम गर्न बाँकी छ । कतिपयको आफन्त सम्पर्कमा आउनुभएको छैन,’ उनले भने । 

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदर्शनमा देशभर एक हजार ७६० जना घाइते भएका थिए । ३२२ घाइते उपचाररत छन् भने अन्य डिस्चार्ज भइसकेका छन् । मन्त्रालयका अनुसार २३ र २४ भदौमा भएको प्रदर्शनमा गोली लाग्दा सबैभन्दा धेरै ४४२ जना घाइते नजिकैको निजामती अस्पतालमा ल्याइएको थियो ।

त्यस्तै, ट्रमा सेन्टरमा १६९ र एभरेस्ट अस्पतालमा १०९ जना घाइतेलाई उपचारका लागि लगिएको थियो । ट्रमा सेन्टरमा ५८ जना अझै उपचाररत छन् । निजामती अस्पतालमा ४८ जना उपचाररत छन् ।

झापास्थित बी एन्ड सी अस्पतालमा ५३ जना उपचाररत छन् । केएमसीमा ३५ र त्रिवि शिक्षण अस्पतालमा ३५ जनाको उपचार भइरहेको छ । त्यस्तै, नेपाली सेनाको अस्पताल वीरेन्द्र सैनिकमा २६ जनाको उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सबै घाइतेको नि:शुल्क उपचार भइरहेको र उपचारमा मेडिकल टिम सक्रिय रूपमा लागिरहेको जानकारी दिए । 

सुझावित समाचार