खुल्न थाले बैंक तथा वित्तीय संस्था

बैंक, वित्तीय संस्था र बिमा कम्पनीले सीमित कर्मचारी राखेर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दिए सेवा

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जीको आन्दोलनपछि नेपाली सेनाले जारी गरेको निषेधाज्ञाका कारण बन्द भएका बैंक तथा वित्तीय संस्था खुल्न थालेका छन् । जेन–जी आन्दोलनपछि सेनाद्वारा जारी निषेधाज्ञा र कफ्र्युपछि बन्द रहेका बैंकका शाखाहरू बिहीबारदेखि निश्चित संख्यामा चलाउन नेपाल बैंकर्स संघले निर्णय गरेको हो ।  

काठमाडौं उपत्यका र देशका अन्य जिल्लाहरूका सुरक्षित स्थानमा रहेका वाणिज्य बैंकका शाखा सञ्चालनमा ल्याउने गरी बैंकरहरूबिच सहमति भएको हो । 

काठमाडौं उपत्यकाभित्र काठमाडौं जिल्लामा तीनवटा, ललितपुर र भक्तपुरमा दुई–दुईवटाका दरले बैंकका शाखा खुलाउने सहमति गरिएको संघका प्रवक्ता अनिल शर्माले जनाए । सीमित कर्मचारी राखेर बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्मका लागि शाखा सञ्चालनमा ल्याउने उल्लेख छ । उनले भने, ‘काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाहरूमा भने जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षित स्थानमा रहेका बैंकका शाखा सञ्चालनमा ल्याउने सहमति भएको छ ।’

नेपाल राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुरु गर्न निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले अन्य प्रणालीलाई जोखिमका आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन हुने व्यवस्था मिलाउन केन्द्रीय बैंकले भनेको छ । केन्द्रीय बैंकले भनेको छ, ‘आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको मिति ०८२/०५/२५ मा जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुने गरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्नुहुन र अन्य प्रणालीको हकमा जोखिमका आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन साथै सञ्चालनमा आएका शाखा, एटिएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुहुन यो सूचना जारी गरिएको छ ।’

त्यस्तै, बिमा कम्पनीहरूका कर्मचारीहरूले हालसम्म घरबाटै काम गरिरहेका छन् । प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बुधबार ‘वर्क फ्रम होम’मार्फत कार्यालय सञ्चालन गर्न सूचना जारी गरे पनि हालसम्म केही थप निर्णय नगरिएको  बताए । उनले भने, ‘सेनासँगको समन्वयमा कसरी बिमा कम्पनी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरेर शुक्रबारसम्ममा आवश्यक निर्णय लिनेछौँ ।’
 

See More On

सुझावित समाचार