धुवाँको मुस्लो हटेसँगै खुल्यो त्रिभुवन विमानस्थल

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनपछि शान्तिसुरक्षा कायम राख्न उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्यु आदेशपछि मंगलबारदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  बुधबार खुलेको छ । मंगलबार अपराह्न ११.३० बजे प्राधिकरणले एयरपोर्ट बन्द रहेकाले आवतजावत नगर्न आग्रह गरिएको थियो । बुधबार दिउँसो ३:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकले एयरपोर्ट खुला गर्ने निर्णय गरेको हो । 

उपत्यकाभित्रको विषम परिस्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँलगायतले विमानको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै विमानस्थल बन्द गरिएको थियो । तर, धुवाँको मुस्लो हट्न थालेसँगै विमानस्थल सुचारु ढंगले खुला गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । 

बुद्ध एयरले विषम परिस्थितिका कारण बुधबारका सम्पूर्ण उडान रद्द भए पनि  उडानलाई पुनर्तालिकीरण गरेर यात्रुलाई सहजीकरण गरिरहेको पनि उल्लेख गरेको छ । नेपाल वायु सेवा निगमले उडान तालिका सार्वजनिक गरेर यात्रुहरूलाई सम्प्रेषण गर्ने जनाएको छ । निगमले मंगलबारका लागि निर्धारित तीन अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो । तर, हालसम्म नयाँ उडान तालिका सार्वजनिक गरेको छैन । उडान पुन: सुरु हुनेबारे निगमले समयमै जानकारी दिने जनाएको छ । थप जानकारीका लागि यात्रुहरूले बिक्री कार्यालय, टिकट जारी गर्ने एजेन्ट वा विमानस्थलका कर्मचारीहरूसँग सम्पर्क राख्न सक्ने निगमले आग्रह गरेको छ ।

कर्फ्यु आदेशले असहज परिस्थिति सिर्जना भएको भन्दै यती एयरलाइन्सले पनि मंगलबार नै सूचना जारी गरिसकेको छ । टिकट रद्द वा पुन: तालिकाबद्ध गर्न सकिने पनि जनाएको छ । कोरियन एयरले नेपालमा राजनीतिक अस्थिरताका कारण काठमाडौं विमानस्थलमार्फत हुने उडानमा ढिलाइ तथा रद्द हुने जनाएको बताए ।

एयरलाइन्सले मंगलबारदेखि ३० सेप्टेम्बरसम्मका उडान प्रभावित हुने जनाएको छ । कम्पनीले यात्रुहरूलाई प्रभावित हुने उडान र समय परिवर्तन हुन सक्ने भन्दै आफ्नो उडान स्थितिबारे अग्रिम जानकारी लिन आग्रह गरेको छ । कोरियन एयरले काठमाडौं हुँदै गन्तव्यमा जान, आउन वा ट्रान्जिट गर्ने यात्रुहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ । श्रीलंकन एयरलाइन्सले काठमाडौंतर्फको उडान स्थगित गरिएको सूचना जारी गरिसकेको छ । 
 

See More On

सुझावित समाचार