- जेन–जीको ठुलो समूहले प्रस्ताव गर्यो पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम, बालेनले पनि जनाए समर्थन, प्रधानसेनापति सिग्देलले आज सबै पक्षसँग संयुक्त छलफल गर्ने
प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रधानसेनापति अशोकराज सिग्देलले छलफल अघि बढाएका छन् । मंगलबार राति वार्ताका लागि आह्वान गरेका उनले बुधबार दिनभर विभिन्न पक्षसँग संवाद गरेका छन् । थप छलफलका लागि बिहीबार बिहान सबै पक्षको बैठक डाकेका छन् ।
सैनिक स्रोतका अनुसार जेन–जीको आन्दोलन र मागअनुसार अन्तरिम सरकार गठनका लागि चरणबद्ध छलफल गरेका प्रधानसेनापति सिग्देलले आन्दोलनरत पक्षलगायत सरोकारवाला सबै पक्षसँग बिहीबार बिहान ८:३० मा जंगी अड्डामा बैठक राखेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति सिग्देलले वार्तामा आउन जेन–जी समूहलाई आह्वान गरेका थिए । आह्वानअनुसार बुधबार जेन–जीका विभिन्न समूह सैनिक मुख्यालय जंगी अड्डा पुगेका हुन् ।
भ्रष्टाचारविरुद्ध आन्दोलन थालेका जेन–जीको प्रदर्शन सफल भएपछि अन्तरिम सरकार गठनको गृहकार्य भइरहेको छ । यसैअनुसार प्रधानसेनापति सिग्देलले बुधबार दिनभर आन्दोलनरत जेन–जी पुस्ताका प्रतिनिधिहरू, धरानका मेयर हर्क साम्पाङ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतसँग छलफल गरेका छन् ।
प्रधानसेनापति सिग्देलले काठमाडौंका मेयर बालेन्द्र शाह र कुलमान घिसिङलगायतसँग टेलिफोनमा संवाद गरेका थिए । मेयर शाहसँग बुधबार प्रधानसेनापतिको बैठक तय भए पनि उनी जंगी अड्डा नगएको स्रोतले बतायो । नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले सबै पक्षसँग समन्वय भइरहेको बताए । ‘सबै पक्षसँग समन्वय भइरहेको छ,’ बस्नेतले नयाँ पत्रिकासँग भने ।
बुधबार प्रधानसेनापतिसँगको भेटमा अधिकांशले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भए स्वीकार्य हुने सुझाव दिएका छन् । यद्यपि, तर अन्तरिम सरकारको नेतृत्वबारे जेन–जीका विभिन्न समूहबिच एकरूपता छैन ।
जेन–जीको एउटा समूहले सामाजिक सञ्जाल डिस्कर्डमा लामो भर्चुअल छलफल र अनलाइन भोटिङमार्फत सुशीला कार्कीको नाम अनुमोदन गरेर सैनिक मुख्यालय जंगी अड्डामा सिफारिस गरेको छ । १० हजारभन्दा बढी जेन–जी जोडिएको यो समूहका अभियन्ताका अनुसार काठमाडौंका मेयर शाहले नेतृत्वका लागि कुनै प्रतिक्रिया नदिएपछि भोटिङबाट कार्कीलाई छनोट गरिएको हो ।
यो समूहले पूर्वप्रधानन्यायाधीश कार्कीको कानुनी पृष्ठभूमि र अनुभवका कारण उनी उपयुक्त पात्र भएको ठहर गरेको छ । यो समूहले युवा अभियन्ता सागर ढकालसँग पनि सम्पर्क गरेको थियो, उनले पनि बालेन वा कार्की उपयुक्त हुने राय दिएका थिए, कोही तयार नभएको अवस्थामा आफूले सोच्ने जवाफ दिएका थिए ।
जेन–जी समूहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन, पूर्वप्रधानन्यायाधीश कार्की, धरानका मेयर हर्क, युवा अभियन्ता सागर, विद्युत् प्राधिकरणका पूर्वनिर्देशक कुलमान घिसिङ, वैज्ञानिक महावीर पुन, नेत्र चिकित्सक सन्दुक रुइतलगायतको नाम चर्चामा छन् । तर, बुधबार राति सामाजिक सञ्जालमार्फत मेयर शाहले कार्कीको नाममा समर्थन जनाएका छन् ।
यसैगरी, जेन–जीको अर्काे समूहले कार्कीलाई मान्न नसकिने तर्क गरेको छ । कार्कीको नाम सिफारिस भएपछि यो समूह जंगी अड्डाको गेटमै पुगेर असहमति जनाएको थियो । यो समूहले बालेन वा हर्कलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने माग अघि सारेको छ । उनीहरूले आफू पनि आन्दोलनमा सहभागी भएकाले आफूहरूसँग छलफल गरी सहमतिमा नेतृत्व छान्नुपर्नेमा एउटा पक्षले एकलौटि गरेको भन्दै गेटमै धर्ना दिइरहेका छन् । यो समूहका सदस्यले पहिला संसद् विघटन हुनुपर्ने र त्यसपछि मात्र नेतृत्वका लागि व्यक्ति चयन गरेर जानुपर्ने अडान लिएका छन् ।
प्रधानसेनापतिले आन्दोलनरत जेन–जी मात्र नभएर वर्तमान शासकीय प्रणालीसँग असन्तुष्ट रहेका प्रसाईंलगायतसँग पनि छलफल गरेर सबैको मनस्थिति बुझ्ने प्रयास गरेको सैनिक स्रोतको दाबी छ । ‘एकथरीको सेन्टिमेन्ट सम्बोधन गर्ने र फेरि अर्काथरी आन्दोलनमा जाने अवस्था नबनोस् । सबैसँग एकसरो कुराकानी गरौँ, त्यस आधारमा भविष्यमा ठुलो आन्दोलन वा असन्तुष्टि बाहिर पोखिने अवस्था नआओस् भन्ने उहाँको चाहना छ,’ सैनिक स्रोतले भन्यो ।
जंगी अड्डाले जेन–जी समूहका प्रतिनिधि तय भइसकेकाले बिहीबार सबै सरोकारवालासँग विस्तृत छलफल गरेर निष्कर्ष निकाल्ने तयारी गरेको जनाएको छ । ‘जेन–जी संगठित समूह नभएका कारण उनीहरूका प्रतिनिधि खोज्न र तय गर्न समय लाग्यो, अब उनीहरूसहित विभिन्न समूहसँग बिहीबार छलफल हुन्छ,’ सैनिक स्रोतले भन्यो ।
प्रधानसेनापति सिग्देलसँगको भेटमा धरानका मेयर साम्पाङले आफू अन्तरिम सरकार प्रमुखका रूपमा रहेर देशलाई निकास दिन सक्ने दाबी गरेका छन् । तर, पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा उनले विमति जनाएका छैनन् । यसैगरी, साम्पाङले हजारौँ जनताले काठमाडौं आउनुपर्छ भनेर अनुरोध गरेकाले आएको र आएर प्रधानसेनापति सिग्देलसँग भेटेर कुरा गरेको बताए । ‘मैले कुरा गर्दा उहाँले छलफल गरिसक्नुभएको रहेछ, सुशीला कार्कीलाई अगाडि बढाउने भनेर । त्यस्तो आएको छ,’ उनले भने । सुशीला कार्कीलाई समर्थन छ भनेर प्रश्न गर्दा साम्पाङले थपे, ‘म को हो र सहमति, असहमति जनाउने ? युथले गर्ने कुरा होला । जेन–जीका प्रतिनिधि कोही गएको रहेछ, त्यो खालको सहमति रहेछ, त्यसरी नै जानुपर्छ होला भन्ने कुरा थियो ।’
प्रधानसेनापति भेटेको तस्बिर राख्दै प्रसाईंले फेसबुकमा आफू नेतृत्वको दौडमा नरहेको बताएका छन् । तर, कोही अगाडि नबढे आफू पछि नहट्ने उनको भनाइ छ । ‘मलाई नेतृत्वको मोह छैन । देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो,’ उनले लेखेका छन्, ‘जेन–जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा सुशीला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्विकार्न तयार छु । तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्ने मेरो स्वभाव होइन । म जुनसुकै परिस्थितिका लागि पनि तयार छु ।’
तर, जेन–जी पुस्ताका तर्फबाट जंगी अड्डामा सहभागी भएकी रक्षा बमले प्रसाईंको उपस्थितिप्रति असहमति जनाएको उल्लेख गरेकी छिन् । बम एउटा जेन–जी समूहकी अभियन्ता हुन् । जो बुधबार आफ्नो समूहसहित सैनिक मुख्यालय जंगी अड्डा पुगेकी थिइन् । ‘आज पनि हामी नेपाली सेनाको मुख्यालयमा अन्य जेन–जेड समूहसँग छलफल गर्न गएका थियौँ । तर, आन्दोलनको बेसिक नम्र्सविरुद्ध छलफल अघि बढाइन थालेपछि म र केही साथीहरू तत्काल बाहिरियौँ,’ उनले भनेकी छिन् ।
यसैगरी, हामी नेपाल नामक समूहबाट पनि जंगी अड्डा पुगेका जेन–जी अभियन्ता निमेश श्रेष्ठ र रेहानराज दाहालले इन्स्टाग्रामबाट भनेका छन्, ‘हामी आर्मी हेडक्वार्टरमा छौँ । हामीले हामी नेपाल संस्थाबाट आधिकारिक रूपमा सुदन दाइ (गुरुङ)लाई लिडर बन्ने भनेर पठाएका छौँ । हामी एकपटक बैठक बसिसकेका छौँ । हामीलाई राम्रो लिडर चाहिएको छ । त्यो लिडरका लागि कसलाई बनाउने भनेर छलफल गरिरहेका छौँ । अन्तरिम सरकारका लागि । सैनिक शासन नहोस् । डेमोक्रेसी कायम रहिरहोस् भनेर जंगी अड्डा आएका छौँ ।’ अन्तरिम सरकार गठनका लागि जेन–जी समूहले पूर्ण गैरराजनीतिक व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।
सुशीला कार्कीलाई सिफारिस गरेको ‘जेन–जी लेट मुभमेन्ट’को कार्ययोजना
संसद् विघटन, अन्तरिम सरकार गठन र संविधानमा व्यापक संशोधन
अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई सिफारिस गरेको ‘जेन–जी लेट मुभमेन्ट’ले संसद् विघटन, अन्तरिम सरकार गठन र संविधानमा व्यापक संशोधनसहितका प्रारम्भिक कार्ययोजना ल्याएको छ । प्रधानसेनापतिसँग जंगी अड्डामा छलफल गरेपछि बाहिरिएका ‘जेन–जी लेट मुभमेन्ट’का प्रतिनिधिले जेन–जी समूह र उपसमूहमा भएको अनलाइन भोटिङमा सुशीला कार्कीको नाम प्रस्ताव गरिएकोसमेत बताए ।
‘जेन–जी लेट मुभमेन्ट’ले ‘संसद् विघटनको पूर्वसर्त कार्यान्वयन गर्दै सबै समूह र उपसमूहसँग वार्ता गर्ने, वार्तापश्चात् राष्ट्रपतिबाट संसद् विघटन गरी निश्चित समयावधिका लागि जेन–जीको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा निश्चित समयावधि तोकेर तत्काल अन्तरिम सरकार घोषणा गर्ने’ प्रस्ताव गरेको छ ।
यस्तै ‘जेन–जी लेट मुभमेन्ट’ले जेन–जी नेतृत्वको सरकार नै आन्दोलनको मूल मर्म रहेको भन्दै ‘त्यसका लागि देश–विदेशमा रहेर आन्दोलन गर्ने सबै जेन–जीको राष्ट्रव्यापी सम्मेलनबाट चयन हुने नेतृत्वलाई तत्कालीन अन्तरिम सरकारले जेन–जी लेट अन्तरिम सरकार हस्तान्तरण गर्ने’ कार्ययोजना प्रस्ताव गरेको छ । यसका लागि स्पष्ट कार्ययोजनाको मस्यौदा बनाउने ‘जेन–जी लेट मुभमेन्ट’को भनाइ छ ।
यसबाहेक ‘निवर्तमान प्रधानमन्त्री केपी ओलीसहित सम्पूर्ण दलका नेताहरू तथा सबै सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने तथा सबै दलका नेतालाई फौजदारी अपराधमा कारबाही गर्ने’ उनीहरूको भनाइ छ । ‘संविधानमा व्यापक संशोधन गर्ने र संविधानले सुरक्षित गरेको जनताको सार्वभौमसत्तामाथि कुनै प्रकारको हस्तक्षेप अस्वीकार गर्ने’ उक्त समूहको भनाइ छ ।