श्रीलंकाका पूर्वविदेशमन्त्री पिरिस लुम्बिनीमा, कोषका उपाध्यक्ष डा. लामाले गरे स्वागत

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

श्रीलंकाका पूर्वविदेश मामिलामन्त्री गामिनी लक्ष्मण पिरिसले गौतम बुद्धको जन्मभूमि लुम्बिनीको ऐतिहासिक स्थलहरूको दर्शन तथा अवलोकन गरेका छन् । आइतबार बिहान विशेष प्रतिनिधि टोलीसहित लुम्बिनी आएका पूर्वविदेश मामिलामन्त्री पिरिसलाई लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिङ) तथा कोषका सदस्यसचिव सानुराजा शाक्य र कार्यकारी सदस्य श्याम रोक्काले कोषको कार्यालयमा स्वागत गरेका थिए।  

भेटका अवसरमा श्रीलंकाका पूर्वमन्त्री पिरिसले लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थलका रूपमा अझ प्रचार–प्रसार गर्न लुम्बिनी विकास कोषले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

सो अवसरमा उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विकास कोषले हाल सञ्चालन गरिरहेका गुरुयोजना कार्यहरू, निर्माणाधीन संरचना र भविष्यका योजनाबारे जानकारी दिएका थिए । उनले अन्तर्राष्ट्रिय समुदायको सहकार्य र मित्र राष्ट्रहरूको समर्थनले लुम्बिनीको विकासलाई अझ प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे ।

श्रीलंकासँग नेपालको ऐतिहासिक र धार्मिक सम्बन्ध अत्यन्त घनिष्ठ रहेको उल्लेख गर्दै दुवै देशबिच बुद्ध दर्शन, सांस्कृतिक सम्पदा संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल भएको थियो ।
पूर्वमन्त्री पिरिस श्रीलंकाको विदेश मामिलाको भर्खरै कार्यकाल पूरा गरेका हुन् भने राजनीति र शासनमा लगभग तीन दशक बिताएका व्यक्ति हुन् ।

पिरिसले यसअघि शिक्षामन्त्री, विदेश मामिलामन्त्री, निर्यात विकास तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री, न्याय तथा संवैधानिक मामिलामन्त्री, जातीय मामिला तथा राष्ट्रिय एकीकरणमन्त्री, उद्यम विकासमन्त्री, लगानी प्रवर्द्धन तथा औद्योगिक नीति तथा वित्त उपमन्त्रीको रूपमा विभिन्न विभाग सम्हालेका थिए ।

सुझावित समाचार