हैजाले परिवार नै अस्पताल पुग्नुपरेको पीडामा फोन गरेको थिएँ, मन्त्रीले अभिभावकत्व देखाउनुको सट्टा शक्ति देखाए

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

खानेपानीमन्त्रीको दबाबमा थुनाइएकी किरणको बेलीविस्तार

वीरगन्ज महानगरपालिकाका केही वडामा खानेपानीकै कारण झाडापखाला र हैजाको प्रकोप बढिरहेको थियो । ८ भदौमा बहिनी सम्झादेवी साहका दुई वर्ष दुई महिनाकी छोरी कृतिका र चार वर्षका छोरा आर्यनलाई हैजा देखिएपछि नेसनल अस्पताल भर्ना भए । उनीहरू अहिलेसम्म पनि उपचाररत छन् । बहिनी सन्झादेवी त त्यसको चार दिनअघिदेखि नै सोही अस्पतालमा उपचाररत थिइन् । बहिनी अस्पतालको बेडमा रहेकै वेला साना दुई बच्चालाई पनि हैजाले अस्पतालमा पुर्याएपछि तनाव हुने नै भयो । 

दुई दिनपछि १० भदौमा बुवा तुलसी साह र आमा सावित्रीदेवीलाई हैजा देखिएर एडभान्स अस्पतालमा भर्ना गरियो । परिवारका सदस्यलाई एकपछि अर्को गर्दै हैजाले अस्पतालमा सुताएको पीडा र समुदायमा झन् फैलिरहेको अवस्थामा वीरगन्ज महानगर क्षेत्र पनि समेट्ने पर्सा १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका खानेपानीमन्त्री प्रदीप यादवको जिम्मेवार भूमिका नदेखिएपछि फोन गरेर गुनासो गर्न मन लाग्यो । बारा घर भए पनि एक दशकदेखि वीरगन्जमै डेरा गरेर बस्दै आएको छु । पटक–पटक फोन गर्दा पनि मन्त्रीले उठाएनन् । जनप्रतिनिधि भएर पनि नागरिक समस्यामा पर्दा फोन नउठाउने कस्तो मन्त्री ? हैजा किन फैलिरहेको छ भनेर जवाफ दिने जिम्मेवार व्यक्ति नै कोही देखिएन । 

११ भदौमा बल्ल मन्त्रीको फोन उठ्यो । म तनावमा थिएँ । यादवलाई अभिभावकका रूपमा धेरै प्रश्न गरेँ । उल्टै उनले मलाई प्रतिप्रश्न गरेर पन्छिन खोजेजस्तो गरे । ‘वीरगन्जमे केतना आदमी मरगैल हैजा के बजसे’ (वीरगन्जमा हैजाले कति मान्छे मरे) भनेर सोध्दा मन्त्री यादवले ‘तथ्यांक छ ?’ भनेर प्रतिप्रश्न गरे । जिम्मेवार व्यक्तिले उल्टै यस्तो प्रश्न गरेपछि थप पीडा भयो । मैले ‘डाटा ना, खुद घरके आदमी आइसियूमे भर्ती बाटे मन्त्रीजी, साफे नु, छोडेम ना, ज्यान मार देम, डर नैखे लागत (तथ्यांक होइन, मेरो घरकै मान्छे आइसियूमा भर्ना छ, मन्त्रीजी । मैले छोड्दिनँ, मलाई डर लाग्दैन) भनेकै हो । हद भएपछि पीडा र आक्रोशमा यी कुरा बेलेको थिएँ । वीरगन्जका मजस्तै सबै हैजापीडितका लागि बोलेको थिएँ ।

अझै पनि मन्त्रीले वीरगन्जको समस्यालाई नजरअन्दाज गरेपछि आफूले बोलेको जिम्मेवारी लिन्छु भन्ने निर्णयमा पुगेरै मैले नै उनीसँगको फोन संवादको रेकर्ड पत्रकारलाई दिएँ । १३ भदौमा उक्त अडियो सार्वजनिक भयो । जिम्मेवार पदमा बसेका मन्त्रीलाई जवाफदेही बनाउन उक्त अडियो मिडियामा ल्याउन पत्रकारको सहयोग लिएकी थिएँ । 

एउटा नागरिकले उठाएको गम्भीर प्रश्नको जवाफ उनले काम गरेर दिनुपथ्र्यो । अभिभावकत्व देखाउनुपथ्र्यो, तर उल्टै शक्ति देखाए । १४ भदौमा प्रहरीले मलाई पक्राउ गर्यो । सत्ता शक्तिको दुरुपयोग गरेर मन्त्रीले मलाई ६ दिनसम्म हिरासतमा थुनाए । शक्तिकै बलमा ममाथि तीनवटा कसुरमा मुद्दा लगाए । बिहीबार जिल्ला अदालतले पाँच हजार धरौटीमा छाड्न आदेश दिएपछि हिरासतमुक्त भएको छु । तर, मिडियाले मेरो न्यायका लागि आवाज उठाइदिएकाले मात्रै मलाई छाडिएको हो । त्यसो त सर्वसाधारण शुभचिन्तकले पनि मलाई साथ, समर्थन र सहयोग गरे । मैले उठाएको आवाज व्यक्तिगतभन्दा पनि सामुदायिक समस्याको विषय भएकाले हिरासतमै पुग्नुपरे पनि खुसी नै लागेको छ । 

हिरासतभित्र पनि मेरो मोबाइलमा रहेको व्यक्तिगत सामग्रीको दुरुपयोग भयो । हिरासतमा रहँदा प्रहरीको नियन्त्रणमा रहेको फोनबाट थप अडियो सार्वजनिक भयो । यो गम्भीर दुरुपयोग हो । सत्ता र शक्ति छ भन्दैमा त्यसको दुरुपयोग गर्न पाइँदैन । प्रहरीले व्यक्तिगत सामग्री दुरुपयोग गर्नु अछम्य हो । अन्य सवालमा हिरासतमा रहँदा प्रहरी प्रशासनले सकारात्मक सहयोग नै गर्यो । अस्पतालमा परिवारका सदस्यको कुरुवा बसेकै क्रममा पक्राउ परेकाले हिरासतमा अलिकति शारीरिक कमजोरी भने भयो । त्यसकारण पटक–पटक अस्पताल भर्ना हुनुपरेको हो । 

सामाजिक न्यायका लागि आवाज उठाएकी हुँ । पीडा र आक्रोशमा बोल्दा शब्द चयनमा केही कमीकमजोरी भयो होला । नियतले भनेको होइन । कसैबाट परिचालिन भएको होइन । अहिलेसम्म कुनै पार्टीको सदस्यता पनि लिएको छैन । कलाकारबाहेक मेरो अरू परिचय छैन । तर, मन्त्रीजस्तो अभिभावकले एउटा नागरिकले प्रश्न उठाएकै भरमा नियतवश नै राज्य शक्तिको दुरुपयोग गरेर दु:ख दिने काम गरेका छन् । अब अदालतमा पुगेको मुद्दा छिटो किनारा लाग्नेमा आशावादी छु । 
 

See More On

सुझावित समाचार