कोकिन कारोबारीका ‘नाइके’लाई सरकारी वकिलले दिए उन्मुक्ति

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण

प्रहरी अनुसन्धानका क्रममा कोकिन कारोबारी गिरोहका नाइके भनेर पहिचान भएका व्यक्तिलाई सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको छ । ६५.९३ ग्राम कोकिनसहित पक्राउ परेको समूहका मुख्य व्यक्तिहरूलाई समेत प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकोमा जिल्ला सरकारी वकिल कार्यालयले तल्लो तहकालाई मात्र मुद्दा चलाएर दुईजना मुख्य आरोपी विजय कार्की र श्रीयान्स एडुकियालाई मुद्दाबाट जोगाएको हो ।

प्रहरी वृत्त मालीगाउँले गत २० असारमा नक्सालस्थित भगवती इन होटेलमा छापा हान्दा कोकिनसहित पाँचजनालाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकका दिनेश चालिसे र गोमा श्रेष्ठ कोकिन सेवन गरिरहेको अवस्थामा पक्राउ परेका थिए । उनीहरूलाई कोकिन बेच्न गएका सत्येन्द्रकुमार भट्ट पक्राउ परेका थिए । उनले प्रकाश यादवसँग कोकिन खरिद गरेको बयान थिए । यादवले सुव्रत अधिकारीमार्फत खरिद गर्ने गरेको खुल्यो । अधिकारी पनि पक्राउ परे । अधिकारीको बयानका आधारमा गिरोहका नाइके विजय कार्की र श्रीयान्स अडुकिया भएको खुलेको थियो । तर, यादवसहित पाँचजनालाई मुद्दा चलाएर दुईजनालाई भने सरकारी वकिलले प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ । 

‘शंकित भनिएका विजय कार्कीको हकमा सुव्रत अधिकारीले आफूबाट बरामद भएको लागुऔषध प्रकाश यादवबाट खरिद गरेको हो भनी बयान गरी यी शंकित विजय कार्कीसँग तीन महिनाअघि सँगै बसी लागुऔषध सेवन गरेको भनी र श्रीयान्स एडुकिया भन्ने व्यक्तिसँग पनि पटक–पटक लागुऔषध सेवन गरेको हो भनी बयान गरे पनि लागुऔषधसम्बन्धी कसुर पोसेसरी क्राइम भएको र शंकितहरूको साथबाट लागुऔषधमा प्रमाण लाग्ने कुनै पनि चिज बरामद नभएको र यी पक्राउ परेका शंकित विजय कार्कीको कसुरमा इन्कारी रही बयान गरेका हुँदा शंकितहरू विजय कार्की र श्रीयान्स एडुकियाको हकमा मुद्दा नचल्ने निर्णय गरिएको छ,’ सरकारी वकिल कार्यालयको निर्णयमा भनिएको छ ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू भने दुवैजनासँग कारोबारको विषयमा पर्याप्त प्रमाण संकलन गरिएको बताउँछन् । पक्राउ परेका सुव्रतले बयानमा बोलेअनुसार नै उनीहरूबिच आर्थिक कारोबारसमेत देखिएको थियो । विजयको डायरीमा समेत यससम्बन्धी कारोबारको विवरण प्रहरीले फेला पारेको थियो । जुन कारोबारको स्रोत उनीहरूले खुलाउन सकेका छैनन् । 

बयानका क्रममा विजयले एडुकियासँगको चिनजान र कारोबार भने खुलाएका छन् । एडुकियाले आफूलाई भारतबाट आएको भनेर मदिरा दिने र आफूले सो मदिरा उनले भनेका व्यक्तिहरूलाई दिने गरेको उनको बयान छ । 

सुव्रतलगायत पक्राउ परेलगत्तै विजय र श्रीयान्स दुवै फरार भएका थिए । सुव्रत पक्राउ परेको १५ दिनपछि विजय पक्राउ परेका हुन् । श्रीयान्स भने भारत भागेका थिए । यस आधारमा पनि उनीहरू कारोबारी गिरोहका मुख्य व्यक्ति भएको देखाउने प्रहरी अधिकारी बताउँछन् । साथै, विजयले इन्कारी बयान दिएपछि प्रहरीले उनको पोलिग्राफ टेस्टसमेत गराएको थियो । जसमा उनले ढाँटेको प्रमाणितसमेत भएको थियो । त्यति हुँदा पनि सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेकोमा प्रहरी असन्तुष्ट छ । एडुकिया त कोकिनको कारोबारमा लागुऔषध नियन्त्रण ब्युरोको समेत खोजीमा रहेका व्यक्ति हुन् । धनुषा घर भएका उनी भारत भागिसकेका छन् । 

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्ले भने उनीहरू कारोबारी भएको अकाट्य प्रमाण नहुँदा मुद्दा नचलाउने निर्णय गरिएको बताए । विजयलाई मुद्दा नचलाउने, तर उनीसँग लागुऔषध लिने आफ्नो छोरालाई मात्र मुद्दा चलाउने पक्षपाती निर्णय गरेपछि प्रकाश यादवका बुबा सरकारी वकिल कार्यालयमै रोएका थिए । 

स्रोतका अनुसार प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको ११ दिनसम्म सरकारी वकिलले मिसिल होल्ड गरेर १६ भदौमा मुद्दा चलाएको हो । प्रतिवादी थुनामा रहेको मुद्दामा यसरी विनाकारण सरकारी वकिल कार्यालयले फाइल रोकेर राखेकोमा समेत प्रश्न उठेको छ । प्रहरी वृत्त मालीगाउँका डिएसपी सुनीलजंग शाह सो गिरोहमा सातजनाको संलग्नता देखिएपछि उनीहरूलाई मुद्दा चलाउन आफूहरूले सिफारिस गरेको बताउँछन् । ‘हामीले सातजनालाई मुद्दा चलाउन सिफारिस गरेका थियौँ, तर पाँचजनालाई मात्र किन मुद्दा चल्यो थाहा भएन ।’

मुद्दा चलेका पाँचजनामध्ये तीनजना बिहीबार धरौटीमा छुटेका छन् । काठमाडौंका जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सुव्रतलाई एक लाख, दिनेशलाई ७५ हजार र गोमालाई १० हजार रुपैयाँ धरौटीमा छाडेको हो । प्रकाश र सत्येन्द्र भने जेल चलान भएका छन् ।
 

See More On

सुझावित समाचार