चर्चा
विसंगत समयविरुद्ध शालीन तरिकाले प्रतिरोधको भाषा बोल्ने माध्यम कविता हो भन्ने मान्यता राख्ने कवि ऋषि बस्ताकोटीको पछिल्लो कविता कृति हो ‘पानीको रङ’ । पछाडि फर्केर हेर्दा उनी ‘विसंगत बस्ती’ मुक्तकसंग्रह र ‘ज्वालाका रापहरू’ गजल सञ्चयनका स्रष्टासमेत हुन् । यसबाहेक समसामयिक विषयमा अखबारी लेखन र गीति लेखनमा पनि उनी सक्रिय नै छन् ।
कवितासँग बयली खेल्नु र कविताजस्तै जिन्दगी जिउनुमा ठुलो अन्तर छ । मैले देखिरहेको कवि ऋषि बस्ताकोटी कवितामा जस्ता छन् यथार्थमा पनि उस्तै छन् । उनी आफू पर्दा पछाडि उभिएर विभेद, अभाव र उपेक्षामा पर्ने गरेको भुइँमान्छेको वर्गलाई समाजको अग्रभागमा उभ्याउन पाए आनन्द मान्छन् । समाजमा पछाडि परेको वा पारिएको वर्गका निम्ति कविता लेख्ने, तर दैनिक जीवनमा त्यही वर्गसँग यदाकदा ठोक्किँदा निधारमा दु:ख सर्लाजस्तो गर्ने दोगला साहित्यकारको भिडमा बस्ताकोटी अपवाद हुन् ।
नेपालबाट खुट्टा उचालेपछि उनले धेरै देशको पानीको स्वाद चाख्दै र रङ हेर्दै अमेरिका आइपुगेका हुन् । हाल अमेरिकी सरकारको वातावरण विभागमा वरिष्ठ वातावरणविज्ञका रूपमा कार्यरत डा. ऋषि बस्ताकोटीको काम र रुचिको क्षेत्र प्रकृति संरक्षण हो । यसर्थ, उनी प्रकृति संरक्षण र पर्या साहित्यका अभियन्ता पनि हुन् । उनी बोल्न नसक्ने मान्छे र बोल्न नसक्ने प्रकृतिको भाषा बुझ्न सक्ने मान्छे हुन् ।
‘पानीको रङ’ कविता कृतिमा बस्ताकोटीको आधा शताब्दी लामो जीवनको देखाइ, भोगाइ, सिकाइ र बुझाइ प्रतिबिम्बित भएको छ । ‘पानीको रङ’ भित्र रङ खोज्दै जाँदा सत्य, न्याय, समानता, बन्धुत्व, प्रकृति र प्रवासजस्ता अनेकौँ रङ भेटिन्छन् । शिखा बुक्सले बजारमा ल्याएको चालिस थान कविताको यो संग्रहकै प्रतिनिधि कविता हो पहिरो । यही शीर्षकको कविताले उनलाई राष्ट्रिय कविता महोत्सव २०५२ मा पुरस्कृत गरेको हो । यस अर्थमा कविताहरूको सँगालो अहिले प्रकाशित भए पनि उनी तीन दशकअघि नै कविका रूपमा स्थापित भएका छन्।
विनाश हुन्छ
भत्कनुको अर्थमा
पहिरो गएपछि
पहिरो जान्छ,
देखाइमा फरक हुन्छ
अझ पहिरो
देखाइमा भन्दा दुखाइमा गहिरो हुन्छ
पहिरोको लेखाजोखा
केवल अनुभूतिभित्र हुन्छ ।
भनिन्छ कि काव्यले बहुल अर्थ दियो भने त्यो अझै सशक्त मानिन्छ । यहाँ पहिरोले एकातर्फ वातावरण विनाशलाई संकेत गर्दछ भने अर्कोतर्फ मानवीय अन्तरसम्बन्ध भत्किँदै गइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दछ ।
कविता बुन्ने आफ्नै मौलिक शिल्प छ, कवि बस्ताकोटीको । सरल भाषामा ग्रामीण बिम्ब लिएर गहिरो भाव सम्प्रेषण गर्ने कवि बस्ताकोटी मुक्त छन्दका कवितामा पनि लय र अनुप्रासमा खेल्न जान्ने कवि हुन् । यसले के देखाउँछ भने उनले आफ्नो जरो भुलेका छैनन्, अर्थात् मुक्तककार, गजलकार र गीतकार हुनुको प्रभाव पनि कवितामा छाएको छ।
तलुवाले थामेसम्म
बाले न जुत्ता फेर्नुभयो
न त भुइँतिर हेर्नुभयो
बालाई जुत्ताले भन्दा पनि
सपनाहरूले हिँडाइरह्यो
सपनाहरूले कुदाइरह्यो
र गन्तब्व्यमा पुर्याइरह्यो ।
भाव र शिल्प दुवै दृष्टिकोणले प्रभावशाली अर्को कविता हो बा । बा सन्तानको नांगो पैतालामा काँडा नबिझोस् भनेर आफ्ना हत्केला ओछ्याइदिने मान्छे हो ।
बा श्रम, स्वाभिमान, सपना र जिम्मेवारीले बाँधिएको प्राणी हो । भन्नेहरूले आमा हुन सजिलो छैन भने ठिकै हो, तर बा हुन पनि कहाँ सजिलो छ र ? काँधेकुरी हालेर आफ्नो सन्तानलाई आफूभन्दा अग्लो र अब्बल भएको देख्न चाहने बा बन्न सजिलो छैन भन्ने यो कविताको मर्म आफैँमा स्पर्शी छ ।
परागमा
विषाक्त कण मिसिएको छ
माहुरीहरू विवश छन्
जोखिम मोलेर आफ्नो काम गर्न
फूलहरू आफैँ दोमनमा छन्
कसरी फुल्ने
कस्तो फुल्ने !
अहिले विश्वका धेरै देशमा युद्ध छ । विश्व तापमान वृद्धिले सेता हिमाल काला पहाड भएका छन् । हावा विषाक्त छ । पानी विषाक्त छ । वनस्पति, फल र फूल विषाक्त छन् । प्रकृति विषाक्त हुनु भनेको प्राणीजगत्कै स्वास्थ्यमा प्रतिकूल असर पर्नु हो भन्ने सन्देश यो कविताले छोडेको छ ।
सम्झँदा–सम्झँदै ऊ आफैँ फतक्क गल्यो
र मनमनै फतफताउँदै टुसुक्क बस्यो
के म अहिले उभिएको माटो
मैले कसम खाएको माटो नै हो ?
के मैले अहिले हिँडेको बाटो
मैले हिँड्न चाहेको बाटो नै हो ?
प्रवासी नेपालीहरूको साझा मनस्थिति हो आप्रवासी रामप्रसाद कविता । मनको देश एकातिर र ज्यानको देश अर्कोतिर हुनुको पीडा अधिकांश आप्रवासीमा हुन्छ नै । पहिचानको संकट, सांस्कृतिक विचलन र दुई पुस्ता बिचको खाडललाई यो कविताले सटिक रूपमा देखाएको छ ।
शिल्पीले छोएपछि
धेरै कुरा हुन्छ
शिल्पीले पत्थर छुन्छ
मन्दिरको मूर्ति बन्छ
दुनिया त्यसैको पूजा गर्छ ।
शिल्पीले बनाएको निर्जीव मूर्ति मन्दिर भित्र बस्छ । दुनियाँ त्यही निर्जीव मूर्तिलाई फूल, प्रसाद र पैसा चढाउँछ, तर सजीव शिल्पकार अछुत हुन्छ । आफैँले बनाएको मूर्ति आफैँले पुज्न पाउँदैन । के कुनै शिल्पकार ख्वामितको समान हैसियतको साथी बन्दा आकाश खस्छ भनेर पनि प्रश्न गरिएको छ । जातीय विभेदविरुद्धको आवाजका रूपमा यो एउटा अर्को शक्तिशाली कविता हो ।
मान्छेमा मानवता हराउँदै गइरहेको र एकले अर्कोलाई फगत स्वार्थका लागि प्रयोग मात्र गर्ने प्रवृत्तिविरुद्ध उनले झिँगाहरू शीर्षकको कवितामार्फत व्यंग्य कसेका छन् । त्यसैगरी, कवि बस्ताकोटीले भ्रष्ट आचरणको राजनीतिलाई जति खाए पनि नअघाउने किर्नासँग तुलना गरेका छन् भने निरीह जनतालाई साँढेहरूको जुधाइमा पिल्सिएका बाच्छाहरूसँग दाँजेर हेरेका छन् । उनका कवितामा कतै कोरोनाको कहर दुखेको छ भने कतै सहिदको सपना दुखेको छ ।
भिन्नभिन्न भूगोल, समय र परिवेशका काव्यिक सिर्जना हुनुको अर्थमा उनका कवितामा भिन्न–भिन्न प्रारूप र वैशिष्ट्य छन् । स्वदेशको पाठकले आफ्नो अनुहार म्यादी माइला कवितामा देख्न सक्छ भने परदेशको पाठकले आफ्नो अनुहार आप्रवासी रामप्रसाद कवितामा देख्न सक्छ । त्यस्तै, एक्लो बर कविताले पर्यावरणीय चिन्ता व्यक्त गरेको छ भने गाउँको बाटोले प्रतिभा र जनशक्तिको पलायनलाई इंगित गरेको छ ।
आफ्नो लामो कालखण्डको लेखनलाई चाल्नोमा हालेर चाल्दा बाँकी रहेका कवितालाई मात्र सङ्ग्रहमा समेट्नुले कवि कविताको गरिमाका प्रति निकै सचेत छन् भन्ने पुष्टी गर्दछ । कविता भनेको कला पनि हो र विचार पनि हो । उनी कला र विचारको मध्यमार्गमा हिँडेका छन् । यसरी हेर्दा कवि बस्ताकोटीको ‘पानीको रङ’ कवितासंग्रह पानीको रङ मात्र होइन जीवन र जगत्का अनेकौँ रङहरूको आकर्षक इन्द्रेनी हो भन्न सकिन्छ ।