नेपाली सेनाद्वारा अढाई करोडका २२ आयोजना सम्पन्न

बिहिबार, १२ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली सेनाले असार मसान्तसम्म दुई करोड ५६ लाख रुपैयाँ बजेटमा देशभर २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ । सेनाले बढीभन्दा बढी जनसमुदायहरू प्रत्यक्ष/परोक्ष लाभान्वित हुने सामाजिक, आर्थिक, पूर्वाधार विकासलगायतका जनहितका कार्यक्रम गरेको जनाएको छ । 

सेनाले नेपाल एकीकरणको दौरान प्रयोग भएका रणनीतिक एवं ऐतिहासिक महत्त्वका गढी संरक्षण र पुनर्निर्माण गरेको जनाएको छ ।

सेनाले बुधबार नयाँ पत्रिकालाई उपलब्ध गराएको विवरणअनुसार उदयपुरस्थित चौदण्डीगढी, ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा अवस्थित तलुवागढी (जानुकागढी), चितवनको उपरदाङगढी, नुवाकोटको बेलकोटगढी, लमजुङको पुरानकोट, सुर्खेतको वीरेन्द्रनगरस्थित बयलकाँडागढी, डडेलधुरास्थित अमरगढी र पाल्पास्थित माथागढीलगायत गुल्मी जिल्लाको मुसिकोट मुसिकोट दरबारको स्तरोन्नति तथा मर्मत–सम्भार गरेको छ । 

सेनाले सामाजिक एकता जागृत गर्ने सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेका इलामको माई स्थान मन्दिर, रामेछापको तिल्केस्थान गढीमा रहेको देवी मन्दिर, नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरको स्तरोन्नति गरेको छ । सेनाले चितवनको देवघाटस्थित महेश आश्रममा गौशाला, मुस्ताङस्थित कागबेनीमा श्राद्धस्थलमा ट्रसघर, पर्वतका कटुवाचौपारीमा पुजारी बस्ने कोठासहितको ट्रसघर निर्माण गरेको छ ।

सेनाले महोत्तरी जिल्लाको सोनम गाउँपालिका, जिरौनामा रहेको सरस्वती जनता माविमा छात्राहरूलाई लक्षित गरी चारकोठे छात्रा शौचालय निर्माण गरिदिएको छ । यसैगरी, दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित पवित्र तीर्थस्थल पञ्चकोशी मावि वेद विद्या आश्रममा अध्ययनरत छात्रहरूका लागि सेड घर निर्माण गरेको छ ।     

सेनाले नेपाल सरकारको एक पालिका एक हेलिप्याडको नीतिमा सहयोग गरेको पनि जनाएको छ । जसअनुसार  मुगु जिल्लाको विकट मुगुम कार्मारुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरेको छ ।  सेनाले डडेल्धुरा र डोटी जिल्लाका स्थानीयहरूका लागि पानीट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा धाराहरूको निर्माण गरेको जनाएको छ । 

सेनाले राष्ट्रिय एकताको प्रवर्द्धन तथा पर्यटन तथा पर्यावरणलाई टेवा पुर्याउन काठमाडौंको नारायणहिटी संग्रहालयपरिसरमा झिल पोखरीको मर्मत सम्भार गरेको छ ।  बाराको कलैया उपमहानगरपालिकास्थित कलैया बजारमा नेपालको झन्डा तथा मोनोग्राम निर्माण गरेको छ ।  आ.व. ०८१/८२ मा नेपाली सेनाद्वारा सम्पन्न भएका शीघ्र प्रभावी आयोजनाहरू विभिन्न मितिमा स्थानीय प्रशासन, अन्य सुरक्षा निकाय, विभिन्न संघसंस्था, पत्रकारहरू, स्थानीय बुद्धिजीवी र जनसमुदायको समुपस्थितिमा सम्बन्धित स्थानीय निकायहरूलाई हस्तान्तरण गरेको छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले भनेको छ।  सेनाले बाजुरास्थित त्रिवेणी नगरपालिकाको समन्वयमा बडिमालिका मन्दिर पुनर्निर्माण गरेको छ । 

सुझावित समाचार