सुमनसिंह चेपाङले दसैँअगावै पाउने भए नयाँ घर

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा बनाइदिँदै छन् घर

बुधबार, ११ भदौ, २०८२
डिजिटल संस्करण
सुमनसिंह चेपाङले दसैँअगावै पाउने भए नयाँ घर

सुमनसिंको घर निर्माणका लागि गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कांग्रेस राक्सिराङका सभापति वीरेन्द्र जिम्बालाई जिम्मेवारी दिँदै मुख्यमन्त्री बानियाँ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका २६ वर्षीय सुमनसिंह चोपाङ  (प्रजा) अब छाप्रोमा होइन, पक्की घरमा बस्ने भएका छन् । सुमनसिं दम्पतीलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा घर निर्माण गरिदिने भएका हुन् ।

मुख्यमन्त्री बानियाँले सुमनसिंको घर निर्माणका लागि गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कांग्रेस राक्सिराङका सभापति वीरेन्द्र जिम्बालाई जिम्मेवारी समेत दिएका छन् । बुधबार मुख्यमन्त्री कार्यालयमा अध्यक्ष मल्ल र सभापति जिम्बा लागयतको टोलीलार्ई भेट्दै मुख्यमन्त्री बानियाँले सुमनसिं दम्पतीले दशैंअघि नै घरमा बस्न पाउनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

यसअघि गत २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले पदभार ग्रहण गर्दै प्रदेश सरकारबाट आपूmले प्राप्त गर्ने तलब भत्ताबाट निर्वाचन क्षेत्रका अति विपन्न परिवारका लागि घर बनाइदिने घोषणा गरेका थिए । सोही निर्णयलाई कार्यान्वयन गर्दै मुख्यमन्त्री बानियाँले सुमनसिंहको परिवारलाई घर बनाइदिने भएका हुन् । 

लामो समयदेखि छाप्रोमा कष्टकर जीवन बिताउँदै आएका सुमनसिंहकी श्रीमती एक महिनाअघि सुत्केरी भएकी थिइन् । खानाका लागि खोरियाको भर र घामपानीबाट बच्न छाप्रो मात्रै भएका सुमनसिंलार्ई तत्काल गाउँपालिकाले चामल, दाल, तेल, नुन, कम्बल र त्रिपाल उपलब्ध गराएको थियो । तर, बजेट पालिकामा बजेट अभावमा सुमनसिं प्रजाको लागि घर निर्माण सम्भव नभएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

एक महिनाकी सुत्केरीसहित छाप्रोमा अति कष्टकर जीवन विताउँदै आएको विषय अध्यक्ष मल्ल र सभापति जिम्बाले मुख्यमन्त्री बानियाँलाई जानकारी गराएका थिए । आफ्नो तलब भत्ताबाट निर्वाचन क्षेत्रका अति विपन्न परिवारलाई आवास सुविधा उपलब्ध गराउने प्रतिबद्धताअनुसार नै सुमनसिंहको परिवारलाई दशैँअघि नै घर बनाइदिने निर्णय गरेको मुख्मयन्त्री बानियाँले बताए ।

‘म राजनीति सेवाका लागि गर्छु, मेरो जीवन निर्वाहका लागि त व्यापार व्यवसाय छँदैछ,’ उनले भने, ‘मैले प्रदेश सरकारबाट प्राप्त गर्ने सेवा सुविधा बापतको तलब भत्ता आफ्नो क्षेत्रका नागरिकको आवश्यकतामा खर्च गर्न पाउँदा खुशी छुँ । म यो कामलाई निरन्तरता दिन्छु ।’

गाउँपालिका अध्यक्ष मल्ल र कांग्रेस राक्सिराङ सभापति जिम्बाको सिफारिसमा सुमनसिंह चेपाङको परिवारको लागि मुख्यमन्त्री बानियाँले दुई कोठा, एउटा भान्छा र ट्वाइलेटसहितको घर तत्काल निर्माण गर्न निर्देशन दिएका छन् । घर निर्माण गर्दा खर्च हुने सम्पूर्ण रकम मुख्यमन्त्री बानियाँले व्यक्तिगत रूपमा बेहोर्नेछन् ।

यसअघि पनि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की विपन्न दलित एकल महिला मिठुमाया सुनारलाई घर निर्माणका लागि पहिलो किस्ता बापत दुई लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।

सुझावित समाचार