रुबी साह हत्याकाण्ड : आफू जल्नुअघि पासवानले भिडियोमार्फत भने– रुबीको हत्या मैले गरेँ, तर दोषी उनकी आमा हुन्

बुधबार, ११ भदौ, २०८२
डिजिटल संस्करण

रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण पासवानले आफ्नो शरीरमा आफैँ आगो लगाउनु पहिला १० मिनेटको भिडियो सन्देश बाहिरिएकाे छ । हत्यामा रुबीकी आमा नै प्रमुख दोषी रहेको भन्दै उनले भिडियो बनाएका हुन् । माधवनारायण नगरपालिका– ६ स्थित खेतमा पासवानको जलेको शरीर प्रहरीले फेला पारेको थियो । उनले आफ्नो शरीरमा आफैँले आगो लगाएर गम्भीर घाइते अवस्थामा रहेका छन् । उनले आफ्नो शरीरमा आगो लगाउनुअघि रुबीको हत्या आफैँले गरेको बताएका छन् । भिडियो सन्देशमा उनले रुबीको हत्या आफैँले गरेको स्वीकार गरेका हुन् ।

माधवनारायण नगरपालिका– २ घर भएकी रुबी साह विगत केही समयदेखि गौरमा आफ्नी आमासँग बस्दै आएकी थिइन् । गत आइतबार सुटकेसभित्र उनको शव फेला परेको थियो । त्यसपछि सो घटनाको प्रहरीले अनुसन्धान गर्दा अनुसन्धानको सुई लक्ष्मण पासवानतिर गएको थियो । घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले भिडियो सन्देशमा रुबीकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको उनले स्वीकार गरेका छन् ।

उनले भिडियो सन्देशमा आफूले कसरी हत्या गरे भन्ने कुरा नखुलाए पनि आफूहरूको प्रेमका कारण यो घटना भएको उनको जिकिर छ । रुबीसँग कक्षा १० मा पढ्दा आफ्नो प्रेम भएको र जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा आफूहरूको प्रेमविवाह भएको भए पनि रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानले बताएका छन् ।

उनले जारी गरेको भिडियो सन्देशमा राजन, राजु, राजा र रुबीकी आमा यो घटनाका मुख्य दोषी रहेको दाबी गरेका छन् । उनकी आमाले पैसाको प्रलोभनमा परेर आफ्नी छोरीलाई तीनैजना केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोपसमेत लगाएका छन् । उनको भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । लक्ष्मणसँग भागेर विवाह गरेपछि रुबीको परिवारले उनको भारतीय केटासँग विवाह गराइदिएका थिए । भारतको मजफ्फरपुरका स्थानीय निवासी शिवसागर साहसँग रुबीको विवाह भएको थियो ।

हत्या भएको राति आफू दुवैजना मर्ने निधो गरेको लक्ष्मणले जारी गरेको भिडियोमा उल्लेख रहेको छ । उनले आफूले कसरी रुबीको हत्या गरे भन्ने कुरा नखुलाए पनि अब आफू पनि बाँच्न नचाहेको र अबको केही बेरमै आफूले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्न लागेको जनाएका थिए । आफू गरिब रहेको र रुबीकी आमाले आफूसँग रुबीलाई बस्न नदिएको र अरू हुने खाने धनीमानीसँग बिहे गराइदिएको उनको भिडियोमा उल्लेख छ ।

आफ्नै शरीरमा आगो लगाएर घाइते भएका लक्ष्मण पासवानको यतिवेला रौतहटको गरुडास्थित एक अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । उनले बनाएको भिडियोमा अब आफुहरूको भेट माथि हुनेछ भनेका छन् । हत्या भएको राति आफुहरूले लामो समय कुराकानी गरेको र दुवैजनाले मर्ने निधो गरेको उनको भिडियोमा उल्लेख छ । पासवाले भिडियोमा आफु जेल जान नचाहेको र रुबीलाई भेट्न जान लागेकाले पक्राउ परेका रिक्साचालकको कुनै दोष नरहेको बताएका छन् । 

सुझावित समाचार