एमाले केन्द्रीय कमिटी बैठक स्थगित

बुधबार, ११ भदौ, २०८२
डिजिटल संस्करण

विद्याको पक्षबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा फरक प्रतिवेदन पेस गर्ने तयारी

विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले १३ भदौका लागि तय गरेको केन्द्रीय कमिटी बैठक अचानक अनिश्चितकालका लागि स्थगित गरेको छ । एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा हुँदै छ र यही वेला पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण र उनको सक्रियतालाई लिएर पार्टीभित्र हलचल छ ।

केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकमा विद्याको सदस्यता नवीकरण र सक्रियतालाई लिएर नेताहरू विभाजित देखिएका थिए । यही सन्दर्भमा अचानक अनिश्चितकालका लागि केन्द्रीय कमिटी बैठक स्थगन गर्नुलाई एमालेभित्र अन्तरकलहको उपजका रूपमासमेत हेरिएको छ । विद्याको सक्रियता र ‘गुट’ निर्माण बढ्दै जाँदा अध्यक्ष ओलीमाथि दबाब बढ्दो छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र चाँडै बैठकको अर्को मिति तय हुने बताए । ‘तयारी नपुगेका कारण बैठक स्थगित भएको हो, आवश्यक तयारीपछि अर्को मिति तोकिन्छ,’ उनले भने । खास गरेर विधान संशोधन प्रस्तावमा सुझाव आउने क्रम जारी रहेकाले बैठक स्थगित गर्नुपरेको गौतमको दाबी छ । 

बैठकमा अध्यक्ष ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्तावको मस्यौदा प्रस्तुत गर्ने तयारी छ । सुझावलाई समेटेर केन्द्रीय कमिटीमा प्रतिवेदन पेस गर्ने र केन्द्रीय कमिटीबाट पारित गरेर विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ । 

यसअघि गत ५ र ६ साउनमा बसेको केन्द्रीय कमिटी बैठकले सुझावका लागि विधान संशोधन प्रस्ताव तल्ला कमिटीमा पठाउने निर्णय गरेको थियो । ७० वर्ष उमेर हद र कार्यकालको सीमा बढाएर तेस्रोपटक ओलीलाई अध्यक्ष बन्न सहज हुने गरी विधान संशोधन प्रस्ताव तयार भएको छ ।

पूर्वराष्ट्रपति विद्याको सदस्यता नवीकरण गर्ने कि नगर्ने भन्ने विषयमा एमालेमा विवाद छ । गत केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । एजेन्डाविना नै मौखिक प्रस्तावको रूपमा निर्णय भएको भन्दै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी समिति सदस्य कर्ण थापाले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । तर, तल्ला तहमा विधान संशोधन प्रस्ताव सुझावका लागि पठाउँदा आफ्नो ‘नोट अफ डिसेन्ट’ नपठाइएको भन्दै पाण्डे र ज्ञवालीले पार्टी कार्यालयमा निवेदन नै दिएका थिए ।

उनीहरूले पूर्वराष्ट्रपति विद्या एमालेको पूर्वउपाध्यक्ष भइरहेको उल्लेख गर्दै पार्टीले नै निर्णय गरेर राष्ट्रपति भएकाले कार्यकाल सकिएपछि राजनीतिमा फर्किन पाउने दाबी गरेका छन् ।  संविधान र पार्टी विधानले नरोकेको विषयमा पार्टीले रोक्नु उचित नहुने उनीहरूको दाबी छ ।

विद्याको पक्षबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा फरक प्रतिवेदन पेस गर्ने तयारी गरेको एक नेताले बताए । एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरे पनि भण्डारी थापागाउँमा सम्पर्क कार्यालय स्थापना गरेर राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छिन् । 

विद्याबारे ओलीका दुई बोली

६ असोज ०८० मा एक टेलिभिजन अन्तर्वार्तामा : राष्ट्रपति भइसकेपछि पनि राजनीतिमा आउन पाइन्छ

सामाजिक क्रियाकलापमा सक्रिय हुनुस् या पोलिटिकल कार्यमा सक्रिय हुनुस् । हुनुहुँदैन भन्ने बेकारको कुरा हो । पोल्टिक्समा आउनुहुँदैन भन्ने पनि बेकारको कुरा हो । पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष बनाउँछन् भने पनि पाइन्छ । अर्को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । अर्को पार्टी कसको, के गर्छ, कस्तो राजनीति गर्छ, त्यो पनि पाउँछ । समाजसेवा गरेर बस्छु, त्यो पनि पाउँछ । त्यो त उसको व्यक्तिगत कुरा भयो । उसको च्वाइसको कुरा भयो । उहाँ एमाले पार्टी अध्यक्ष पनि बन्न सक्नुहुन्छ, प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ । फर्किनुहुन्छ कि हुन्न, उहाँको कुरा हो । म अधिकारको कुरा गर्दै छु । राष्ट्रपति भएका वेला पार्टीगत हिसाबले यो पार्टीको पक्ष र त्यो पार्टीको पक्ष हुनुहुँदैन, निष्पक्ष हुनुपर्छ भन्ने मात्र हो । राष्ट्रपति नभएका वेला, राष्ट्रपति हुनुभन्दा पहिला पनि राजनीतिमा हुन सक्छ । राष्ट्रपति भइसकेपछि पनि राजनीतिमा आउन सक्छ । विभिन्न देशमा कार्यकारी प्रमुख पनि भएका छन्, राष्ट्रपति पनि भएका छन् ।

गत ७ भदौ ०८२ मा पार्टी केन्द्रीय कार्यालयमा : छाडेको सदस्यता नवीकरण हुँदैन
उहाँ (विद्या)लाई दुईपटक पार्टीले राष्ट्रपति बनायो, फर्केर आएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा कल्पना गरिएको थिएन । उहाँ आएर पार्टीमा सहयोग गरेर एकतामा बल पुर्‍याउनुपर्ने हो । तर, पार्टीभित्र सधैँ असन्तुष्ट भएका, पार्टीका पक्षमा कहिल्यै नबोल्ने र पार्टी–जनसंगठनमा चुनाव–सुनाव हारेका असन्तुष्ट मान्छेहरू भेला गर्दै हिँड्नुभएको छ । राष्ट्रपति हुने वेला उहाँले सदस्यता परित्याग गर्नुभएको हो । सदस्यता छोडेर नै राष्ट्रपति हुन जानुभएको हो । फर्किएर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर उहाँले रसिद लिनुभयो । राष्ट्रपति भएको मान्छे होला भनेर कर्मचारीले त काटिदिन्छ । तपाईंहरू सबैलाई थाहा छ– छाडेको सदस्यता नवीकरण हुँदैन । भइरहेको सदस्यता मात्र नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?

See More On

सुझावित समाचार