दीपक मनाङेको प्रदेश सभा सदस्य खारेज, खुल्यो उपनिर्वाचनको बाटो

मनाङमा पनि रुपन्देहीसँगै उपचुनाव गर्ने योजना

मंगलबार, १० भदौ, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पदमा बस्न अयोग्य ठहर भएका छन् । सर्वोच्च अदालतको अन्तिम फैसलामा उनी अयोग्य ठहर भएसँगै उनी पदमुक्त भएका छन् । यससँगै मनाङ (ख)मा उपनिर्वाचनको बाटो खुलेको छ । यसअघि निर्वाचन आयोगले फैसलाको पूर्णपाठ नआएको भन्दै उपनिर्वाचन घोषणा गरेको थिएन ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले दुई महिनाअघि गरेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको छ । जसमा मनोनयन दर्ताका समयमा उनी अयोग्य नरहे पनि सर्वोच्चबाट अन्तिम फैसला भएपछि भने उनको पद रिक्त हुने उल्लेख छ ।

चक्रे मिलनको ज्यान लिने प्रयास गरेको आरोपमा मनाङे दोषी ठहर भई २० कात्तिक ०८१ मा सर्वोच्चले पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि उनी २७ कात्तिकदेखि डिल्लीबजार कारागारमा छन् । इजलासले सोही मितिबाट प्रदेश सभा सदस्यका लागि अयोग्य हुने ठहर गरेको हो ।

उनको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि संवैधानिक इजलसले फैसला गरे पनि पूर्णपाठ तयार भएको थिएन । आयोगले उपनिर्वाचन गर्ने–नगर्नेबारे पूर्णपाठ कुरेर बसेको थियो । अन्य क्षेत्रमा उपनिर्वाचन घोषणा भए पनि मनाङ (ख) मा निर्वाचन घोषणा भएको थिएन । 

अधिवक्ता वीरेन्द्रराज कार्कीले दायर गरेको रिटमा मनाङे उम्मेदवार हुनै अयोग्य भएको भन्दै पदबाट हटाउन माग गरेका थिए । तर, अदालतले उम्मेदवार दर्ताको वेला उनी अयोग्य नभएको ठहर गर्दै अन्तिम फैसला भएको मितिबाट मात्रै अयोग्य हुने भनेको छ । पूरा कैद काटेको मितिबाट ६ वर्षसम्म कुनै पनि निर्वाचनमा अयोग्य हुने ठहर संवैधानिक इजलासले गरेको छ । 

फैसलामा भनिएको छ, ‘ज्यान मार्ने उद्योग मुद्दामा पाएको पाँच वर्ष कैद सजाय भुक्तान गरिसकेपश्चात् थप ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य नै रहने देखियो ।’ सर्वोच्चले उच्चकै फैसला सदर हुने निर्णय गरेको थियो । 

फैसलापूर्व नै उनी उम्मेदवारका लागि अयोग्य रहेको जिकिर भने सर्वोच्चले खारेज गरेको छ । न्यायिक वा अर्धन्यायिक निकायबाट कुनै कैद जरिवाना तिर्न बुझाउन बाँकी नरहेको अवस्थामा र ज्यान मार्ने उद्योगको पुनरावेदन सर्वाेच्चमा विचाराधीन भएका कारण मनोनयन दर्ता र मतपरिणाम घोषणाको बखत उनको योग्यता नपुगेको भन्न नमिल्ने फैसलामा छ । यसैकारण, मनाङ क्षेत्र नम्बर २ का निर्वाचन प्रारम्भदेखि बदर हुनुपर्ने माग इजलासले अस्वीकार गरेको जनाएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐनको दफा १३(६) अनुसार सदस्य पदका लागि अयोग्य रहेको ठहर सर्वाेच्चको छ । उक्त दफामा कुनै कसुरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको व्यक्ति सदस्य पदका लागि अयोग्य हुने प्रावधान छ ।

यसैबिच मुद्दामा सर्वोच्चले पुनरावलोकनको व्यवस्थालाई पुनरावेदकीय अधिकार मान्न नमिल्ने व्याख्या गरेको छ । पुनरावलोकनको निवेदनलाई विचाराधीन मान्न नमिल्ने ठहर संवैधानिक इजलासको छ । मनाङेले गत ४ माघमा पुनरावलोकन निवेदन दिएका थिए । तर, निस्सा दिने वा नदिने निर्णय नहुँदै वैशाखमा उनले निवेदन फिर्ता लिएका थिए । उनले पुनरावलोकनको निवेदन दिएकाले सर्वोच्चबाट भएको फैसलालाई अन्तिम मान्न नमिल्ने जिकिर गरेका थिए ।

मनाङमा पनि रुपन्देहीसँगै उपचुनाव गर्ने योजना
सर्वोच्च अदालतले दीपक मनाङेको प्रदेश सभा सदस्य खारेजको फैसला गरेपछि निर्वाचन आयोगले मनाङ (ख)मा पनि रुपन्देही– ३ सँगै उपनिर्वाचन गर्ने योजना बनाएको छ । रुपन्देही– ३ मा प्रतिनिधिसभा सदस्यका लागि १७ कात्तिकमा उपनिर्वाचनको प्रक्रिया सुरु भइसकेको छ ।

अब प्रदेश सभा सदस्य रिक्त रहेको मनाङ (ख)मा पनि १७ कात्तिकमै निर्वाचन गराउने प्रयास हुने निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् । समयका हिसाबले पनि रुपन्देही र मनाङमा सँगै निर्वाचन गर्न सम्भव भएको उनको भनाइ छ । ‘सर्वाेच्चको पूर्णपाठ प्राप्त भएपछि आयोगले बैठक बसेर छलफल गर्छ र निर्णयमा पुग्छ । कात्तिक १७ मै गराउने हाम्रो प्रयास हो । सबै परिवेश हेरेर तयारी थाल्छौँ । रुपन्देही र मनाङमा सँगै चुनाव गर्न समयको हिसाबले सम्भव नै छ,’ उनले भनिन् । 

सुझावित समाचार