एमाले जिल्ला सदस्य तथा आठराई त्रिवेणी गाउँपालिका– २ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि सांघातिक आक्रमण भएको छ । एमालेका अनुसार जिल्ला कमिटीको बैठक सकेर घर फर्कन लाग्दा शनिबार तोक्मेडाँडा क्षेत्रमा सेन्दाङ र एमाले जिल्ला सदस्य मनकुमार तेङबुङमाथि पाँचदेखि सातजनाको समूहले सांघातिक आक्रमण गरेको थियो ।
आक्रमण गर्नेको पहिचान खुलेको छैन । कुटपिटबाट गम्भीर घाइते भएका सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा प्रारम्भिक उपचार भएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि झापास्थित बी एन्ड सी अस्पताल रिफर गरिएको छ ।
वडाध्यक्ष सेन्दाङमाथि भएको सांघातिक आक्रमणप्रति एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् ।